प्रधानमन्त्रीज्यू जनताको आँशुबाट बिजुली निकाल्नुहोस्

Domain Registration Nepal प्रकाशित समय 1:35:00 AM
दिल निसानि मगर 

खासमा कुनै बियोगान्त कथा र संमरणहरूले दिल पगालेर आँशु बग्नुपर्ने थियो तर यतिखेर अखबारका हेड लाइनहरूमा आँशु बगेको अनुभूति हुन्छ। मानौ रसुवाको सुदूर गाँउमा चुहिने त्रिपाल मुनिबाट पानी चुहिएको होइन, त्यो त आँशु चुहिएको हो। महाशयहरूको काठमाडौंमा तापक्रम शून्य डिग्रीमा झरेको छ। भूइचाँलोले चिरा पारेका फाँटहरूमा अस्थायी सेल्टर लिई जीवन जोगाई राखेका कलिला नानिबाबुहरूको तापक्रम नाप्ने तपाईँहरूको बिवेक पनि सम्भवतः शून्यमा झरेको छ। यतिखेर आकाश(आँशु जस्तो भएको छ, अनि आँखा(आकाश जस्तो।
न्यानो लुगाको अभावमा पराल खापेर सूतिरहेका मनिसहरूको चित्रण देखेर महाशयहरूको मन कत्ति पनि बिचालित भएको छैन। पीडितहरू खानेकुराको अभावमा दिनको एकछाक मात्र खाएर प्राण धानिरहेका छन् तर महाशयहरु ईश्वरको नाममा सपथ खाएर आफ्नो सात पुस्ता धान्ने सपनमा अडिग हुनुहुन्छ। चिसोका कारण कम्तिमा ७ जना बालबालिकाको निधन भइसकेको छ, कैयौ बिरामी छन्। गोदामका राहत सामाग्रीहरू कुहिएको कुरा सुनिन्छ। त्यसैले प्रधानमन्त्रीज्यूले लाखौं रूपैया खर्च गरेर अखबार पढ्नुहुन्छ भन्ने कुरा विश्वास लाग्दैन।
यदि पढ्नु हुँदो हो त गम्भीर बन्नु हुँदो हो। र बारपाक जानुअघि लाजकाज हेलिकप्टरमा दुई थान जस्तापाता र एक बोरा लत्ताकपडा पठाउनुहुन्थेन। सरकारको संयन्त्रले नै प्रभावकारी ढङ्गले काम गरिराखकेको छैन भने झण्डावाला गाडीको साइरन बज्दैमा जनताको पसिना पुछिने होइन, आँशु सुकिजाने होइन। बारपाकमा बितरण गरेको दुई थान जस्तापाताले प्रधानमन्त्री र कर्मचारितन्त्रको नाक जोगाएको छैन। आफ्नो मौलिक हक अनुसार विपतको बेलामा जनताले राज्यको राहत पाउदैनन् भने अर्थमन्त्रालय जनप्रतिनिधिको हातमा छैन।
प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीज्यूले सिंहदरबार प्रवेश गरेसँगै जन(चाहना पनि ह्वात्तै बढेको थियो। मन्त्रिमण्डल सानो तर चुस्त हुनेछ भन्ने अड्कलबाजी थियो। तत्काल भौतिक निर्माणका ठूला काम र योजनाहरू भन्दा पनि भुईँचालो प्रभावित जनताहरूलाई कुनै कसर बाँकि नराखि राहत उपलब्ध हुनेछ भन्ने कुरामा लोकबासी ढुक्क थिए। तर बिडम्बना प्रधानमन्त्रीज्यूले बाटो बिराउनूभयो। जन आकाङ्क्षाभन्दा ठीक उल्टो ईतिहास मै सबैभन्दा जम्बो मन्त्रिमण्डल बनेको छ। पीडितहरूको हालत भूकम्प जाँदाको दिनमा जस्तो थियो आजपनि त्यस्तै छ।
यो बिचमा प्रधानमन्त्रीज्यूले म हावाबाट भएपनि बिजुलि निकालेरै छाड्छु भनेर महत्वकाङ्क्षी विचार ब्यक्त गर्नु भएको थियो। पीडा, असहजता, र अभाबले थिलोथिलो भएर मुजामुजा परेका मलिन अनुहारमा तरङ्ग पैदा गरिदिनु भएकोमा प्रधानमन्त्रीज्युलाई धेरै(धेरै धन्यबाद। तर प्रधानमन्त्रीज्यू हावाबाट भन्दा पनि नेपाली जनताको आँशुबाट बिजुली निकाल्दा बस्तुवादी होला, समयअनुकूल होला अनि परिस्थितिको गम्भीर्यतासँग पनि मेल खाला जस्तो लाग्छ। हावा खोज्न मुस्ताङको डाँडो तिर जानु पर्‍यो, आँशु त सिंहदरबारको गेट बाहिरै पाइन्छन्।
त्यसैले बिनम्र अनुरोध(प्रधानमन्त्रीज्यू, कृपया सबैभन्दा पहिले आँशुबाट बिजुली निकाल्नुहोस्। त्यसपछि हावाको बारेमा सोच्नूहोला। सपना त्यो हो जस्ले तपाईलाई निदाउन दिँदैन। अहिले दुःखी जनताको आँशु संगालेर त्रिपालमुनि आहातको ज्योति बालिदिने बेला आएको छ। निस्कन त बिजुलि हावाबाट मात्र होइन आलु, गोबर र पानिबाट पनि निस्किन्छ तर हामीले आँशुबाट निकालि हेरौ, जनतासँग भएको श्रोत र साधनहरूको ब्यापक परिचालन गरि हेरौं। यो पीडाको क्षणमा नेपाली जनताको आँखाबाट बगिरहेको आँश्रुधारा प्रधानमन्त्रीज्यूको श्रोत(साधन बन्नुपर्छ, अनि मात्र प्रधानमन्त्रीको हावाबाट बिजुली निकाल्ने महान सपना पुरा हुनेछ।
जनताले प्रधानमन्त्रीको राहात प्याकेज आउला कि भनेर टुलुटुलु हेरिबसेका छन्। सुनौलो आशामा उनीहरूले रातभर आगो तापेर मुटु चिसो हुन दिएका छैनन्। आफूलाई जिवित राख्न अनेकौ जुक्ति निकालेका छन्। तपाईँलाई जस्तै ज्यानको माया सबैलाई लाग्छ प्रधानमन्त्रीज्यू। कसैको ज्यान राष्ट्रको लागि महत्वपूर्ण होला, कसैको ज्यान उसको  घर परिवारको लागि महत्वपूर्ण होला। जनताले ज्यान जोगाउनको निम्ति करोडौं रूपैयाँ मागेका पनि छैनन्। बश् एकथान कम्बल मागेका हुन्। यतिखेर पीडितलाई ज्याकेट र जाउलोको खाँचो छ प्रधानमन्त्रीज्यू।
कसैलाई केको पिर घर ज्वाँईलाई खान कै पिर भने जस्तो जनताको सुन्दर सपना अड्किएको त्यो सिंहदरबार भने मन्त्रीपदको भर्ति केद्र जस्तो भयो। एकसिटे पार्टिका एक्लेबरहरूले प्रधानमन्त्रीलाई गल्ला बनाएका छन्। बिना कुनै प्रायोजन दर्जनौं पटक बिस्तार गरिएको यो सरकारको मन्त्रिमण्डलमा लाहुरे प्रबृति मौलायो। अघिल्लो जुनिमा नेपाली जनताले महाशयहरूको ऋण खाए जस्तो पो भएको छ। जनताहरू झनै हेलित र दमित हुनु परेको छ। सत्ता र भत्ताभन्दा बाहिर रहेका करोडौं जनताहरूको पीडा करोडौ छन्।
कुनै पनि नेतृत्व वा शाशकको लागि समर्थन अनि बिरोध उस्को कामको आधारमा हुन्छ। यो विरोध तपाईँको काम कै आधारमा भएको हो प्रधानमन्त्रीज्यू। संसार मै कहलिएको हाम्रो जस्तो गरिब देशले जम्बो मन्त्रिमण्डललाई भिआईपी सेवा सुविधामा तलब भत्ता खुवाउने हैसियत राख्दैन। अझ अहिलेको अवस्था त अझै संबेदनशिल छ। आर्थिक रूपले पचास वर्ष पछाडि धकेलिएका छौं। थोरै बजेटमा धेरै काम गर्नु पर्ने, राष्ट्रसेवक कर्मचारीहरूले त्याग गर्नुपर्ने, नागरिकहरू आफ्नो कर्तब्यबाट बिमुख नहुने समय हो यो।
तर त्यसो हुन सकेन। कालोबजारी भयो, कमिशनको खेल भयो, मन्त्रिमण्डलको बिस्तार भयो, पूर्वभिआईपिहरूलाई आजिवन सेवा सुविधाको दिने निर्णय भयो, नक्कली भुकम्प पीडितको चीन भ्रमण  भयो, मधेशका नेताहरूसँग जुहारी भयो। नैतिकता र कर्तब्यबोधको कमिका कारण यी सब भएका हुन्। र यस्को जिम्वेवार नैतिक रूपमा प्रधानमन्त्रीले लिनुपर्छ। यदि देश र जनताको संबेदलशिलतालाई कर्तब्यबोध गर्न नसकेर पाँडे गफ मात्र लगाउने हो भने पदबाट तत्काल राजीनामा दिनसक्नुपर्छ। जनतालाई राहतभन्दा आहात दिने प्रधानमन्त्रीको मिठा र चिप्ला कुराले जाडो भाग्दैन, पेट अघाउँदैन।
प्रधानमन्त्रीले आफ्नो सत्ता टिकाउनकै लागि जस्लाई पनि काम न काजको मन्त्री बनाईदिने परम्पराले सरकारकै गरिमामाथि प्रश्न चिन्ह खडा हुन सक्छ। आलोचनाका बाबजुद ६ जना उप(प्रधानमन्त्री त भएकै थिए। अहिले मन्त्री मात्रै ६० जना पुग्ने स्थिति बन्दैछ, यस्तो होला भन्ने कल्पना मानिसहरूलाई थिएन। प्रधानमन्त्रीका केहि अडानहरूले राष्ट्रिय महत्व राखेका कारण राष्ट्रवादी ट्यागमा यो सरकारको फूलबुट्टा भरिएको हो तर आफूले केहि गर्न नसक्ने, खाली अरूको आलोचना मात्र गरिरहने राष्ट्रवाद त केबल मण्डलेबाद हो।
महिनौंदेखि मधेश अशान्त छ। जित र हारको मुकाबिलामा सरकार र आन्दोलन छन्। जनताको पीडा र अभावबारे यी दुई शक्तिलाई कुनै गम्भीर बोध छैन। भएको भए शक्ति केन्द्रको रिमोड कन्ट्रोल थिचिदाँ यिनिहरूको च्यानल परिवर्तन हुनुपर्ने थियो, दृश्य चित्रमा बदलाब आउन पर्ने थियो। तर चित्र उही छ, दृश्य पनि उही छ। प्रधानमन्त्रीज्यू शंबेदनशिल बिषयमा पनि पूर्वाग्रही र गैरजिम्वेवार ढंगबाट भएर प्रस्तूत भएर फ्याट्ट बोलिदिनुहुन्छ, मधेसी उफ्रिन्छन्। ओलिज्यू एमालेको अधक्ष धेरै र प्रधानमन्त्री कम हुँदा यस्तो कन्फ्यूजन भएको हो।
सरकारले चीनसँग के गर्न खोजेको हो थाहा नै छैन। दक्षिणले दुःख दिएको बेला उत्तरले सुख दिन्छ भनेर कानमा चमेलीको तेल हालेर सुतिरहनेहरू यतिखेर चिनियाँ चाहना उजागर गर्न सकेका छैनन्। प्रधानमन्त्रीज्यूले उत्तरी सीमा तत्काल खोल्न पहल भइसकेको भनेर भाषणबाजी गरेको महिनौं भैसक्यो तर अस्ति चिनियाँ अधिकारीले काम धेरै र कुरा कम गर्न प्रधानमन्त्रीज्यूलाई सुझाएछन्। चीनले पनि कमरेड र दामरेडहरूको नाडि छामेका कारण नेपालको संकटलाई हत्तपत्त आफ्नो काँधमा बोकेर डौडिने मनाशायमा देखिन्न।
युगौदेखि अन्धकारमा बसेका जनताहरू यतिखेर हावाबाट निस्कने बिजुलीको कुनै ब्यग्र प्रतिक्षामा छैनन्। छन् त केबल एक सिलिण्डर ग्याँसको। आवतजावत गर्नको लागि एक बोतल पेट्रोलको प्रतिक्षामा छन्। बिरामी शैय्यामा सुतिरहेकाहरूलाई एक ट्याबलेट औषधिको प्रतिक्षामा छन्। एकजोर न्यानो लुगा र एकमुठि तातो खान्किको प्रतिक्षामा छन्। छानो टाल्ने जस्ता पाता र मानो फलाउने जमिनको प्रतिक्षामा छन्। भत्केका बनेका भौतिक सम्पदाहरू पुनःनिर्माणको प्रतिक्षामा छन्। र प्रतिक्षामा छन् ,आँशुबाट निस्कने बिजुलीको सभार सेतोपाटी

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »