बिराटनगर, ३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा मोरंग कारागारमा महिला बन्दीका चारजना आश्रित बालकहरुलाई बुधवार पोषणयुक्त खानेकुरा पोषक बितरण गरिएको छ । बन्दीहरुका लागि सरकारले उपलब्ध गराउँदै आएको राशन र रकमले बालबालिकालाई पोषणयुक्त खानेकुरा पर्याप्त नहुने र यसले बालकहरुको स्वास्थ्य अवस्थामा समेत नकारात्मक असर पर्ने गरेको पाईएपछि स्थानीय संघसंस्थाहरुको पहलमा सो सामग्री बितरण गरिएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बिराटनगरको समन्वय तथा सेतो गुराँस र जिल्ला बालकल्याण समिति मोरंगको सहयोगमा कैदी जीवन भुक्तान गरिरहेका आमाहरुसंग आश्रित रहेका चार जना बालकहरु र एक जना गर्भबती महिलालाई पोषिलो पिठो, कपडा, ग्लास, कचौरा लगायतका सामग्री वितरण गरिएको कारागार प्रमुख अन्जनी पोखरेलले जानकारी दिए ।
त्यसैगरी सेतो गुराँस विराटनगरकी प्रमुख तथा जिल्ला वालकल्याण समिति मोरङका सदस्य सरु केसीले पोषणले वालवालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले कारागारमा रहेका वालवालिकाका लागि एक बर्षसम्म पोषण युक्त पिठो प्रदान गरिरहने प्रतिवद्धता जनाए ।
सो अबसरमा जिल्ला वालकल्याण समिति मोरङ सदस्य राजेन्द्र ढकाल, जिल्ला कारागार मोरङका निमिक्त प्रमुख अञ्जनी पोखरेल लगायतको सहभागिता रहेको थियो ।
