डुङगा दुर्घटनाको विषयमा छानबिन समिति गठन

प्रकाशित समय 8:30:00 PM
इनरुवा, ३ असोज । शनिबार सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा भएको डुंगा दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीमा डुङगा दुर्घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंले जानकारी दिए ।
बैठकले सहायक प्रजिअ कमल थापाको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र राष्ट्रिय अनुसन्धानका अधिकृत मेघराज कँडेल रहेका छन् ।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिलाई दुर्घटनाको कारण, बेपत्ताहरुको यकिन संख्या र बारम्बार हुने दुर्घटनाको कारण, समस्या र समाधानसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।
श्रीलंका टापूबाट यात्रु लिएर आइरहेको डुंगा सप्तकोसी नदीमा दुर्घटना हुँदा १३ जना बेपत्ता भएको जिप्रका, सुनसरीले जनाएको छ । बेपत्तामध्ये १० जनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावन कम भएको प्रहरीले जनाएको छ ।
बेपत्ताको संख्या फरकफरक बाहिरिरहँदा प्रहरीले भने १३ जना मात्रै सम्पर्कविहीन रहेको स्पष्ट पारेको छ । बेपत्ता भएकाको खोजी कार्य आज तेस्रो दिनसमेत जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »