सम्वेदनशील ठाउँमा डिजिटल चेकपोष्ट राख्ने सरकारको तयारी, प्रविधिसँगै प्रवृत्ति पनि सुधार्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Domain Registration Nepal प्रकाशित समय 1:41:00 AM
२७ जेठ, नेपालगन्ज । सरकारले केहीदिन भित्रै महत्वपूर्ण र सम्वेदनशील ठाउँमा डिजिटल चेकपोष्ट राख्ने तयारी गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल चेकपोष्ट राख्ने तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन् ।बाँकेको कोहलपुरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले डिजिटल चेकपोष्ट राख्नका लागि बजेट समेत छुट्टयाइएको जानकारी दिए । इलाका प्रशासन कार्यालय कोहलपुरको भवन उदघाटन कार्यक्रममा उनले सुरक्षा निकायमा प्रविधिको प्रयोगसँगै प्रवृत्ति पनि सुधार्न आवश्यक रहेको औंल्याए ।उनले भने, ‘सुरक्षा निकायमा छरितो सेवा दिनका लागि प्रविधिको प्रयोग गरिने भएपनि प्रवृत्तिमा सुधार नहुँदासम्म प्रविधिले मात्र केही गर्न नसक्ने भएकोले प्रवृत्तिमा सुधार ल्याउन आवश्यक छ ।’
उनले शान्ति सुरक्षाको सवालमा कुनै पनि ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्दै भने, ‘सेवाग्राहीलाई छिटो छरितो सेवा दिन र कुनैपनि बाहानामा सेवा प्रवाह गर्नको लागि निर्देशन समेत दिन चाहान्छु ।’उनले मुलुक द्वन्द्वका कारण एक दशक र संक्रमणकालका कारण एक दशक गरी २ दशक पछाडि परेको उल्लेख गर्दै अब परिवर्तनलाई संस्थागत गर्ने र अर्थिक विकास, सुशासन, शान्ति सुव्यवस्था कायम गर्दै मुलुकको विकासमा लाग्न जरुरी भएको स्पष्ट पारे ।बाँकेको पूर्वी तथा उत्तरी भेगका खासकुश्मा, कचनापुरी, महादेवपुरी, नौबस्ता, चिसापानी, बनकटवा, शम्शेरगन्ज र कोहलपुर नगरपालिकाका करिव २ लाख सेवाग्राहीले जिल्ला प्रशाशन कार्यालय बाँकेबाट पाउने सबै सेवा अब ईलाका प्रशाशन कार्यालय कोहलपुरबाट पाउने छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री बस्नेतले बाँके कचनापुर(२ का विक्रान्त डाँगीलाई नागरिकताको प्रमाणपत्र वितरण गरेर कार्यालयको उदघाटन गरेका थिए ।कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद दिनेशचन्द्र यादव, क्षेत्र नम्बर १ का सांसद देवराज भार, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र शर्मालगायतले पनि आफ्ना धारणा राखेका थिए । अनलाइनखबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »