बाढीले एक सय बिगाहा जग्गा कटान

प्रकाशित समय 6:33:00 PM
बर्दिवास, २८ भदौ । महोत्तरीमा रातु नदीको बाढीले यस वर्ष १२५ बिगाहाभन्दा बढी उब्जाउ जग्गा कटान गरेको छ ।
महोत्तरी र धनुषाको सीमा नदी रहेको रातुले दुवै जिल्लाको उब्जाउ भूभाग कटान गरेको हो । बाढीले पशुपतिनगरका वडा नं १, २, ४, ६ र ८ मा गरी ५० बिगाहाको उखु, पाक्नै लागेको बर्खे धान र तरकारीखेती लगाइएको जग्गा कटान गरेको स्थानीय रामधनी महतोले बताए ।
वडा नं ६ को दलित बस्ती र ८ नं वडाका २० घरधुरीलाई अन्यत्र सार्नुपर्ने अवस्था छ । यसैगरी भंगाहाको ३ नं वडामा ४० बिगाहाभन्दा बढी जग्गामा लगाइएको बाली सखाप पारेको छ । त्यस्तै बर्दिवास नगरपालिकाको कृष्णपुर र मनहरीपुरमा साउनयताको बाढीले २० बिगाहा जग्गा कटान गरेको स्थानीय गोपाल कार्कीले बताए ।
रातु नदीको बाढी सिङ्क्याही गाविसको वडा नं ३, ४ र ६ को बस्तीमा बग्न थालेको छ । पशुपतिनगरदेखि भङ्काहा हुँदै सिङ्क्याहीको सीमासम्म तटबन्ध नबनाउँदा बाढी बस्तीमा पसेको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दाले तत्काल तटबन्ध बनाउन प्रसाशनसमक्ष माग गरेका छन् ।
स्थानीय विकास अधिकारी कृष्ण चापागाईंले कटान क्षेत्रमा तटबन्ध निर्माणका लागि जनताको तटबन्ध कार्यालय जलेश्वरसँग समन्वय गरी योजना बनाएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »