राजेन्द्र महतो अस्पतालबाट डिस्चार्ज, जोगबनी नाकामा पुनः धर्ना बस्ने

Domain Registration Nepal प्रकाशित समय 11:16:00 PM
राजविराज, २२ पुस । प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा लामो उपचार पश्चात बुधवार डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । अध्यक्ष महतोको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार थप उपचारका लागि काठमाण्डौबाट दिल्ली लगिएको थियो । चिकित्सकहरुको विशेष निगरानीमा विगत ६ दिनदेखि उनको उपचार हुँदैआएको थियो । ब्लड प्रेशर र ब्लड सुगरको लेभलमा सुधार आइरहेको मधेशी पत्रकार संघका केन्द्रीय अध्यक्ष पंकज दासले जानकारी दिएका छन् । उनका अनुसार सीटी स्क्यान र एमआरआइसहितका परीक्षण गर्दा सामान्य देखिएको छ ।
विटामिन बी–१२ को कमीको कारण कमजोरी अझै रहेको र चिकित्सकले केही दिन बिश्राम गर्न सुझाव दिएका छन् । एक हप्ता पश्चात अस्पतालले पुनः स्वास्थ्य अवस्थाको जाँच गर्न बोलाएकोले एक हप्तासम्म दिल्लीमै एक होटेलमा विश्राम गर्ने जनाईएको छ । उनको साथमा सांसद समेत रहेकी पत्नी शैलदेवी महतोसहितका पार्टीका नेताहरु समेत रहेका छन् ।
मेदान्त अस्पतालबाट डिस्चार्ज भएका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महतो दिल्लीबाट फर्किए लगत्तै पुनः मोरङ्गको जोगबनी नाकामा धर्ना बस्ने ईच्छा व्यक्त गरेका छन् । आफ्नो शरिरमा साँस रहुञ्जेल मधेश र मधेशी जनताकालागि संघर्ष गरिरहने प्रतिवद्धता व्यक्त गर्दै स्वास्थ्य अवस्था ठिक भएपछि पुनः जनताकै माझ रहेर आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
गत पुस ११ गते मोरङ्गको जोगबनी नाकामा धर्ना दिने क्रममा उनीमाथि प्रहरीले निर्ममतापूर्वक कुटपीट गरेका थिए । लाठी र बुटले निर्ममतापूर्वक कुटपीट गरेपछि गम्भीर घाइते भएका उनलाई विराटनगरको गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो । केही दिनपछि थप उपचारकालागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । धरानबाट अध्यक्ष महतोलाई काठमाण्डौ ल्याई उपचारकालागि भारतको दिल्ली लगिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »