जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएको भदौ ८ गते स्थानीय कटहरिया गाविस–८ का २८ वर्षका चौरसियालाई प्रहरीले नेपाल भारत सिमानाको बंकुल क्षेत्रबाट पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा ५ देखि ७ वर्षका बालिकालाई अपहरण गर्ने, पहिला ति बालिकाको हात खुटा भाँचेर बलात्कार गर्ने र हत्या गर्ने गम्भीर अपराधमा संलग्न रहेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
चौरसिया विरुद्ध चोरी, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करण र कर्तव्य ज्यानको मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएपछि मिसिलसहित अदालतमा पेश गर्दा अदालतले पुर्पक्षका लागि गौर कारागार चलान गरेको रौतहट प्रहरीका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
अभियुक्त चौरसियाले गएको असार १० गते राति साढे १ बजेको समयमा गरुडा नपा–५ शिवनगरकी ४ वर्षकी बालिका, असार २४ गते बिहान ४ बजेको समयमा सितलपुर बैरगनिया–८ गम्हरिया टोलकी ८ वर्षकी बालिका र भदौ ८ गते राति १ बजेको समयमा मर्यादपुर–१ की ६ वर्षकी बालिकालाई सुतिरहेको अवस्थामा अपहरण गरी हातखुटा भाँचेर बलात्कार गरी नदीमा फालेको प्रहरीले जनाएको छ ।
अनुसन्धान पछि प्रहरीबाट अदालतमा कागजातहरु पेश गर्दा जिल्ला अदालतबाट अभियुक्त सिरियल किलर बालकिशोरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
