पत्रकारको अवतार

प्रकाशित समय 5:09:00 PM
‘पत्रकार अर्थात दोधारी तलवार, चौतर्फी वार, एक तिर तेह्र सिकार’, ‘पत्रकारलाई फकाउनुस्, जिल्ला चलाउनुस्’ ‘भन्ने प्रोफेसन चाहिने कमिसन’ ‘सबै शक्तिलाई पटक पटक, पत्रकार रिझाए एकैपटक’ ‘कलमधारी गुन्डा’ वा ‘चौथो राजा’ जस्ता अनेकौं आहान र उपमा पत्रकार र पत्रकारिताका बारेमा पछिल्ला वर्षहरूमा सिर्जिएका छन् । पत्रकार वा पत्रकारिताका बारेमा जे कुरा सुनिन्छ, ती लोक प्रतिक्रिया वास्तवमा पत्रकारिता सुहाउँदा हुँदैहोइनन् । समाजले पत्रकारका बारेमा त्यसै यस्ता आहान निर्माण गर्न पुगेको भने होइन । यसका पछाडि स्वयं पत्रकारहरूको सार्वजनिक प्रस्तुतिले पनि भूमिका खेलेको छ । जिल्ला विशेषहरूमा स्वयं पत्रकारले नै आफ्नै मञ्चबाट वा विभिन्न सञ्चार माध्यमबाट यस्ता प्रवृत्तिको उजागर गर्नेगरेको पाइन्छ । कतिपय अवस्थामा अन्य संस्थाको मञ्चबाट समेत पत्रकारको कमजोरी छताछुल्ल पारिन्छ । व्यावसायिक राष्ट्रसेवकहरूले पनि यदाकदा पत्रकारहरूको धन्दाबारे सार्वजनिकरूपमै पोल खोल्ने गरेका छन् । यस्ता कुराको पछाडिका मूल तत्व खोज्न किन पनि असल पत्रकारहरूलाई आवश्यक भएको छ भने यसमा आत्मावलोकन नगरीकन पत्रकारिताप्रतिको लोकविश्वास अक्षुण्ण राख्न सकिँदैन । आखिर पत्रकारिता पेसा नै त यस्तो पेसा हो जसले आफ्ना बारेमा आफैँं स्वतन्त्र ढंगले विश्लेषण, मन्थन वा आत्मसमीक्षा गर्न सक्छ । आफ्ना कमीकमजोरीका बारेमा आफैँ सन्दर्भ उठाउँदै, सच्याउँदै अगाडि बढ्दै जानु पनि त यस पेसाको सौन्दर्य हो ।
अहिले जिल्लातिरको पत्रकारिता हेर्दा खराब पत्रकारिताले असल पत्रकारितालाई ओझेलमा पार्दैगएको देखिन्छ । प्रत्येक जिल्लामा तुलनात्मकरूपमा प्रविधि, जनशक्ति र सञ्चार माध्यमको विकास भएको छ । केही राम्रो गरौँ भन्ने पत्रकार पनि छन् । जिल्लामा देखिएका प्रवृत्तिलाई केलाउनु जरुरी छ । अहिले असल पत्रकारिता र खराब पत्रकारिताबीचको द्वन्द्वमा असल पत्रकारिता चेपुवामा पर्ने हो कि भन्ने चिन्ता हुनथालेको छ । माफिया पत्रकारहरूको समानान्तर ‘ग्याङ्’ चल्न थालेको छ । मुख्यतः तीन प्रकारको अवस्था छ । असल पत्रकारिताले खराब पत्रकारितासँग समदूरी बनाएर जोगिएको छ, असल पत्रकारिता खराब पत्रकारितासँग पौँठेजोरी खेलेर अघिपछि बढ्ने गरेको छ । कतै भने असल पत्रकारिताले खराब पत्रकारिताप्रति आँखा चिम्लिएको छ । खराब पत्रकारिताका पक्षधर कति शक्तिशाली हुँदैगएका छन् भने तिनले विभिन्न मौकामा असल पत्रकारलाई ‘साँप सिँढीको खेल’ खेलाइदिनसक्छन् ।
अवतार थरीथरीका
जिल्लामा पत्रकारका अनेक अवतार देखिएका छन् । खोजी हेर्ने हो भने कुनै न कुनै रूपको अवतारको विराट दर्शन आफ्नो जिल्ला विशेषमा हुने गर्छ । त्यसका लागि सञ्जयकै जस्तो दिव्यदृष्टि पनि चाहिँदैन ।
एउटा त्यस्तो ‘टुप्पीलाल’हरूको जमात छ जसको मूल उद्देश्य पत्रकारिता गर्नु छैन, तिनले पत्रकारिता बुझेका पनि छैनन् । तर पत्रकारितालाई माध्यम बनाएर आफ्नो सामाजिक अनुहार बदल्न चाहन्छन, छोटो समयमा राजनीतिक सिँढी उक्लिन चाहन्छन् वा आफ्नो अनेकथरीको धन्दालाई पत्रकारिताको कार्पेटमुनि छोप्न चाहन्छन् । तिनले मिडियामा लगानी गरेर पत्रकारहरूको ‘टुप्पी’ बन्न खोजेका हुन्छन् ।
अर्को अवतार छ, ‘खुर्पीलाल’ । त्यो भनेको जिल्लामा देखिएका सामाजिक विसंगतिमा यस्तो जमात गोडमेल गर्न खप्पीस हुन्छ । तर समस्याको जरोदेखि नै उखेल्न कोदालो चलाउन चाहँदैन । त्यस्तो कार्य उनीहरूले जानीजानी नगरेका हुन् । उनीहरूसँग मिडियाको माध्यम प्रयोग गर्ने सीप पनि हुन्छ, अलिअलि गोडमेल गरेर जनताको नजरमा खोजी पत्रकार पनि कहलिन्छन् । सँगसँगै ‘ब्ल्याकमेल’ पनि गरिरहेका हुन्छन् । जिल्लामा रहेको संस्थागत भ्रष्टाचारमा यस्ताहरू अघोषित साझेदार हुन्छन् । कस्तोसम्म देखिएको छ भने खासखास क्षेत्रमा खासखास खुर्पीलालले कब्जै जमाएका छन् । पछिल्ला समयमा खुर्पीलालहरू माझ पनि ‘सिन्डिकेट’ निर्माण भएको छ । असल पत्रकारहरूको प्रभावलाई निस्तेज पार्न सिन्डिकेटको अवधारणा ल्याइएको हो । इमानदार पत्रकारले कुनै एउटा ठाउँको त्रुटि उठाउन खोज्यो भने खुर्पीलाल सिन्डिकेटकाहरू स्याल कराएजस्तै कराउँछन् ।
अर्को छ, ‘छुर्पीलाल’ यस्तो वर्गीकरणमा तिनीहरु पर्छन् जो छुर्पीजस्तै बाहिरबाट कडा देखिन्छन् । हत्तपत्त कोही अवाञ्छित पक्षले यिनलाई छुने आँट गर्दैनन् । तर जसले एकपटक चलाउन सक्यो उनले मज्जाले यिनको लाभ लिइहाल्छ । यस्तैका बारेमा भनिन्छ, ‘तिनी राजहंश हुन, जो दूध पिएर पानी छाडिदिन्छन् ।’ खोज्यो भने यस्ता छुर्पीलाल पाउन गाह्रो छैन ।
चौथा हुन, ‘फुर्तीलाल’ यिनीसँग न योग्यता छ, न शिक्षित नै हुन्छन् तर पनि पत्रकारितामा अटाएका छन् । पत्रकार नाम धारण गरेको क्षणदेखि नै बोलीकै भरमा यिनले पत्रकारका संघसंस्थालाई खेलाउँछन् र जिल्लालाई चलाउँछन् । यदाकदा यस्ता समूहमा क्यामेरा बोकेर हिड्ने, फोटो पनि आश्चर्यजनक ढंगले खिच्ने तर त्यसको प्रयोग कहीँ कतै नगर्नेसमेत पर्छन् । कोही यस्ता पनि छन् जो आफ्ना कुनै नामधारी पत्रकारसँगै हिँडेको कारणले मात्रै पनि पत्रकार भइटोपलिन्छन् । यस्ताले जिल्लाका शक्ति केन्द्रमा बढी चिनापर्ची बनाएका हुन्छन् ।
‘मर्जीलाल’ को अवतार पनि जिल्लातिर भेटिन्छन् । यी परजीवी कोटीका विशेष पत्रकार हुन् । कुनै प्रहरी वा प्रशासनको मर्जीमा छापामारी गर्न लगाउने, नागरिकताका लागि सुराकी दिने, नवआगन्तुक सरकारी पदाधिकारीलाई जिल्लामा कमाउने बाटो देखाउने यिनको जीविकाको आधार हो । तस्कर र प्रशासनसँग साँठगाँठ गराई दिने वा ठेकेदार र प्रशासनबीच सहजीकरण गर्ने यिनको दैनिकी हुन्छ । यिनीहरू आफ्ना नयाँ मतियारको उपयोगिताका लागि तिनकै मर्जीअनुकूल लेख्ने वा बोल्ने गरिरहेका हुन्छन् । प्रहरीप्रशासनका गलत मनसायलाई पनि ढाकछोप गर्दै तिनका पक्षमा वकालत गर्न हिचकिचाउँदैनन् । कतिपय त दिनभर नै तिनीकै अघिपछि चहारिरहेका हुन्छन् । जटिल प्रकारका मुद्दालाई लेनदेनको आधारमा छिनोफानो गराई दिने यिनको सीप र अनुभवको प्रयोग राज्यको तीन वटै अंगमा भइराखेको हुन्छ ।
‘सुतीलाल’ चाहिँ त्यस्ता अवतारी पत्रकार हुन् जो समाचार सम्प्रेषण गर्न खासै दौडधुप गर्दैनन् । बसीबसी वा फोनका भरमा समाचारको खेती गरिरहेका हुन्छन् । यस्ता पत्रकारसँग केही खास समाचार हुन्छन् जसलाई उनीहरू वर्षमा दुईचारपटक दोहो¥याइरहन्छन् । कोही यस्ता पनि हुन्छन, अर्को जिल्लातिर ‘ट्रेन्ड’ चलेको समाचारमा सामान्य थपघट गरी आफू सम्प्रेषण गर्छन् । कस्तोसम्म हुन्छ भने यिनीसँग आफ्नै न्युजका कटिङ वा वर्ड फाइल हुन्छ । अनि यसमा तिनले बदलिएको तथ्याङ्क र सम्बन्धित पदाधिकारीको नाम हेरफेर गरी काम देखाउँछन् ।
‘कीर्तिलाल’का लीला पनि अपरम्पार छ । यिनीहरू आफूलाई पत्रकार दाबी गरेकै भरमा प्रभाव प्रयोग गरी रमाइलो मेला लगाउँछन् । ढुकुटी सञ्चालन गर्न लगाउँछन् । उपभोक्ता वा सहकारी संस्था सञ्चालक समितिको सदस्य बन्न पुग्छन् । विभिन्न व्यावसायिक संस्थामा आबद्धता जनाउँछन् । तर कहीँ कतै पनि आफ्नो खल्तीबाट केही तिर्दैनन् । आफ्नो करतब देखाएर कीर्ति फैलाउँछन् र खल्ती भर्छन् । समय समयमा सम्मान, दोसल्ला र भ्रमणका तस्वीर सामाजिक सञ्जालमा राख्दै आफ्नो पराक्रमको गाथा लेखिराखेका हुन्छन् । जिल्लाका महँगा भट्टी यिनका डिनर पार्टनर हुन्छन् । अनि यिनीहरू छनौटका आधारमा तिनका सेवा लिइरहेका हुन्छन् ।
‘पार्टीलाल’को गाथा विराट छ । कुनै दल विषेशको पत्रकार संगठनसँग जोडिएकै कारणले यिनको पत्रकारिता चल्छ । यिनले न लेख्नुपर्छ न बोल्नुपर्छ । अरू बेला हराउँछन् तर जब पत्रकार संगठन विशेषको चुनाव हुन्छ, यिनीहरू आइपुग्छन् । त्यतिखेर यिनको चुरीफुरी बढ्छ । यस्ताहरू कुनै संगठनसँग आबद्ध भएकै आधारमा त्यस्ता संगठन विशेषको ‘किङ मेकर’ पनि बनेका हुन्छन् ।
‘खुबीलाल’ त झनै गजबको अवतार हो पत्रकारिताको । यस्ता समूहमा पर्नेहरूमा कलम र क्यामेरा दुवै चलाउने खुबी हुन्छ । यता ‘प्रशासनसँग पनि ठीक, उता तस्करसँग पनि फिट’ हुन्छन् । यसरी लेख्छन् कि दुईविपरीत पक्षले नै यिनलाई आफ्नै हितैषी ठानेका हुन्छन् । अनि यस्तै भूमिका खेल्न सक्ने खुबीका आधारमा यिनको धन्दा चलेको हुन्छ । यिनीहरू दुई स्वार्थका माझमा खेल्न खप्पिस हुन्छन् । कतिपय अवस्थामा दुई प्रतिस्पर्धी तस्करसमूहहरूमध्ये दुइटैका यिनी त्यत्तिकै विश्वासिला हुन्छन् ।
यसरी जिल्लामा पत्रकारका नयाँनयाँ अवतार देखा पर्न थालेका छन् । पत्रकार समाजको पोषण हो र विश्वसनीयता तिनको ऊर्जा हो । समाजले यिनको व्यवहारबाट यिनीहरूप्रतिको धारणा बनाउँछ । किनभने, जिल्लामा प्रायः पत्रकारहरूको सार्वजनिक प्रस्तुति बहुसंख्यक मानिसको आँखामा पर्छ । पत्रकार भन्नेबित्तिकै जुन विम्ब खडा हुन्छ, आममानिसको मानसपटलमा त्यसमा हिजोआज सबलभन्दा दुर्बल पक्ष नै बढी हुनेगरेको छ । मैले कतिपय ठाँउमा पत्रकारहरूको प्रशिक्षणमा सोध्ने गरेको छु – तपाईँलाई एकजना सामान्य नागरिकका रूपमा सोध्दा, पत्रकार भनेर कस्तो प्रवृत्ति ठम्याउनुहुन्छ ? बहुसंख्यकको उत्तर नकारात्मक नै आउने गरेको छ । यस्तै प्रवृत्तिगत आकलनका आधारमा पत्रकारहरूको वर्गीकरण गर्ने प्रयत्न यहाँ भएको छ ।
असलको जित
अहिले संक्रमणकाल छ । त्यसैले पत्रकारका अनेकौँ कमी कमजोरी कारपेटमुनि छोपिएका छन् । अन्य पक्ष सामथ्र्यवान् हुँदैगएको अवस्थामा यस्तै नकारात्मक प्रवृत्तिको आडमा पत्रकारले सामाजिक स्वीकार्यता र सम्मान पाउन सक्दैनन् । समाजको भरोसा पाउन पत्रकार स्वयं आफैँमा नैतिकवान् हुन जरुरी हुन्छ । पत्रकारको स्वाभिमान र नैतिकता नै सबैभन्दा ठूलो पुँजी हो । त्यसैका आधारमा उसले समाजमा आफ्नो स्थान बनाउँदा त्यो भरपर्दो हुनसक्छ । पत्रकार हुँदैमा सबै कुरा सित्तैमा खोज्ने प्रवृत्ति आलोचित बनेको छ । तिनको अस्वाभाविक सम्पत्ति आर्जनको सार्वजनिक लेखाजोखा नहुने भन्ने पनि होइन् । अरूतिर औँला तेस्र्याउने पत्रकारहरू स्वयं आफूतिर फर्किने औँलाप्रति घोत्लिनु जरुरी छ । पेसागत आडमा कोहोलो मच्चाएर अब लामो समयसम्म जोगिन सकिँदैन । आफ्नो शुद्धीकरण आफैँभित्रबाट सुरु नगरी सुख छैन । अनिमात्र असल पत्रकारिताले जिल्लामा वर्चस्व बनाउन सक्छ ।
जिल्लातिर पत्रकारिताको पोखरीमा दूधको साटो खाली पानी हालिएको छ भने त्यसमा हामी तपाईँ पत्रकारिता गर्ने सबैको कारणले भएको हो । असल पत्रकारिता गर्नेले अब आँट गर्नैपर्छ । दूध हाल्ने वाचा गरेकोमा पानी हाल्न खोज्छ भने त्यस्तालाई चिनाउनै पर्छ ।
बाह्रखरीबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »