जारी मधेश आन्दोलनमा ५८ जना मारिएकोः सरकार

Domain Registration Nepal प्रकाशित समय 11:03:00 PM
काठमाडौं १९ माघ । जारी मधेश आन्दोलनमा ५८ जना मारिएको सरकारको भनाइ रहेको छ । जसमा ११ जना सुरक्षकर्मी र ४७ जना आन्दोलनकारी रहेका छन् । तर आन्दोलनकारी पक्षहरुको तथ्यांकमा ६५ जनाभन्दा अधिक व्यक्ति मारिएका छन् ।राष्ट्रिय समाचार समितिका अनुसार नयाँ संविधान जारी भइसकेपछि त्यसमा असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण नागरिक गरी अहिलेसम्म ५८ जनाको ज्यान गएको छ ।सूचना तथा सञ्चार मन्त्रालयले सोमाबार गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११ तथा आन्दोलनकारी र सर्वसाधारण नागरिक ४७ गरी ५८ जनाको ज्यान गएको जानकारी दिए । राससका अनुसार कैलालीको टीकापुरमा हात हतियार सहितका प्रदर्शनकारीबाट सुरक्षाकर्मीको निर्मम हत्या गर्ने गरी भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको समेत प्रवक्ता कोइरालाले जानकारी दिए ।मन्त्रालयका अनुसार आपूर्ति व्यवस्थामा भएको अवरोध हटाई त्यसलाई सहज तुल्याउन मुख्यमुख्य राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सहायक मार्गमा निर्वाधरूपले सञ्चालन हुने व्यवस्थापनका लागि सुरक्षा निकायबाट स्कटिङलगायतको आवश्यक सुरक्षा व्यवस्था गरिएको छ ।त्यसैगरी मन्त्रालयले अहिलेको सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुको कालोबजारी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुनसक्ने नियन्त्रणको लागि सम्बद्ध निकायसँगको समन्वयमा आवश्यक कार्य भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »