राष्ट्रिय मिडिया मधेशप्रति पूर्वाग्रही नै छन् : चन्द्रदेव कामती (संयोजक, तराई–मधेशका सञ्चारमाध्यम अनुगमन विशेष टोली तथा सदस्य, प्रेस काउन्सिल )

Domain Registration Nepal प्रकाशित समय 11:35:00 PM
0 मधेशका सञ्चारमाध्यमको अवस्था र समाचार सम्प्रेशनको विषयमा तपाईंहरूले गरेको अध्ययनबाट के निष्कर्ष निकाल्नुभयो त ?
— नेपालको संविधान जारी गर्नुभन्दा अगाडि र त्यस पश्चात् तराई–मधेशमा विशेष किसिमको अवस्था श्रृजना भएको छ । काठमाडौंका मिडिया र मधेशका मिडियाहरू विभाजित भएका छन् । मिडियाहरू यसरी विभाजित हुँदा केही प्रश्न उब्जिएका
छन् । त्यसैले, यी विषयको यथार्थ बुझ्न मधेश क्षेत्रका सञ्चारमाध्यमहरूलाई लक्षित गरी प्रेस काउन्सिलले विशेष टोली गठन गरेको थियो । तर, हामीले टोलीले गर्ने अध्ययनको भने सीमा बढाएका थियौं । फलस्वरूप हामीले काठमाडौंका सञ्चारमाध्यममा पनि अनुगमन गरेका थियौं । हामीले अनुगमनबाट के पायौं भने, मधेशका सञ्चारकर्मी र सञ्चारमाध्यमहरू धेरै नै संकटमा छन् । हामीले पर्सादेखि लिएर सप्तरीसम्म प्रत्येक जिल्लामा पुग्यौं । काठमाडौंभन्दा पनि मधेशका सञ्चारकर्मीहरू दोहोरो चेपुवामा परेको हामीले पायौं । एकातर्फ उनीहरू आन्दोलनकारीको चेपुवामा छन् भने, अर्कोतर्फ प्रशासनको चेपुवामा परेका छन् । त्यहाँका सञ्चारमाध्यमले आन्दोलनकारीको भाषा बोलिदिनुपर्ने र आन्दोलनकारीहरूको अनुकुल समाचार सम्प्रेशन गर्न नसक्दा पत्रकारहरू विभिन्न किसिमबाट समस्यामा पर्दै आएका छन् । अर्कोतर्फ पत्रकारको सुरक्षा राज्य पक्षले गर्नुपर्ने हो । तर, प्रशासनले पनि आफ्नो अनुकुल समाचार सम्प्रेशित गराउन चाहेको देखियो । यी कारणले धेरै सञ्चारकर्मी सुरक्षाकर्मीबाट पिटिएको तथा आन्दोलनकारीबाट धम्कीसमेत पाएका छन् । यी कारणले त्यहाँका एफएमहरू बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्तै, त्यस क्षेत्रका अधिकांश पत्रपत्रिका बन्द नै भइसकेका छन् ।

० मधेशका पत्रकारहरू दोहोरो चेपुवामा परेका छन् । भनेपछि, यस्तो स्थितिको श्रृजना हुनुको कारण के हो त?
— संविधान त बन्यो । तर, मधेशी समुदायले अधिकार र पहिचानको अनुभूति नपाएरै यस्तो अवस्थाको श्रृजना भएको हो । संविधान ठूलो उपलब्धि हो । तर, हरेक वर्ग क्षेत्र समुदायलाई समान अधिकार दिइएन ।

० मधेशमा सञ्चारमाध्यमले मधेश आन्दोलनका एजेण्डा उठान गर्नु, आन्दोलन, प्रदर्शन, झडपबारे सूचना प्रकाशित तथा प्रशारित गर्नु के गलत हो ?
— सबै कुराको आचारसंहिता हुन्छ । सञ्चारमाध्यमको पनि एउटा परिधी हुन्छ । त्यो परिधीभित्र रहेर समाचार सम्प्रेशन गर्नु न्यायोचित नै हो ।

० परिधी नाघेको पाउनुभयो ?
— कतिपय ठाउँमा परिधी नाघेको पनि भेटियो । तर, यस्तो अवस्था आउनुमा स्थानीयभन्दा पनि राष्ट्रिय सञ्चारमाध्यम दोषी छन् । मधेश आन्दोलनका विभिन्न पक्ष र गतिविधि राष्ट्रिय मिडियाहरूले यथार्थपरक किसिमले उठाइदिएको भए यस्तो स्थिति आउने थिएन । तर, राष्ट्रिय मिडियाहरूले यथार्थ कुराहरू उठान नगरिदिएकाले र स्थानीय मिडियाहरूले आन्दोलनकारीकै भाषा बोलेका कारण पनि समस्या देखिएको हो ।

० अनुगमनलगायतका विषय मधेशका सञ्चारमाध्यमका लागि मात्रै हो कि राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि हुनुपर्ने हो ?
— प्रेस काउन्सिलले मधेशका सञ्चारमाध्यमलाई नियमन गर्नका लागि मात्रै टोली गठन गरेको थियो । कुनै कारबाही वा त्यस्तो किसिमको दुःख दिनका लागि गठन गरिएको होइन । हामीले त ती सञ्चारमाध्यमलाई त संरक्षण र पुरस्कृत पनि गर्छौं । र, ट्रयाकभन्दा बाहिर रहेकालाई ट्रयाकमा पनि ल्याउँछौं । हामीले भर्खरै प्रतिवेदन सार्वजनिक गरेका हौं । प्रतिवेदनमा हामीले प्रष्ट रूपमा भनेका छौं । मधेशका मात्र होइन राष्ट्रिय मिडियाले पनि परिधी नाघ्ने काम गरेका छन् ।

० राष्ट्रिय मिडियाको अनुगमन कहिले हुन्छ ?
— राष्ट्रिय मिडियाको पनि अनुगमन सुरू भइसकेको छ । केही मिडियालाई बोलाएर बयान लिने काम गरेका छौं । परिधी नाघेका कारण बयान लिएका हौं ।

० अनुगमनको सुरूवात त राष्ट्रिय मिडियाबाट गर्नुपर्ने हो नि ?
— जहाँ घटना बढी हुन्छ । जहाँ समस्या उत्पन्न हुन्छ । त्यहाँबाट सुरूवात हुने हो । अहिले मधेशमा समस्या उत्पन्न भएको छ । त्यसैले त्यहाँबाट सुरूवात भयो । काठमाडौंमा पनि अनुगमन सुरू भएको छ । प्रेस काउन्सिल सजग छ । प्रेस काउन्सिल मधेशप्रति पूर्वाग्रही छैन । मधेशका कुनै मिडियालाई नियन्त्रण गर्ने हिसाबले अनुगमन गरेको होइन ।

० तर, सन्देश त त्यस्तो गयो नि ?
— बुझाइ जे भए पनि अनुगमनको मर्म र भावना यो होइन । हामीले प्रतिवेदनमा यथार्थ कुरा प्रेस काउन्सिलमार्फत नेपाल सरकारलाई बुझाएका छौं ।

० राष्ट्रिय सञ्चारमाध्यम र मधेशका सञ्चारमाध्यममध्ये कुन चाहीं बढी परिधी नाघेर समाचार सम्प्रेशन गरेको देखियो त ?
— राष्ट्रिय मिडियाहरूले मधेशका समाचार जुन रूपले सम्प्रेशन गर्नुपर्ने थियो, त्यस्तो गरेको पाइएन । यसका साथै सत्य र तथ्य समाचार सम्प्रेशन गर्ने कुरामा पनि राष्ट्रिय मिडिया चुकेको देखिन्छ ।

० राष्ट्रिय मिडिया बढी दोषी हो ?
— तुलनात्मक रूपमा राष्ट्रिय मिडिया नै बढी दोषी छ । राष्ट्रिय मिडियाले समग्र देशलाई प्रतिनिधित्व गर्नुपर्ने हो । तर, त्यसो गर्न सकेका छैनन् । राष्ट्रिय मिडियाहरूले सुरूमा सन्तुलित व्यवहार देखाएनन् । जसका कारण मधेशका मिडियाले पनि उनीहरूकै सिको गरे । मधेशका मिडियाले पनि क्रियाको प्रतिक्रिया दिएका हुन् । मधेशका केही मिडियाबाहेक अरू सबै सन्तुलित छन् । काठमाडौंका सबै मिडियालाई एउटै बास्केटमा राख्न मिल्दैन । केही राम्रा पनि छन् । पछिल्लो समयमा राष्ट्रिय मिडियाले पनि सन्तुलित रूपमा समाचार सम्प्रेशन गर्न थालेको देखिएको छ । तर, राष्ट्रिय मिडियाका बोलाइ, भाषा, शैलीमा अझै बक्रदृष्टि देखिएको छ । मधेशप्रति अझै पूर्वाग्रही नै छन् । त्यसैले त हामीले राष्ट्रिय मिडियालाई पनि अनुगमन गर्न थालेका हौं ।

० तर, राष्ट्रिय मिडियाहरूले स्थानीयस्तरबाट त्यहाँका पत्रकारले समाचार नपठाएका कारण पनि मधेशका समाचार त्यतिको सम्प्रेशन गर्न नपाएको भन्छन् नि ?
— होइन । यस्तो होइन । स्थानीय पत्रकारहरूले सत्य समाचार पठाउने गरेका छन् । तर, काठमाडौंका मिडियाले आफ्नो अनुकुल समाचार प्रकाशन र प्रशारण गर्दै आएका छन् । यो कुरा हामीले प्रतिवेदनमा पनि उल्लेख गरेका छौं । मुख्य समस्या नै यही हो ।

० यो कारण पनि स्थानीय पत्रकारहरू चेपुवा परेका हुन् ?
— हो । स्थानीय पत्रकार विभिन्न किसिमका धम्कीको सामना गर्दै आएका छन् । केही पत्रकार त पिटिएका पनि छन् । कतिपय सञ्चारकर्मीलाई सञ्चारगृहबाट निकालिएको पनि छ । त्यसैले सम्पूर्ण सञ्चारमाध्यम समावेशी बनाइनुपर्छ । काठमाडौंका सञ्चारमाध्यमहरू समावेशी छैनन् । काठमाडौंका सञ्चारमाध्यमलाई राष्ट्रिय भनिए पनि अधिकांश एकपक्षीय छन् । एक त स्थानीयस्तरबाट आएका समाचार काट्ने काम गरियो भने अर्कोतर्फ अनुगमन पनि राम्ररी हुन सकेको छैन ।

० राष्ट्रिय मिडियाका लागि अनुगमन समिति गठन नहुने तर, मधेशका लागि अनुगमन समिति गठन हुनुलाई विभेदको निरन्तरता भन्न मिल्छ ?
— विभेदभन्दा पनि यो टोलीको अगुवाइ गर्ने म मधेशी मुलकै मानिस हुँ । त्यसैले मधेशका सञ्चारमाध्यम र पत्रकारका सम्पूर्ण पीडा र अवस्थालाई उजागर गर्ने काम गरेको छु । हाम्रो उद्देश्य सत्य तथ्य बुझ्ने नै थियो ।

० निष्कर्षमा भन्नुपर्दा, मधेशका सञ्चारमाध्यमबाट प्रकाशित र प्रशारित विषय ठिकै छ कि सुधार गर्नुपर्ने अवस्था छ ?
— खास गरी धेरैले सत्यतथ्य समाचार सम्प्रेशन गरे पनि केही एफएमहरूले परिधी नाघेकै हुन् । तर, यस्तो हुनुको मुख्य कारण भन्दाखेरी यसमा नेपाल सरकार पनि दोषी छ । नेपाल सरकारले ठोस मापदण्डबिना लाइसेन्स दिएको छ । योग्यता र क्षमताको पनि मूल्यांकन गरिएको छैन ।

० अनुगमन टोली मधेशका सञ्चारमाध्यम र पत्रकारको अवस्था बुझ्न गठन गरिएको थियो कि समाचार सम्प्रेशनको अवस्था बुझ्न गठन गरिएको थियो ?
— हामीले सञ्चारमाध्यममा प्रकाशित र प्रशारित विषयवस्तुका साथै पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे पनि अनुगमन गरेका थियौं । मधेशमा पत्रकारहरूले भोग्दै आएका समस्या र चुनौतीबारे पनि हामीले बुझ्यौं । यसका साथै पत्रकारहरूले आचारसंहिता पालना गरे÷नगरेको विषयमा पनि अध्ययन ग¥यौं ।

० अनुगमनपछि प्रेस काउन्सिलको योजना के छ रु दोषी सञ्चारमाध्यमलाई कारबाही गरिनेछ ?
— होइन । हामीले कारबाही गर्न अनुगमन गरेका होइनौं । मिडियाहरूलाई सल्लाह दिने काम गरेका हौं । कारबाहीभन्दा पनि सुधारको बाटोतिर लैजान्छौं । सबै मिडियालाई सन्तुलित हुन आग्रह गरेका छौं ।
। मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »