‘सामुदायिक रेडियोहरु स्थानीय समाचारलाई प्राथमिकता दिनुपर्छ’: सरोकारवाला
बद्री नारायण यादवसिरहा, ६ असोज । सामुदायिक रेडियो समग्र एफएमले लहानको मारवाही सेवा समितिको सभाकक्षमा बुधवार एक कार्यक्रम गरेर छैठौं बार्षिकोत्सव मनाए । कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले सामुदायिक रेडियो एफएमहरुले स्थानीय स्तरमा देखा पर्ने गरेका समस्या र समाधानको उपाय पहिल्याउदै समाचार प्रसारणमा जोड दिनुपर्ने बताए ।

उनीहरुका अनुसार समयक्रमको फेरबदलसँगै स्थानीय स्तरमा धेरै यस्ता समस्याहरु देखा परेका छन् जसलाई राष्ट्रिय स्तरका मिडियाहरुले स्थान दिएको पाइदैन् । स्थानीय स्तरका मिडिया हाउसहरु खासगरी सामुदायिक रेडियोहरु राष्ट्रिय स्तरका मिडिया हाउसको आँखाको काम गर्दै आएको तर्क गर्दै उनीहरुले ती मिडियाहरुले उठाउन नसकेका स्थानीय सवाललाई सामुदायिक रेडियोहरुले जोडदार रुपमा उठाउनुपर्ने माग गरे ।
राष्ट्रिय स्तरका मिडियाहरुले उठाउन नसकेका, गर्न नसेका स्थानीय सवाललाई समेट्दै समाचार प्रसारणमा सामुदायिक रेडियोहरु जुट्न नसकेको नागरिक दैनिकका सिरहा समाचारदाता मिथिलेश यादवले टिप्पणी गर्दै भने,‘सामुदायिक रेडियोहरुले स्थानीय सवालमा विषेश केन्द्रित भएर समाचार प्रसारणमा जुट्यो भने सम्बन्धित निकायले दायित्वबोध हुनेछ । साथै राष्ट्रिय मिडियामा काम गर्नेहरु पनि थप जिम्मेवार हुनेछन् ।’
सञ्चारक्षेत्रमा काम गर्नेहरुको निराशाको दिन गइसकेको तर्क गर्दै मिथिलेशले काम गर्नेहरुको लागि नेपाली पत्रकारिताले नाम र राम्रो दाम दिन सक्ने अवस्था सृजना गरिदिएको बताए । उनका अनुसार जोसँग लेखन सीप छ, जसले नयाँ दृष्टिकोणबाट लेखन गर्न सक्छ र लेखिरहने व्यक्तिलाई आफ्नो अवश्यकता पूर्ति गर्न अरुको मुख ताक्नुपर्दैन् ।

स्थानीय मिडियाहरु प्रतिको नराम्रो सोचलाई फेर्दै समग्र सामुदायिक रेडियो अघि बढेको सवल पक्ष रहेको समाजसेवी एवम् सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहले बताए । युवाहरुको प्रयासले संचालित यो एफएमको हरेक दुःख र सुखमा साथ रह्ने उनले प्रतिबद्धता जनाए ।
युवाहरुको संगठित समग्रको टिम धेरै हदसम्म सफल र राम्रो रहेको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादवले सामुदायिक रेडियोहरुलाई वर्गीकरण गरेर उनीहरुको बचाउका लागि राज्यले कार्यनीति लिनुपर्ने बताए । विज्ञापन र सञ्चार नीतिलाई स्थानीयमैत्री बनाउन उनले जोडदार माग गरे ।
संस्था अध्यक्ष भैरव प्रसाद गेलालको सभापतित्वमा भएको बार्षिकोत्सव समारोहमा सर्च फर कमन ग्राउण्ड नेपालकी कार्यक्रम व्यवस्थापक मीना शर्मा, सामुदायिक रेडियो प्रसारक संघका सदस्य एवम् रेडियोका संस्थापक अध्यक्ष सुनिल कुमार साह,गैरसरकारी संस्था महासंघका सिरहा अध्यक्ष गोविन्दराज विष्ट, रेडियो सरगमका संचालक फिरोज शेख लगायतले सामुदायि रेडियोहरुको आवश्कता र स्थानीय विकासमा उनीहरुको भुमिका दर्शाउदै विचार व्यक्त गरेका थिए ।
समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित एफएमको उक्ता बार्षिकोत्सवमा समाजसेवी धिरेन्द्र कुमार साह, संगीतकार तेजु मैथिल र रेडियोको आन्तरिक व्यवस्थापनमा विषेश योगदान गरेकी पुष्पा गौतमलाई दोसल्ला उढाई सम्मान पत्र प्रदान गरेर सम्मान गरियो । कार्यकुशलताको कदर गर्दै रेडियोमा काम गर्ने कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । तेजु आफै संसार देख्न नसकेपनि संगीतको माध्यमले अरुलाई संसार र संस्कार बुझाउदै आएका छन् । तेजु दृष्टिविहिन युवा छन् तरपनि गायन क्षेत्रमा आफ्नो राम्रो पहिचान कामय गर्दै अघि बढिरहेका छन् ।
