सिरहा, ५ भदौ । प्रत्येक वर्षको असारदेखि भदौ महिनासम्म खोलाजन्य सामग्रीको उत्खननमा सरकारले रोक लगाए पनि सिरहाको विभिन्न खोलामा अहिले पनि उत्खनन भइरहेको छ ।
माफियाहरुले ढुवानी भाडा बाहेक प्रति ट्रयाक्टर गिट्टी सात हजार तथा बालुवालाई तीन हजार पाँच सयमा विक्री गर्दै आइरहेका छन् जबकि सहज अवस्थामा गिट्टी तीन हजार र बालुवा एक हजार पाँच सयमा ढुवानीसहित उपभोक्ताले पाउथ्ये । खोलाजन्य सामग्रीको लुकिछुपी हुने उत्खनन तथा विक्री वितरणलाई बैधता प्रदान गर्न जिल्ला विकास समिति सिरहाको गत जेठ ३२ गतेको निर्णयले समेत सहयोग पु¥याइरहेको छ ।
जिल्ला विकास समितिले गत जेठ ३२ गते अयोध्यानगरस्थित सन्नी क्रसर उद्योग, चन्द्रउदयपुरस्थित शिवम क्रसर उद्योग, वस्तीपुरस्थित हिमाल क्रसर, बहडरामालस्थित जानकी क्रसर तथा बल्कवास्थित जय माँ सन्तोषी क्रसर उद्योगलाई उनीहरुले प्रस्ताव गरे अनुसारनै खोलाजन्य सामग्रीको मौज्दात प्रमाणित गरेको छ । निरीक्षणविनै ठाडो प्रस्ताव गरेको आधारमा खोलाजन्य सामग्रीको मौज्दात प्रमाणित गरिएका ती क्रसर उद्योगहरु खोलाहरुकै छेउमा छन् ।
जिविसले मौज्दात प्रमाणित गरी खोलाजन्य सामग्री ढुवानी गर्न स्वीकृति दिएको सन्नी क्रसर उद्योग गागन खोला, शिवम् क्रसर उद्योग घुर्मी खोला, हिमाल क्रसर खुट्टी खोला, जानकी क्रसर कमला नदी तथा जय माँ सन्तोषी क्रसर उद्योग मैनावती खोलानजिक सञ्चालनमा छन् । ती सबै क्रसर उद्योगले राति नजिकको खोलानदीबाट खोलाजन्य सामग्री उत्खनन गर्ने र दिनमा ट्रयाक्टर र ट्रिपरमार्फत विक्री गर्ने भएकोले जिविसबाट प्रमाणित गरेको मौज्दात उनीहरुको क्रसर उद्योगमा जस्ताको त्यस्तै रहन्छ ।
वर्षायामको असार, साउन र भदौमा खोलाजन्य सामग्रीको उत्खननमा रोक लगाइएपनि जिल्लामा त्यस्ता सामग्रीको अभाव हुन नदिन जिविसले असारअघि नै खोलाजन्य सामग्री सङ्कलन गरेर घाटगद्दी राख्न सक्ने प्रावधान छ तर वर्षायाममा खोलानदीबाट लुकिचोरी उत्खनन गर्नलाई नै जिविसले क्रसर उद्योगको मौज्दात परिक्षण गर्ने बाटो खोलेको कुरा जिविसभित्रको संयन्त्रबाट नै उठ्दै आएको छ ।
अझ अचम्मको कुरा त उत्खननमा रोक लागेको बेला क्रसर उद्योगको मौज्दात प्रमाणित प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले समिति अन्तर्गतको प्राविधिक अनुगमन उपसमितिको निरीक्षण र त्यसपछिको प्रतिवेदनको सिफारिसमा गर्नुपर्ने हुन्छ । तर गत जेठ ३१ गते राजस्व शाखाको सिफारिसमा जिविसले हचुवाको भरले मौज्दात प्रमाणित गरेको प्रक्रियाले राजस्व शाखादेखि जिविसका पदाधिकारीहरु समेतको मिलोमतोमा क्रसर उद्योगहरुले खोलाजन्य सामग्रीको कालोबजारी गरिरहेको आशङ्का सृजना भएको छ ।
जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका सिरहाका प्रजिअ विजयनारायण मानन्धरले यस सम्बन्धमा आफूले विस्तृत रुपमा बुझेर ठोस कदम चाल्ने बताए ।
