निमित्तकै भरमा चल्दै छ, सिरहाको सरकारी कार्यालयहरु सेवाग्राहीलाई मर्का, निमित्तहरुको रजाई

प्रकाशित समय 1:36:00 AM

गोलबजार, १९ भदौ । गतवर्ष माघको अन्त्यतिर जिल्ला भू–संरक्षण कार्यालय, लहानका प्रमुख प्रवीण कुमार मिश्रले लहान छाडे । उनी सरुवा गराएर महोत्तरी गए । तेस्रो मधेस आन्दोलन क्रममा कार्यालयमा तोडफोड र दुव्र्यवहार भएपछि उनी यहाँबाट सरुवा गराएर गए । 
उनले सरुवा गराएर गएपछि यहाँ अर्का पूर्णकालीन कार्यालय प्रमुख (उपसचिव) हाजिर भएका छैनन् । पूर्णकालीन कार्यालय प्रमुख हाजिर नभएपछि यस कार्यालयका अधिकृत सीताराम साह नै निमित्त कार्यालयको भूमिकामा छन् । विभागले उनलाई कार्यालय प्रमुखले गर्ने सम्पूर्ण कार्यको जिम्मेवारी तोकिए दिएका छन् । गत आवको सम्पूर्ण बजेट तथा कार्यक्रम साहले नै संचालन गरे । 
लहान नगरपालिकामा उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । तर ३ वर्षदेखि यहाँ उपसचिवको हैसियतमा कार्यकारी अधिकृतले कार्य सम्पादन गर्दै आएका छन् । तेस्रो मधेस आन्दोलन सुरु भएपछि नगरपालिका प्रमुखको हैसियतमा कार्यकारी अधिकृत शेरे मुस्तफाले कार्य सम्पादन गर्दै आएका छन् । उपसचिव कृष्णकुमार कार्कीको दरबन्दी भएपनि उनी हाजिर नहुँदा मुस्तफाले निमित कार्यालय प्रमुखको रुपमा लान नगरपालिका हाँकिरहेका छन् । 
नेपाल टेलिकम सिरहामा पूर्णकालीन कार्यालय प्रमुख छैनन् । निमित्त कार्यालय प्रमुखको रुपमा राजेश्वरप्रसाद साहले वर्षाैदेखि कार्यालयको कार्य सम्पादन गर्दै छन् । यस्तै हाल सिरहास्थित जिल्ला हुलाक कार्यालयको पनि छ । राजेश्वर यादवले वर्षाैदेखि निमित्त कार्यालय प्रमुखको रुपमा कार्यालय हाँकिरहेका छन् । 
मालपोत कार्यालय लहान वर्षाैदेखि निमित्त प्रमुखको भरमा चलिरहेको छ । वर्षदिन अगाडि यहाँ दरबन्दी अनुसार उपसचिव ज्ञानेन्द्र पराजुली सरुवा भएर आए । तर केही महिनामै उनी फिर्ता भए । त्यसपछि अधिकृत दशरथ यादवको निमित्त कार्यालय प्रमुखको रुपमा चलाइरहेका छन् । उनी वर्षाेदेखि यसै कार्याल्यमा कार्यरत छन् । नायब सुब्बादेखि निमित्त कार्यालय प्रमुखको रुपमा पटक–पटक कार्यालय चलाएका उनी यसै कार्यालयमा कार्यरत रहँदा नियमित बढुवा भए । अधिकृत बढुवा भएपछि उनले निरन्तर निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रही कार्य सम्पादन गर्दै आएको कर्मचारी बताउँछन् । 
यस कार्यालयमा दरबन्दीका कार्यालय प्रमुख २–३ महिनाभन्दा बढी नटिक्ने एक कर्मचारीले बताए । चौतर्फी घेराबन्दीमा पारेर दरबन्दीका प्रमुख आफै यहाँबट फिर्ता भइहाल्छन्, उनले भने । प्रमुख नहुँदा निमित्त प्रमुखको जिम्मेवारी यादवले पाउँछन् । 
यी कार्यालयहरुजस्तै स्वास्थ्य संस्था पनि निमित्तकै भरमा वर्षाैदेखि चलिरहेका छन् । लहानस्थित राउ स्मारक अस्पतालका मेसु मिश्रिलाल साह सरुवा भएपछि उनको स्थानमा मेसुको पदपूर्ति भएको छैन । मेडिकल अधिकृत सुनिलकुमार कुशवाहाले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका छन् । पूर्णकालीन मेसुको रुपमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक दिलिप साह राउ स्मारक अस्पतालमा सरुवा भएपनि उनी हाजिर भएका छैनन् ।
सिरहाको ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत प्रमुख रहने व्यवस्था छ । जसमा २ वटा पिएचसी निमित्तको भरमा चलिरहेको छन् । नवराजपुर पिएचसी र औरही पिएचसीमा हेल्थ असिस्टेन्ट निमित्त कार्यालय प्रमुख छन् । औरहीमा रामनारायण सिंह र नवराजपुरमा दोरिक कामतले निमित्त प्रमुख भएर पिएचसी चलाएको वर्षाै भइसक्यो । 
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रवक्ता राजवीर यादव भन्छन, ‘यी २ वटा पिएचसीमा मेडिकलअधिकृत पदपूर्ति हुन सकेको छैन् । मेडिक अधिकृत पदपूर्ति नहुँदा कभरेज एरियाका बिरामी उपचार निम्ति अन्त्र जान बाध्य भएको उनी बताउछन् । हेल्थ असिस्टेन्टले दिने उपचार सेवा र मेडिकल अधिकृतले दिने सेवामा धेरै फरक हुन्छ’, उनले भने, ‘भवन र उपचार सामग्री अनुरुपको जनशक्ति नहुँदा यस क्षेत्रका बिरामी मर्कामा परेका छन् ।’ उनले कार्यालयका पदपूर्तिनिमित्त मन्त्रालयमा पत्र लेखेर पठाए पनि अहिलेसम्म सुनुवाई नभएको यादवले बताए । 
स्वास्थ्य जस्तो संवेदनशील संस्थामा पनि दरबन्दी पदपूर्ति नहुनुदुर्भाग्य भएको बताउँछन् सिरहाका समाजसेवी नवीनकुमार यादव । विभाग यो विषयमा गम्भीर बन्नुपर्छ, उनले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »