घर वसि वसि तलव खान्छन् शिक्षक, विद्यालय कार्यालय सहयोगीको भरमा

प्रकाशित समय 8:25:00 PM
 आशिष विश्वकर्मा
गोलबजार, ३ असोज । जनजागृती प्राथमिक विद्यालय मठडाहीकुटी, मिर्चैया नपा १ का शिक्षक विद्यालय नआएपछि यहाँको पढाई प्रभावित हुने गरेको छ । तीन कक्षा सम्म पढाईहुने सो विद्यालयका एकमात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डल विद्यालयमा उपस्थित नभएपछि यहाँका विद्यार्थीको पढाई प्रभावित भएको स्थानीयले बताएको छ ।
स्थानीय रामनाथ साहका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको बताए । गाउँकै भएकोले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए ।
शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको सनीय गुरुदयाल सदायले जानकारी दिए । शिक्षक आफै आउँदैनन् नआएपछि परिचरले नै विद्यार्थीहरुलाई पढाउने गरेको छ, सदायले बताए ।
नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । उनका अनुसार तीनवटै कक्षाका गरी जम्मा ६० जना विद्यार्थी छन्, नियमित १२÷१५ जना विद्यार्थी आउँछन् त्यसैलाई म पढाउँछु ।
विद्यालका हाजिरी रजिष्टर समेत मण्डलले आफ्नै घरमा राख्ने गरेको कार्यालय सहयोगी ठाकुरले बताए । यहाँ हाजिरी रजिष्टर नभएपछि हाजिर गर्न समेत उनकै घरमा जानुपर्ने ठाकुरले बताए । विद्यार्थीको भने उपस्थित भएकाको नाम टिपेर लगि त्यही अनुसार हाजिरी गर्ने गरेको बताए ।
‘हामी त्यहाँ पुगेको दिनभने परिचर ठाकुरपनि विद्यार्थीलाई छुट्टी दिएर विद्यालय भएको गाउँमै सत्यनारायण भगवानको पुजा गराईरहेका भेटिए । शिक्षक पनि नआउने तपाँईपनि यसरी पुजा आजा गराएर हिडेपछि विद्यार्थीलाई कसले पढाउँछ ?’ भनी सोध्दा, ‘उहाँले ‘कुनै ब्राम्हण भेटिएन मलाई भनेकाले जानेको गरिदिएको हुँ’, भने ।
स्थानीयले शिक्षक नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाईदिन शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीएले गुनासो गरे । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा मलाई पनि कम्लेन आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको जानकारी दिए । उनले भने, ‘‘शिक्षक मण्डललाई विद्यालयमा गएर पठन–पाठन सुचारु गर्नु पटक–पटक निर्देशन दिएपनि उहाँले टेर्नु भएन, अव उहाँको ठाउँमा अर्को शिक्षक पठाउँदै छौं ।’
स्थानीय वासिन्दा अघिल्लो सरकारको शिक्षा मन्त्री गिरिराजमणी पोखरेल असार १० गते सिरहा आएको बेला विद्यालयको हालत अवगत गराएको थियो । त्यतिवेला सँगै रहेको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोलाई एक साताभित्र अर्को शिक्षक पठाएर पठनपाठन व्यवस्थित गर्न निर्देशन दिनुभएको स्थानीय एक शिक्षकले जानकारी दिए ।
यता शिक्षक मण्डलले टेलिफोमा आफ्नो विद्यालयमा नियमित वसेर पढाउनेमात्र काम नभएको बताए । उनले मेरो विभिन्न काम हुँन्छ, म सधै विद्यालयमा वसेर कहाँ पढाउन सक्छु र भन्दै कहिले काही आएर एक आधघण्टा बस्ने गरेको दावी गरे । उनले आफ्नो पढाउने मान्छे भएको भन्दै म नआउँदा पनि पठन पाठन प्रभावित नहुने जिकिर गरे ।
दलित वस्तिको मध्य भागमा रहेको विद्यालयका सवै विद्यार्थी दलितमात्र रहेको बताइन्छ । यहाँ सदाय  (मुसहर), मण्डल र साफीको ७० भन्दा वढी घरपरिवार रहेको छ ।
विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमको रकम झ्वाम
विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भएनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइएको छ । कक्षा कोठा निर्माणको लागि आव ०६५÷६६ र ६६÷६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणको लागि एक लाख ५० हजार दिएको भएपछि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ ।
जिल्ला शिक्षा कार्याल सिरहाका भौतिक योजना प्रमुख यन्जिनियर दिनेश कुमार यादवले काम सम्पन्न गरी फरफरक गर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कुनै वास्ता नगरेको बताए । कक्षा कोठाको लागि जग बनाई फलामे पाइप ठड्याएर पाँच बर्षदेखि अरु काम नगरेको बताइएको छ । खाली फलामे पाइममात्र ठड्याएका कारण पाइमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताए ।
दलित छात्रवृति पनि झ्वाम
राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले बताएको छ । अभिभावकहरु हामी छात्र  वृति त पाउँदैनौं नै, हाम्रो नानीहरुको पढाइँ पनि हुँदैन भने । शिक्षक मण्डलले भने आफ्नोमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको बताए । उनले भने, ‘शिक्षा कार्यालयले पुस्तको लागि पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई थिएँ ।’
यता शिक्षा कार्यालयको रेकर्डमा भने आव ०७२÷७३ मा ५१ जना विद्यार्थीको लागि छात्रवृतिवापत २० हजार चारसय, पाठ्यपुस्तक बापत सात हजार पाँच सय, निरन्तर विद्यार्थी मूल्याङ्कन दुई हजार तीन सय ७५, ननसेलेरी ७ हजार ६ सय ५०, सामाजीक लेखा परिक्षणको लागि ६ हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »