मधेसी महिलाहरू धुमधामका साथ जितीया पर्व मनाउदैं

प्रकाशित समय 6:38:00 PM
गोलबजार, ६ असोज । सिरहा, सप्तरी, सुनसरी, मोरङ, महोत्तरी, धनुषा लगायत तराई मधेस क्षेत्रका मधेसी महिलाहरूले धुमधामका साथ जितीया पर्व मनाईरहेका छन् । मधेशी र थारु महिलाहरूको महत्वपूर्ण पर्व जितिया विहीबारबाट सुरु भएको छ । विहीबारबाट सुरु तीन दिने जितीया पर्वको पहिलो दिन महिलाहरूले नुहाएर खाएपछि पर्व सुरु भएको हो ।
यो वर्तमा बसेका महिलाहरूले स्थानीय नदीखोला र जलासयमा पिना सहितको पूजापाठ गरेर वर्त बस्ने गरेका छन् । वर्तीहरूले पानी पनि नखाई निराहार वर्त बस्ने गर्छन । मधेसी, थारु र मैथली क्षेत्रको महान तथा पवित्र पर्व जितीया पर्व सुनसरी सहित पूर्वी नेपालको तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा ‘नहाके खाये’ अर्थात नुहाएर खाने दिन विहीबारदेखि धार्मिक विधिअनुसार सुरु भएको हो ।
व्रत बस्नुअघि पहिलो दिन महिलाहरूले घिरौलाको पातमा भगवान् जितुमाहन र दिंवगत पितृलाई प्रसाद चढाई चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । दोस्रो दिन बिहान ६ बजेपछि उपवास बसी तेस्रो दिन बिहान ८ बजे स्थानीय भाषामा फैलाहार वा पारवन गरी (फलफूल खाएर वर्त तोडनु) तथा खाएर सम्पन्न गरिन्छ । 
सयौँ व्रतालुले जिल्लाको नदी, खोला, पोखरी, नहर तथा पवित्र जलासय लगायत पवित्र स्थानमा स्नान गरेर जितुमाहनको कथा सुने गरिन्छ । कथा सुनेपछि यो पर्वबाट अधिक लाभ हुनुको साथसाथै आफ्नो सन्तानको भविषयमा आइपर्ने संकटबाट जोगिन्छ, श्रीमानको दीर्घायू हुने, परिबारमा कल्याण हुने, दुर्घटनाबाट जोगिने र परिबार पनि जोगिदै आएको सामाजिक जनविश्वास रहेको छ । 
यो पर्व तीज पर्व वा चौठीचन्द पर्वको २० दिन पछि सम्पन्न गरिन्छ । चौठचन्द्र पर्व भएको १८ औ दिन पछि सुरुवात हुने मानिन्छ । त्यसैअनुसार यस वर्ष भदौ १९ गते चौठीचन्द पर्व सम्पन्न भएको असोज ८ गते २० दिन पुगेपछि समापन हुने मानिन्छ । 
यसपर्वमा बुडापाकाले कथा भन्ने र तन्नेरीहरूले कथा सुन्ने चलन रहेको छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, दही, चिउरा, चीनी, सख्खर, सिन्दुर र तोरीको तेल चढाउने गरिन्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफ्ना बालबालिकाहरू त्था शाखा सन्तानलाई पनि लगाउने चलन गरेको छ । 
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने पनि चलन रहेको छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । स्थानीयहरूले विधि अनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठघन(विहानको प्रसाद चढाउने र वितरण गरी सक्नुपर्ने) गरी सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ भन्ने मान्यता रहेको छ । 
मधेसी समुदायमा प्रायःजसो महिलाले ओठघनमा चीउरा दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रतविशेष विकट रहेको पण्डितहरु बताउँछन् । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सूख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक रुपमा समेत महत्व रहेको पण्डितहरुको भनाई रहेको छ । 
यो पर्वले मधेसी तथा थारु महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिंवगत पितृलाई पिण्ड समेत चढाउँछन् । उता मिथिलाअञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्रका व्रतको रुपमा मानिन्छ । 
मधेसी महिलाहरूको वर्ष भरीको सबभन्दा ठूलो र महान पर्वको रुपमा जितिया रहेको पाइन्छ । यो पर्व महिलाहरूको गर्भमा रहेको सन्तान र सन्तान जन्माएको आमाहरूले गर्ने चलन रहेको बताईन्छ । उपवास बसेका दिन महिलाहरूले डकार गरे अथवा मुखले खकार वा जिव्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया समेत पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न नपाउने समेत मानिन्छ । जितीया पर्व तथा व्रत गरेपछि जुनसुकै कालखण्डा र जस्तोसुकै समस्याबाट आफ्नो छोराछोरी वा सन्तान जोगिने भन्ने जनविश्वास रहेको छ । 
जितीयामा व्रत बसेका र नबसेका कन्या केटी वा महिलाहरूले आफ्नो हातमा अनिवार्य रुपमा मेहेन्दी लगाउनुको साथसाथै जितुमाहान भगवानलाई पनि चढाउने गरिन्छ ।  राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुतबहान नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेको पौराणिक कथन रहेको पाईन्छ । यस वर्तमा बसेकाहरूले जनावर र जंगली युगाको मानिसको कथाहरू समेत वाचन गर्ने तथा सुन्ने चलन रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »