हाम्रो शिक्षा कहाँनिर चुक्यो ?

प्रकाशित समय 6:53:00 PM
केही समयअघि केपी ओलीले प्रधानमन्त्रीको आवास छोडेपछि एउटा समाचार चर्चामा आयो, प्रधानमन्त्रीको भान्साबाट भाँडाकुँडा लगायतका सामानहरु हराए । त्यसपछि अर्को कुराको चर्चा भयो, जम्मा सात जना खेलाडी सहभागी रहने नेपाली ओलम्पिक टोलीमा त्योभन्दा कयौं बढी अधिकारी सामेल थिए ।
यस किसिमका समाचार हाम्रा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आइरहेका हुन्छन् । आखिर यस्ता घटना पटकपटक किन हुन्छन् त ?यो समस्या अल्पविकसित विश्वको साझा समस्या हो ? विकसित विश्वमा कस्तो हुन्छ ? समस्याको चुरो चाहिँ कहाँ छ त ?
नेपाल र अमेरिका दुवै ठाउँमा पढेको अनि पढाएको अनुभव भएको आधारमा हामीले आफ्नै अनुभव अनि भोगाइलाई समेटेर यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं ।
सबैभन्दा पहिले एउटा अवस्थाको कल्पना गरौं । मानौं, तपाईंकी छोरी स्कूलमा पढ्दै छिन् । एकदिन शिक्षकले भर्खरै भएको परीक्षामा छोरीले ९० प्रतिशत अंक ल्याएको कुरा सुनाए । त्यो वेला तपाईंलाई पक्कै खुशी नै लाग्छ । तर, केही दिनपछि त्यो कक्षाका बाँकी सबै विद्यार्थीले ९० प्रतिशतभन्दा बढी अंक ल्याएको कुरा थाहा पाउनुभयो । अब चाहिँ तपाईंलाई कस्तो लाग्यो ? सायद हामीले यहाँ लेखिरहनु परेन ।
अब यस्तै खाले एउटा वास्तविक घटनाको चर्चा गरौँ । पोहोर साल एसएलसीको परीक्षाफल आएपछि एक जना अभिभावकले आफ्नी छोरी ८६ प्रतिशत अंक प्राप्त गरेर पास गरेकोमा सम्पूर्ण परिवार गौरवान्वित भएको भन्दै फेसबुकमा एउटा स्टाटस लेखे । कमेन्टमा उनकै एकजना मित्रले बधाई दिँदै आफ्नो छोराले पनि ८८ प्रतिशत अंक ल्याई पास गरेको कुरा लेखे । उनकी छोरीले राम्रो त गरेकै थिइन् । तर, जब उनले अरुले अझै राम्रो गरेको थाहा पाए, ती अभिभावकको स्टाटस एकाएक गायब भयो ।
यी दुई काल्पनिक र वास्तविक घटना त प्रतिनिधि उदाहरण मात्रै हुन् । हामी धेरैजसो नेपालीहरुको अरुलाई जसरी पनि जित्नैपर्छ भन्ने एउटा नकारात्मक मानसिकता छ । अञ्जानमै भए पनि अरुलाई जित्दा बढी खुशी हुने सामान्यतया हाम्रो बानी छ ।
केही समयअघि भारतको बिहार राज्यको बोर्ड परीक्षामा अनियमितता भएको कुरा व्यापक चर्चामा आयो । ‘टप‘ गरेका भनिएका विद्यार्थीलाई पुनस्परीक्षा लिन लगाउँदा उनीहरु अनुत्तीर्ण भए । हाम्रै देशमा पनि एसएलसी वा अन्य परीक्षाहरुमा सकभर अभिभावकहरु नै अथवा विद्यालय प्रशासनकै मिलेमतोमा कतिपय शिक्षकहरुले विद्यार्थीलाई चोराएका समाचार नआएका होइनन् ।
यस वर्षको एसएलसी परीक्षामा प्रतिशत सिस्टमलाई हटाएर जी.पी.ए. पद्दति त सुरु गरियो, तर धेरै निजी विद्यालयहरु र व्यक्तिहरुले विद्यार्थीको ग्रेडलाई जबर्जस्ती प्रतिशतमा ढालेर यति र उति प्रतिशत ल्याएको भन्दै पत्रपत्रिका र सामाजिक सञ्जालका पाना भरे । यो सबै गर्नुको पछाडि एउटै कारण थियो, अरुभन्दा आफूलाई उत्कृष्ट साबित गर्नु ।
आफ्ना छोराछोरीले जाने पनि नजाने पनि भरसक पास गराउने वा अरुलाई जिताउने अभिभावकको दाउ हुन्छ । विद्यालयको दाउ चाहिँ आफ्ना विद्यार्थीको उत्कृष्ट नतिजा देखाएर अरु विद्यालयहरुलाई जित्ने र आफ्नो व्यापार बढाउने भन्ने हुन्छ । हाम्रो परिवेशले नै हाम्रा विद्यार्थीलाई  शिक्षा लिनु भनेको जान्न र बुझ्नको लागि भन्दा पनि सामाजिक प्रतिष्ठाको लागि मात्रै हो भन्ने सिकाइरहेको भान हुन्छ ।
विश्वविख्यात सोभियत मनोवैज्ञानिक लेव भाइगोट्स्कि को ‘सोसिओ–कल्चरल थ्योरी‘ का अनुसार मानिसको सिकाइ उसको सामाजिक परिवेश र त्यसभित्र हुने उसका अन्तर्क्िरयाहरुबाट निर्देशित हुन्छ । हामीले परीक्षामा चोर्नुपर्ने, सबैलाई उछिनेर आफू अगाडि बढ्नुपर्ने जस्ता कुरा हाम्रो सामाजिक परिवेश र त्यहाँभित्र हुने हाम्रा अन्तरक्रियाहरुबाटै प्रभावित भएका हुन् । हाम्रो सोच, प्रवृत्ति र व्यवहारहरुले हाम्रो समाजको वास्तविक वस्तुस्थितिको चित्रण गरिरहेको हुन्छ ।
हामी त्यही समाज निर्मित सदस्यहरु हौँ, जसले हामीलाई जहिले पनि अरुलाई जित्नुपर्छ भन्ने मात्रै सिकायो । अल्पविकसित अथवा विकासोन्मुख विश्वमा जरा गाडेको भ्रष्टाचार तथा कुनै पनि राजनीतिक दलको शीर्ष नेता आफू नमरुन्जेल अरुलाई नछोड्ने प्रवृत्ति पनि त्यहाँ व्याप्त रहेको आम सोचको उपज नै हो । हामीलाई हाम्रो शिक्षा,पारिवारिक तथा सामाजिक संरचनाले दौडिन र अरुलाई जित्न त सिकाए, तर कर्तव्य सिकाएनन् । राजनीति गर्न त सिकाए, तर निष्ठा र नैतिकता सिकाएनन् ।
अमेरिकी विश्वविद्यालयमा पढ्दा वा पढाउँदा हामीले देखेको र बुझेको कुरा के हो भने, यहाँका अधिकांश विद्यार्थीले परीक्षामा चोर्दैनन् । चोर्नु त परको कुरा, परीक्षा चलिरहँदा प्राध्यापक कक्षामा भए पनि नभए पनि उनीहरु छेउछाउका साथीहरुलाई सोध्ने समेत गर्दैनन् । खासमा चोर्नुपर्छ भन्ने कुरा नै धेरैलाई थाहै भए जस्तो लाग्दैन ।
कुनै–कुनै प्राध्यापकहरुले विद्यार्थीलाई ‘टेकहोम परीक्षा दिएर त्यसको उत्तर २÷४ दिनपछि लिएर आउनु भन्ने गर्छन् । अहिले हामीले पनि विद्यार्थीलाई त्यस्तो परीक्षा बेला बेला दिने गरेका छौं । तर, त्यसमा कमै विद्यार्थीले मात्रै अनियमितता गरेको थाहा हुन्छ । अरु बेला सँगै उठबस गरे पनि उनीहरु एक अर्काको चोर्दैनन् । उनीहरुका परिवार,समाज र विद्यालयहरुले नसिकाएको भए सम्भवतः उनीहरु पनि हामी जस्तै हुन्थे ।
हामी पढ्ने बेलाको चर्चा गर्दा हामीलाई जहिले पनि ग्रेडकै चिन्ता हुन्थ्यो । कुनै कोर्समा ‘बी नै आयो भने पनि नरमाइलो लाग्थ्यो । तर, अमेरिकी विद्यार्थी कमैले मात्र परीक्षाको लागि भनेर पढेको भेटियो । हामी राम्रो ग्रेडको लागि पढ्थ्यौं, उनीहरु जान्नको लागि पढ्थे । ग्रेड ल्याउने बेलामा हामी अगाडि, तर वास्तविक ज्ञानमा चाहिँ उनीहरु अगाडि भएको आभाष हुन्थ्यो । अरुलाई जित्दा मात्रै खुशी लाग्ने गुण आखिर हामीले घरबाटै सिकेर आएका थियौं ।
विद्यालय र विश्वविद्यालयहरुमा अरुलाई उछिन्नैपर्ने सामाजिक र पारिवारिक दबाबले विद्यार्थीमा नकारात्मक असर पारिरहेको हुन्छ । बालबालिकाहरुको सिकाइ र हुर्काइको सुरुवाती समयमै पर्ने यस्ता नकारात्मक मनोविज्ञानले भविष्यमा पनि उनीहरुलाई सधैं पच्छ्याई नै रहेको हुन्छ । उदाहरणका लागि स्नातक र स्नात्तकोत्तर तह अध्ययनको क्रममा पनि ‘टप‘ गर्नैपर्ने सोचले धेरै लगनशील विद्यार्थीले समेत आफ्नो ‘नोट‘ लुकाएर अरुलाई नदिने गरेको सायद तपाईंहरुमध्ये धेरैलाई अनुभव भएकै होला । हाम्रो समाज र विद्यार्थीको यस किसिमको चरित्रलाई चर्चित बलिउड अभिनेता अमिर खानले ‘थ्री इडियट्स‘ मार्फत गिज्याएको धेरैलाई अझै याद हुनुपर्छ  ।
कर्मचारी तथा राजनीतिकर्मीहरु भ्रष्टाचारमा लिप्त हुने, सरकार ढाल्ने र बनाउने खेल निरन्तर चलिरहने, आफूले चुनावमा हारे धाँधली हुने, आफू नमरुन्जेल सार्वजनिक पद अरुलाई छोड्न नमान्ने आदि चरित्रहरु बाल्यकालदेखिकै सिकाइका निरन्तरता हुन् । नेपाली समाजमा रहेको‘खुट्टा तान्ने‘ प्रवृत्ति यिनै सामाजिक र पारिवारिक संस्कारकै उपज हुन् । विकसित विश्वमा पनि यस्ता समस्या हुँदै नहुने भन्ने होइन, तर तुलनात्मक रुपमा कम हुन्छन् ।
व्यक्तिले परिवारमा सिकेका कुरा समाजमा ल्याउँछ भने समाजमा सिकेको कुरा परिवारमा लैजान्छ । विद्यालयमा सिकेको कुरा परिवार र समाज दुवै ठाउँमा ल्याउँछ । त्यसैले परिवार राम्रो नभई समाज राम्रो हुँदैन, समाज राम्रो नभई परिवार राम्रो हुँदैन । परिवार, समाज र विद्यालय एक÷आपसमा यसरी जेलिएका हुन्छन, यिनीहरुमध्ये एउटा नराम्रो भए पनि अरु राम्रो हुने भन्ने नै हुँदैन । राम्रो भए सबै राम्रो र नराम्रो भए सबै नराम्रो ।
असल नागरिक नभई असल समाज र समग्र देश असल हुन सक्दैन । असल विद्यार्थी नभई असल नागरिक, असल प्रशासक, असल नेता अनि असल शिक्षक उत्पादन हुन सक्दैनन् । समाज र समग्र राष्ट्र निर्माणको लागि अरुलाई उछिनेर आफू मात्रै अगाडि बढ्नुपर्ने हाम्रो सोच र प्रवृत्ति फेरिनुपर्छ ।
माथि प्रस्तुत गरिएका प्रतिनिधि उदाहरणहरुमा ओलम्पिक कमिटीका सदस्यहरुलाई खेलाडीको सेवा–सुविधा र देशको गौरवभन्दा आफूले घुम्ने कुरा महत्त्वपूर्ण भयो । प्रधानमन्त्री निवासको भाँडाकुँडा नचोर्दा पनि चोर्नेको भान्सा चलेकै थियो । यस्तै अन्य हजारौं उदाहरणमा ‘हामी‘ को ठाउँमा ‘म‘ हावी भयो । तत्कालका लागि ‘म’ लाई केही फाइदा भए जस्तो देखिए पनि दीर्घकालमा न ‘मेरो राम्रो भो, न ‘हाम्रो राम्रो भो !
त्यसैले हाम्रो शिक्षण पद्धतिमा प्रतिस्पर्धालाई होइन पारस्परिक सहयोगको भावना विकास गर्नु जरुरी छ । हाम्रो सामाजिक संस्कारमा पनि यस्तै सुधार ल्याउनु जरुरी छ । अलिकति मात्रै इमान्दारी देखाउने हो भने हामीले ‘म‘ र मेरो  होइन, ‘हाम्रो विकास र समृद्धिको कुरा गर्नुपर्छ । परिवर्तन आजको भोलि नै भइहाल्ने कुरा त होइन, तर सुरुवात चाहिँ आजभोलि नै गर्नुपर्ने देखिन्छ ।
(डा. नेपाल मर्सर युनिभर्सिटी र डा. बस्याल युनिभर्सिटी अफ विस्कनसिन वाशिंटन काउन्टीमा प्राध्यापनरत छन् ।) अनलाइनखबरबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »