गाविस सचिवहरु आन्दोलित

प्रकाशित समय 6:34:00 PM
जनकपुर, ६ असोज । पटक पटक ध्यानाकर्षण गराउँदा पनि नियमानुसार पाउनु पर्ने प्रोत्साहन भत्ता नपाएको भन्दै धनुषाका गाविस सचिवहरुले विहीवार कामकाज ठप्प पारी आफू कार्यरत गाविसहरुको स्टाम्प र प्याड जिविसमा बुझाएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपाल जिल्ला कार्यसमिति धनुषाका अध्यक्ष रामपुकार यादवको नेतृत्वमा जिल्लाका ७१ वटै गाविसका सचिवहरुले उनीहरु कार्यरत रहेको गाविसको स्टाम्प तथा प्याडसहित कार्यालय संचालनमा काम लाग्ने अन्य सामानहरु जिल्ला विकास समिति धनुषामा बुझाएका हुन् ।
गत असार १९गते नै स्थानीय विकास मन्त्रालयले सचिवहरुलाई ५० प्रतिशत प्रोत्साहन भत्ता खुवाउन जिविसलाई अख्तियारी दिए पनि हालसम्म उपलब्ध नगराएको केन्द्रका अध्यक्ष रामपुकार यादवले बताए ।
‘यस सम्बन्धमा भदौ ३० गते निमित्त स्थानीय विकास अधिकारीलाई लिखित ध्यानाकर्षण गराएका थियौं । तर, हालसम्म कुनै सूचना प्राप्त भएको छैन । अनि वाध्य भएर हामी कामकाज ठप्प पारेका हौं’ अध्यक्ष यादवले भने । गत असार १९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिविस धनुषालाई सचिवहरुलाई थप गरिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन वजेट तथा अख्तियारी दुबै पठाएको थियो । तर, तत्कालिन स्थानीय विकास अधिकारी बन्दना झा र लेखापाल फिरोज आलमको लापर्वाहीका कारण सचिवहरुले उक्त भत्ता प्राप्त गर्न नसकी रकम पनि फिर्ता गएको थियो । गाविस सचिवहरुले पाउँनु पर्ने प्रोत्साहन भत्ता समेत पाउँन नसक्नु चमर लापर्वाही भएको जिविसका अन्य कर्मचारीहरु पनि बताउँछन् ।

जिविस धनुषाका अधिकृत विजयकुमार यादवले भने, ‘सचिवहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने जिम्मेवारी तत्कालिन स्थानीय विकास अधिकारी तथा लेखा अधिकृतको थियो । उनीहरुले किन ध्यान दिएनन् उनीहरुलाई नै थाहा होला ।’
निमित्त स्थानीय विकास अधिकारी राजकिशोर प्रसाद साहले सचिवहरुले गराएको लिखित ध्यानाकर्षण बारे तत्कालै मन्त्रालयमा लेखि पठाएको बताए । उनले भने, ‘मन्त्रालयबाट पुनस् अख्तियारी नआएसम्म भत्ता खुवाउन सकिन्न । मैले माथिल्लो निकायलाई समयमै लेखि पठाई सकेको छु ।’ जिविसका कर्मचारीहरुको कमिकमजोरीका कारण गत आर्थिक वर्षमा जिविस धनुषाको झण्डै ४० प्रतिशत वजेट फ्रिज भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »