७० थरी निःशुल्क औषधि, छैन–छैन, निजीतिर जानुस्

प्रकाशित समय 8:17:00 PM
गोलबजार, २ असोज ।  चन्द्रअयोध्यापुर–६ मा एउटा दलित बस्ती छ । आफ्नो नाममा जमिन नभएकी फूलकुमारी सदाय यही बस्तीको एउटा छाप्रोमा बस्छिन् । तीन वर्षअघि कान्छो छोरो जन्मँदा लिइएको ऋणको भारीले उनी अझै तंग्रिन सकेकी छैनन् ।
सुत्केरी व्यथाले च्यापेपछि सरकारी अस्पताल पुगेकी उनलाई त्यहाँबाट अन्यत्र रेफर गरियो । उनी लहानको निजी अस्पताल भर्ना भइन् र त्यहीँ छोरो जन्माइन् । अस्पतालले उनलाई चार दिनसम्म त्यहीँ राख्यो र त्यसबापत ५० हजार रुपैयाँको बिल थमाइदियो ।
बिल तिर्न उनले गाउँकै साहुमहाजनसामु ऋणका लागि हात फैलाइन् । धितो राख्ने एकबिता जमिन पनि नभएकी उनलाई सहजै ऋण पत्याएनन् साहुले । धेरै अनुनयपछि सयकडा पाँच रुपैयाँ ब्याजदरमा उनले ऋण त पाइन् तर अझै सावाँसम्म तिर्न सकेकी छैनन् । ब्याजले झनै थलिएकी छन् ।
‘विपन्नका लागि यो निःशुल्क, त्यो निःशुल्क सेवा छ भनेर सुन्छु तर व्यवहारमा हात लाग्यो शून्यजस्तै छ,‘ फूलकुमारी भन्छिन, ‘‘गाउँको अस्पतालमा गर्भवतीले आइरन र क्याल्सियम चक्कीसमेत नपाउने कस्तो निःशुल्क सेवा? सरकारी अस्पतालको निःशुल्क उपचार सेवा कसका लागि हो? हामीले पत्तै पाएनौं । जहिल्यै माग्दा पनि औषधि सकिएको जबाफ आउँछ सरकारी अस्पतालमा ।’
गरिबका लागि सरकारी र निजी अस्पताल एकै भएको बताउने उनी भन्छिन, ‘‘जहाँ गए पनि औषधि र उपचार सामग्री आफैं किन्नुपर्दो रहेछ ।’
उपचारका लागि ऋणको बोझ बोक्नुपर्ने नियति सुकुमवासी फूलकुमारीको मात्र होइन । यहाँका विपन्न सबैको उनकै जस्तो नियति छ । उनका अनुसार स्वास्थ्यचौकीमा जाँच गरेर पुर्जामा औषधि लेखिन्छ तर दिइँदैन । स्वास्थ्यचौकीमा समेत ७० प्रकारका औषधि आउँछन् तर फूलकुमारीजस्ता थुप्रै विपन्नले यो सरकारी सुविधाबाट लाभ लिन सकेका छैनन् ।
यही ठाउँकी सुशीला राय (अमात) ले १६ वर्षको उमेरमै एक महिनाअघि छोरो जन्माइन् । गर्भवती बेला सरकारी स्वास्थ्यचौकीमा जाँच गराउँदा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गराउन सल्लाह दिए । एक्सरे गराउन सबै सरकारी अस्पताल चहार्दा पनि उनले त्यो सेवा पाइनन् । लहान र सिरहास्थित सरकारी स्वास्थ्य संस्थामा सेवा नपाएपछि मिर्चैयाको निजी क्लिनिक पुगेर भिडियो एक्सरे गराएको उनले सुनाइन् । ‘सरकारीमा त रगतको कमी छ भन्यो तर दबाई (औषधि) दिएन‘, उनले भनिन, ‘‘पुर्जा लेखाउन मात्र किन सरकारीमा जानू?’ उनले पनि सरकारीमा सेवा नपाउँदा साहुसँग ऋण लिएर निजी क्लिनिकमा जानुपरेको बताइन् । सुत्केरी हुने समय नजिकिँदै गर्दा उनमा तनाब पनि थपिँदै थियो । कारण थियो, सुत्केरी हुँदा लाग्ने खर्चको जोहो कसरी गर्ने । ‘सुत्केरी हुन ऋण खोज्दै थिएँ,‘ उनी भन्छिन, ‘‘अचानक व्यथा लाग्यो, घरमै बच्चा जन्मियो ।’
चन्द्रअयोध्यापुर–२ की सगिरा खातुन गर्भवती छिन् । स्वास्थ्य जाँचका लागि उनी नियमित गाउँकै स्वास्थ्यचौकी पुग्छिन् । स्वास्थ्यकर्मीले क्याल्सियम, आइरनलगायत औषधि पुर्जामा लेखिदिन्छन, अनि बाहिर किनेर खानु भन्छन् । ‘क्यालसियम र आइरन चक्की पनि नपाउने कस्तो सरकारी अस्पताल?‘ उनी भन्छिन, ‘७० किसिमका निःशुल्क औषधि कागजमा मात्र पाइन्छ ।‘
सगिराजस्तै गुनासो नसिरुल खातुनको पनि छ । ‘रुघाखोकी लागेर स्वास्थ्यचौकी जाँदा पुर्जामा दबाई लेखिदिन्छन,‘ उनी भन्छिन, ‘स्वास्थ्यचौकीमा आधारभूत औषधि पनि पाइँदैन, बाहिरबाटै किन्नुपर्छ । यस्तो कहिलेसम्म ?‘
सुनिता सदायको व्यथा पनि उस्तै छ । सात महिनाकी गर्भवती उनको शरीरमा रगतको कमी छ । आँखा पनि धमिलो देख्छिन् । धेरै बेर हिँड्न नसक्ने उनी शारीरिक रुपमा कमजोर छिन् ।
‘यहाँको सरकारी अस्पतालमा जाँच गराउँदा औषधि लेखेर पुर्जा थमाइन्छ,‘ सीतापुरकी सुनिता भन्छिन, ‘सरकारीमा आइरन चक्की पनि पाइँदैन । औषधि माग्दा भए पो दिनु भनेर फर्काउँछन् ।‘ उनले भिडियो एक्सरे, रगत परीक्षणका लागि ऋण खोजेर भए पनि लहान जाने योजना बनाएकी छन् । सुकुमबासी उनलाई गाउँका साहुले ऋण पत्याउँदैनन् । ‘धितो राख्न गरिबसँग इमानबाहेक के नै छ र?‘ उनले दुःख पोखिन, ‘सयकडा पाँच रुपैयाँ दर ब्याजमा ऋण दिने कोही न कोही पाइएला नि ! ऋणै काढेर भए पनि ज्यान त बचाउनै प¥यो ।‘
जिल्ला अस्पताल पनि महँगो
प्रसूतिका लागि जिल्ला अस्पताल, सिरहा हतपत कोही जाँदैनन् । कोही गइहाले पनि निःशुल्क भनिएको प्रसूति सेवा निजी अस्पतालमा जत्तिकै चर्को र महँगो पर्छ । प्रसूति गराउन जाने महिलालाई सुरुमै भिडियो एक्सरे लेखिदिन्छन चिकित्सक तर, यो सेवा अस्पतालमा उपलब्ध छैन । अनि महिला पुग्छन् अस्पताल अगाडिकै कर्ण क्लिनिक। त्यहाँ एक्सरे, भिडियो एक्सरेलगायत सेवा छ । त्यो क्लिनिक जिल्ला अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्णको हो । जिल्ला अस्पताल पुग्ने बिरामी ल्याब परीक्षणका लागि पनि निजी प्याथोलोजी सेन्टर नै पुग्नुपर्छ ।
चार महिनाअघि जिल्ला अस्पतालमा बुहारी बसिराको सुत्केरी गराएकी सेहाद खातुन भन्छिन, ‘अब जिन्दगी त्यो अस्पताल फर्केर जान्नँ । ग्लोब्सदेखि औषधि र रगत परीक्षण, भिडियो एक्सरेसम्म सबै सेवा अस्पताल बाहिरका निजी क्लिनिकबाट किन्नुर्पयो,‘ उनी भन्छिन् । यति खर्चमा त निजीमै गुणस्तरीय सेवा पाइन्छ, किन आउने सरकारीमा ?‘
उनले बुहारीलाई सुत्केरी गराउँदा २० हजार खर्चिनुपरेको सुनाइन् । ‘सरकारी अस्पताल यति महँगो हुन्छ भन्ने पत्तै थिएन,‘ उनी भन्छिन, ‘सस्तो र गुणस्तरीय सेवा पाइन्छ भनेर आएकी  थिएँ, उल्टो भयो ।‘
यस्तै बेहाल राउ स्मारक अस्पताल लहानको पनि छ । राउमा प्रसूति गराउन पुग्ने महिला निजीमै जस्तो महँगो उपचार खर्च बेहोर्नुपर्छ । अस्पतालमा बेड र डाक्टरले गर्ने जाँचबाहेक अन्य सबै सेवा महँगोमा किन्नुपर्छ । अस्पतालमा भिडियो एक्सरे सेवा छैन् । भिडियो एक्सरे गर्न निजी क्लिनिक धाउनुपर्छ । प्रसूतिका बेला चाहिने औषधी, ग्लोब्स, ग्याटगट, सबै बाहिर पैसा तिरेर किन्नुपर्छ । जिल्ला स्वास्थ्य प्रमुखको समेत जिम्मेवारी समालेका सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दायाशंकरलाल कर्ण भन्छन, ‘भएजति सेवा दिएका छौं ।‘ अस्पतालमा नभएका सेवाका लागि त बाहिरै जानैप¥यो ।‘
अस्पताल सञ्चालक समिति अध्यक्ष तारणीप्रसाद यादव भन्छन, ‘डा. कर्ण जनस्वास्थ्य र क्लिनिकमुखी भइदिएकाले अस्पताल सुधारको पाटो प्रभावकारी बन्न नसकेको हो ।‘

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »