मधेशीलाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने ः सिंचाई मन्त्री यादब

Domain Registration Nepal प्रकाशित समय 12:14:00 AM
सप्तरी, वैशाख २० ।  नेपाली जनताको बलिदानी र लामो संघर्षबाट आएको संविधानमा रहेका त्रुटीहरुलाई सच्याएर कार्यान्वयन गर्नुपर्ने सिंचाई मन्त्री उमेशकुमार यादवले जोड दिएका छन् ।
मजदुर दिवसको अवसर पारेर अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको दोस्रो जिल्ला सम्मेलनलाई आइतवार राजविराजमा उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । एमाओवादीको दुई तिहाई बहुमत नरहेको अवस्थामा संविधान जारी नहुनुभन्दा जारी हुनु नै महत्वपूर्ण भएको प्रष्ट्याउँदै उनले भने ‘एमाओवादीको ईच्छा अनुसार संविधान आउन सकेनन् तर वर्तमान संविधान पनि उत्कृष्ट छ, सामान्य त्रुटीलाई संशोधन गरेर कार्यान्वयन गर्नु पर्दछ ।
वर्तमान संविधानमा मौलिक हक विश्वको अन्य कुनै देशको संविधानमा नभएको दावी गर्दै मन्त्री यादवले संविधान सभाबाट संविधान बनेको देख्न नचाहनेहरुले यसको विरोध गरिरहेको दावी गरे । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालकै कारण नेपाली जनताले परिवर्तनको अनुभूति गर्न पाएको बताउँदै उनले भने ‘वर्तमान अवस्थामा सम्पूर्ण परिवर्तनकामी शक्तिहरु एकजुट भएर शोषित उत्पीडित जनताको चाहना पुरा गर्न अगाडि बढ्नु आजको आवश्यकता हो ।’
मजदुरहरुकै बलमा देश टिकेको भन्दै देश निर्माण गर्ने युवा जनशक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी सहकारीताको माध्यमबाट आर्थिक क्रान्ति गर्नुपर्ने बताए । विभिन्न राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निभाएका मजदुरहरुको अवस्थामा अझैं सुधार आउन नसकेको भन्दै राज्यले उनीहरुको विषयमा समेत सोच्नुपर्नेमा उनले जोड दिए ।
तराई मधेशलाई समृद्ध बनाउनकालागि नवलपरासी र रुपन्देहीसहित मधेशका आठ जिल्लालाई केन्द्र बनाएर सिंचाई विशेष कार्यक्रम ल्याएको बताए । प्रत्येक निर्वाचन क्षेत्रमा दुई पोखरी अनिवार्य, पूर्ण सिंचित नमूना गाउँ घोषणा गर्नेलगायत कार्यक्रम शुरु भइसकेको मन्त्री यादवले जानकारी दिए ।
तराई मधेश वर्षे्पिच्छे बाढीबाट आक्रान्त हुने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए । सप्तरी, सिरहा, धनुषा, महोत्तरीका सदरारमुकाम बचाउ अभियान अन्तर्गत नदी नियन्त्रणका लागि तीन करोड रुपियाँ विनियोजन गरेको पनि उनले बताए ।
उनले सप्तरीका खड्ग तथा महुली नदी नियन्त्रणकालागि चार करोड पनि छुट्याइएको बताए । किसानको खेतसम्म पानी पु्याउनकालागि चताराबाट व्यारेज निर्माणको प्रक्रिया अगाडि बढाईएको जानकारी दिँदै उनले सप्तरीका लागि दुईसय ५५ स्यालो ट्युवेल र एक डिप बोर्डिगको व्यवस्था सप्तरी जिल्लाका लागि भएको र अर्को आर्थिक वर्षदेखि अझै थपिने बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व विधायक असर्फी सदा, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिनारायण महतो, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य रुबी कर्ण, संघकी जिल्ला अध्यक्ष कविता ठाकुरलगायतले मन्तव्य व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »