महोत्तरी, २८ भदौ । सरसफाई सम्बन्धी जनचेतना फैलाउन र खुल्ला दिसामुक्त अभियानलाई सघाउन सर्लाही जिल्लाको सिसौटियाबाट सुरू रामजानकी डोलासहितका रामनाप जप पदयात्रा महोत्तरी आइपुगेको छ । नेपालमा पहिलोपल्ट खुल्ला दिसा मुक्त क्षेत्र घोषणाको लागि हात्ती, घोडा, ट्याक्टर, रामजानकीको डोलासहितको लावालस्कर जिल्लाको सरपल्लो आईपुगेको हो । सरपल्लोमा स्थानीयहरुले पुजापाठसहित लावालस्करलाई भव्य स्वागत गरेको छ ।

सर्लाही जिल्लाको सबैभन्दा फोहोरी गाविसको रुपमा चिनिएको सिसौटिया गाविसमा केही दिन पहिला खुल्ला स्थानमा रहेको ३ सय २१ केजी दिसालाई गाविस सचिव, राजनैतिकदल, समाजसेवी, जिम्मेवारी समूह, शिक्षक, युवाहरुले मिलेर हटाएको थियो ।
सरसफाईको महत्व बुझेपछि स्थानीयहरुले आफैं धार्मिक पदयात्रा गर्ने जनाएपछि सरसफाईमा जनचेतना जगाउन र खुल्ला दिसा मुक्त अभियानमा सहयोग पुग्ने अभिप्रायले पदयात्रा शुभारम्भ गरिएको साहले बताए ।
रामजानकीको डोला र बाजागाजासहितको लावालस्करहरुलाई बाटोमा सबैले पुजापाठका साथ स्वागत गर्ने गरेको पदयात्रामा सहभागी स्थानीय राजीवकुमार मण्डलले बताए । उनका अनुसार बाटोभरी रामनामको जयकार लगाउँदै लस्कर अगाडि बढ्ने छ ।
दुई दिन अगाडि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहितका कार्यालय प्रमुखहरुले फूलमाला, अबिरसहित पदयात्राको शुभारम्भ गरेका थिए । स्थानीय व्यासजीको उपनामले चिनिने नागेन्द्र मण्डलको नेतृत्वमा निस्केको सो धार्मिक लस्कर वुधबार भने धनुषाको दुधबार भन्ने ठाउँमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ । रात्री विश्रामस्थलमा धार्मिक झाँकी पनि प्रर्दशन भइरहेको छ ।
सो धार्मिक यात्रा बिहीबार र शुक्रबार जनकपुरको विभिन्न मन्दिरहरुमा पूजापाठ र परिक्रमा गरी समापन हुनेछ ।
