सप्तरीका पत्रकारहरुले पनि मनाए कालो दिवस

प्रकाशित समय 8:25:00 PM
राजविराज, ३ असोज । नेपालको संविधान जारी भएको दिनलाई सप्तरीका पत्रकारहरुले कालो दिवसका रुपमा मनाएका छन् ।
संघीय प्रेस फोरम सप्तरीद्वारा सोमवार विहान हात तथा टाउँकामा कालो पट्टी बाँधेर कालो ब्यानरसहित राजविराजमा प्रभातफेरीको आयोजना गरिएको हो । जारी भएको संविधान विभेदकारी रहेको भन्दै पत्रकारहरुले मधेशको मागलाई सम्बोधन गरेर संविधानमा संशोधन गर्न माग गरेका छन् ।
राजविराजस्थित शहिद दशन चौकबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झाले संविधानमा देखिएका असन्तुष्टिलाई अविलम्ब सम्बोधन गर्न राजनीतिक दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिए । मधेश असन्तुष्ट रहेको अवस्थामा संविधान कार्यान्वयन ठूलो चुनौती रहेको भन्दै उनले संविधान संशोधन गरेर मात्र स्थायी निकास हुने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्र साहले जबरजस्ती लादेर मधेशी जनताले संविधान स्वीकार गर्न नसकिने भएकोले संशोधनको आवश्यकता औंल्याए ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देवले मधेश आन्दोलित रहेको अवस्थामा संविधान दिवस मनाउनु हास्यास्पद रहेको बताए । प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाले वर्तमान संविधान विभेदकारी रहेको भन्दै अविलम्व सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए । संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र कुमार झा ‘‘जितु’ले गरे । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको व्यापक सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »