बाढीमा फसेको बसका यात्रुको उद्धार गरियो

प्रकाशित समय 6:42:00 PM
रौतहट, २७ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–बागमती सडकखण्डको पौराइ जंगलमा रहेको लच्कामा बाढी आएर फसेको बसका यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ ।
लच्कामा फसेको बसका यात्रुहरुलाई निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको टोलीले बसका ३० जनाभन्दा बढी यात्रुहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । पानीमा बसको आधा भाग डुबेको थियो । बसभित्रका यात्रुहरुले चिच्याउँदै र हातले इसारा गर्दै उद्धारका लागि आग्रह गरिरहेका थि
ए । बाढीमा बस फस्दा यात्रुहरू जोखिममा परेका थिए ।
बाढीले राजमार्ग बन्द हुँदा पाँच सयभन्दा बढी गाडीहरु बीचबाटोमै रोकिँदा यात्रुहरु मर्कामा परेका थिए । भोकभोकै बस्न बाध्य भएका यात्रुहरु जंगल क्षेत्रमा सञ्चार सम्पर्क समेत नहुँदा थप समस्यामा परेका थिए ।
प्रभु साहको गाडी डुब्यो
माओवादी केन्द्रका नेता एवं सांसद प्रभु साहको गाडी राजमार्गमा डुबेको छ । सिराहाको मिर्चैयामा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने आमसभामा भाग लिन उनी पूर्व जाँदै थिए । साह चढेको बा १ ज ८४९३ नम्बरको निजी गाडी चाँदी खोल नजिकै डुबेको हो ।
उनको गाडी पानीमा डुबेपछि स्टार्ट बन्द भएको थियो । इन्जिनमा पानी पसेर स्टार्ट बन्द भएको गाडीलाई पछि कार्यकर्ताले ठेलेर निकाल्न सफल भएका थिए । ‘बाढीले मेरो गाडी डुबायो। ठेलेर चन्द्रनिगाहपुर ल्याएर अहिले मर्मत भइरहेको छ’, नेता साहले भने, ‘राजमार्ग अवरुद्ध हुँदा अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा हिँडेका बारा, पर्सा, रौतहटका हजारौं कार्यकर्ता अलपत्र परेका छन् ।’
पूर्व हिँडेका करिब २ सय गाडी चन्द्रनिगाहपुरमा मात्रै रोकिएका छन् । सर्लाहीको बागमतीमा त्यो भन्दा बढी संख्यामा गाडी रोकिएको सुरक्षा अधिकारीहरुले उल्लेख गरेका छन् । राजमार्ग अवरूद्ध भएपछि केही सवारी साधन वीरगञ्ज, हेटौंडामै रोकिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »