“रे मधेशिया क्या तु हार गया ?” (विचार)

Domain Registration Nepal प्रकाशित समय 11:13:00 PM
बीपी साह
रूपन्देही जिल्लामा नेपाली सुरक्षाकर्मीबाट मारिएका दश जनामध्ये दुई जना युवाको ‘गौना’ भएको थिएन । अर्थात केही वर्ष पहिले विवाह भएपनि बेहुलीलाई घरमा भित्रियाइएको थिएन । ती बेहुलीहरूको श्रीमानसँग र ससुरालीमा समय बिताउने सपना साकार भएन । उनीहरूको सपना मधेश आन्दोलनले समाप्त पा¥यो । ती दुई बेहुलीमध्ये एक जना चार कक्षा पढेर अध्ययन छाडेकी १३ वर्षिया छिन् भने अर्की एमए अध्ययन गरिरहेकी २५ वर्षीया छिन् ।
यी दुबै जना बेहुलीसँग घण्टौ कुराकानी गरें । उनीहरूको पीडा महसुस गर्ने प्रयास गरें । तर सकिएन । अन्तिममा उनीहरूको आक्रोश क्यामेरामा कैद गरेर फर्कें । उनीहरूको आक्रोश यस्तो थियो, ‘मधेशी नेता लोग हमार मर्द के हत्या करवैले हें । हमें हमार मर्द चाहीं । नेता लोग कुर्सी के लिए लड्त बाडें, यी लोग हमन के अधिकार नाही दिला पैंहे ।’ अर्थात ‘मधेशी नेताहरूले मेरो श्रीमान्को हत्या गरायो । मलाई मेरो श्रीमान् चाहियो । नेताहरू कुर्सीका लागि लड्दैछन् यिनीहरूले हाम्रो अधिकार दिलाउन सक्दैन ।’ शहीद दुर्गेश यादव र शहीद सुनिल यादवका श्रीमतिहरूको चर्चा ।

माथिका यी दुई जना विधवा–बेहुलीको कुराबाट के प्रष्ट हुन्छ भने मधेशी नेतृत्वप्रति आम मधेशीहरूले अहिलेसम्म विश्वास गर्न सकेका छैनन् । र, आन्दोलन उत्सर्कमा हुँदा पनि विश्वास गरेका थिएनन् । भावनामा बगेर अधिकत्तर मधेशी आन्दोलनमा होमिएका छन् र होमिदै छन् । मधेश आन्दोलनलाई कुनै पार्टीले आफ्नो नाउँमा रेजिष्टर गरेपनि वा कुनै नेताले आफूले आन्दोलनको नेतृत्व गरेको दाबी गरेपनि त्यो सत्य हुने छैन । अर्थात मधेश आन्दोलन तेस्रो कुनै पार्टी वा कुनै शक्ति केन्द्रबाट प्रायोजित आन्दोलन थिएन । बरू पछिल्लो समय आन्दोलनलाई मधेशी मोर्चाले शक्ति केन्द्रहरूमा गएर सुम्पिदियो । जसकारण आन्दोलन मत्थर हुँदै गयो ।

आन्दोलन सुरू हुँदा मधेशी नेतृत्वले गरेका पापहरू प्रायश्चित हुँदै गएको थियो । अर्थात पार्टी फोड्ने काण्डदेखि श्रीमती मोह वा सभासद पद खरिदविक्री गर्ने काण्डसम्म । अर्थात मधेशवादी दलका नेताहरूको पुनर्जन्म हुँदै थियो । बच्चा जन्मिन पनि नौं महिना लाग्छ । तर मोर्चाका नेताहरूले आन्दोलनलाई ६ महिनामै अवतरण गरायो । जसरी ६ महिनामा जन्मेको बच्चाको भर हुँदैन, त्यसरी नै मधेशी मोर्चाले ६ महिनामा अवतरण गराएको आन्दोलनको कुनै सफलता हात लाग्ने छैन ।

नेताहरूले हारमा पनि आफु जितेको दाबी गर्न विभिन्न कुतर्कहरू निकाल्छन् । यस तुहिएको मधेश आन्दोलन–३ का बारेमा पनि मधेशी नेताहरूले कुतर्क गर्लान् । तर वास्तविकता मधेश आन्दोलन तुहिएकै हो । र, त्यो पनि नेतृत्व विवाद र असक्षम नेतृत्वका कारण । मधेशका नेतृत्वकर्ताहरूको असक्षमताको बयान गर्ने पंक्तिकारको मनसाय होइन वा आलोचना गर्ने पनि होइन । किनभने जसको बुताले जति भ्यायो त्यती गरेकै हो, अर्थात उनीहरूले राजनीति नै गरेको हो तर मधेशी जनताहरू भावनात्मक मात्रै भएको हो ।

यस आन्दोलनबाट नयाँ पुस्ता नेतृत्वमा आउँलान् भन्ने अधिकतर मधेशीको चाहना थियो । तर नयाँ पुस्ता मधेश राजनीतिमा स्थापित भएन त्यो एउटा दुःखद पक्ष हो । यसको कारण हुन सक्छ मधेशमा देखिएको स्वतन्त्र मधेश पक्षधरको वर्चस्व कायम हुँदै जानु र अधिकत्तर युवा आकर्षित हुँदै जानु ।

समग्रमा भन्ने हो भने मधेश आन्दोलन–३ ले राजनीतिक रूपमा उठाइएका मागहरू पुरा गराउन सक्ने छैन । किनभने आन्दोलनको उद्देश्य पीडाबाट मुक्ति थियो, इनरूवा चाहे ठोरी मधेशमा पार्नु होइन अथवा एक दुई निर्वाचन क्षेत्र बढाउन घटाउन थिएन । मधेशीलाई मधेश नै चाहिएको छ । मधेशीले आन्दोलनबाट जल, जंगल, जमिन, ढुकुटी, हतियार, आत्मसम्मान र स्वराज खोजेको थियो । आन्दोलनकर्ता र सरकारबीच तमसुक बनेपनि यी अधिकारहरू मधेशीले पाउने छैन । अर्थात मधेश आन्दोलन निरन्तर चल्नेछ । अब मधेशीले छोरा वा छोरी जन्माउँदा घरको छानामा ‘बहिँया’(भारी बोक्ने चुचो परेको बाँसको डन्डा) फाल्ने होइन कि आन्दोलन गर्ने बाँसको फठा र विभेद पहिचान गर्न सक्ने ग्रन्थहरू छानामा फाल्नु पर्छ ।

मधेश आन्दोलन तेस्रो आन्दोलनको सुरूवात हो । अन्तिम होइन । त्यसकारण मधेशीले हारेको छैन । हार्ने छैन । नेतृत्व परिवर्तन हुँदै जानेछ । जित हुँदै जानेछ । हरेक घरमा मधेशी नेता जन्मिनेछन् । हरेकले नेतृत्व गर्नेछन् । हरेकले भाषण दिनेछन् । मेरो तर्क के छ भने मधेशीहरूले भन्नु पर्छ, ‘हर घर मे नेता जन्माना है । हर घर से शास्त्र और सशस्त्र उठाना है । आन्दोलन छे महिना नही जिन्दगी भर चलाना है । हम नही जित पाए तो क्या, अपने बच्चेको जिताना है । थके हुँए मधेशीको पुछना है, रे मधेशिया क्या तु हार गया ? फिर से चिंगारी जलाना है ।’

  biratnagar-madhesh-protest, bp_sah, बीपी_साह

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »