शनिबार पहिलोपटक तीनवटा देखिएका बँदेल पाँच दिनकै अवधिमा सात आठवटाको संख्यामा देखिन थालेका छन् । बँदेलले कोबी, भान्टा, बन्दा र अन्य तरकारी बाली उखेल्ने, उधिन्ने गरेर लाखौँको नोक्सान गरेको पशुपतिनगर–१ का किसान महेन्द्रसिंह महतोले बताए ।

पशुपतिनगरसँग जोडिएको भंगाहाको रामनगर, बर्दिबास नगरपालिकाको प्रेमनगर र बिजलपुराको पूर्वी बस्तीमा पनि बँदेलले बाली नोक्सान गरेर दुःख दिएको ती बस्तीका सर्वसाधारणले बताएका छन् । बँदेलले धेरैजसो नयाँ फुल्नै लागेको कोबी खुबै मन पराएर खाने गरेको भंगाहा–३ रामनगरका किसान चाँगैन महतोले बताए ।
समूहमा आउने बँदेलले मान्छे देखेपछि झम्टनेसमेत गरेकाले बस्तीमा त्रास छाएको सर्वसाधारणको भनाइ छ । बँदेल आतंक बढेसँगै इलाका प्रहरी कार्यालय बर्दिबास, इलाका वन कार्यालय बर्दिबास र बर्दिबासस्थित छिन्नमस्ता सशस्त्र प्रहरी गणमा जानकारी गराइए पनि नियन्त्रणको कुनै उपाय नभएको पीडितले बताएका छन् । जिल्लाको उत्तरवर्ती वन क्षेत्रमा खानेकुराको अभावसँगै सिकारी चलखेल बढेपछि बँदेल खानाको खोजी र सिकारीबाट बच्न गाउँबस्ती पसेको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच इलाका वन कार्यालयका वन रक्षकले पशुपतिनगरमा बँदेल लखेट्न सुरु गरेको जनाएका छन् । पशुपतिनगरमा गतवर्ष पनि असोज, कात्तिकमा बँदेलले निकै नोक्सानी गरेको थियो ।
