तीजको मौनक र सामाजिक मर्यादा

प्रकाशित समय 11:16:00 PM
संगीता रेग्मी 

हरेक वर्षझै यो बर्ष पनि हर्षोल्लासका साथ घर आँगनमा तीज भित्रिएको छ । तीजलाई हिन्दू नारीहरूले महान् चाडको रूपमा मनाउने गरेका छन् । यो पौराणिक कालदेखि चलिआएको परम्परा हो । नेपाली नारीहरूमा सांस्कृतिक सद्भाव कायम गर्दै एक आपसमा आत्मीयता साट्ने पर्वका रूपमा तीजलाई लिने गरिन्छ । तीज पर्वलाई महिला दिदीबहिनीहरूले विशेष महत्वका साथ हेर्ने गर्दछन् । 
समाज आधुनिकतातिर अगाडि बढ्दै गइरहेको अवस्थामा हरेक चाडपर्व मनाउने विधि र प्रक्रिया परिवर्तन हुँदै गइरहेका छन् । तर, जति परिवर्तनको कुरा गरिँदै अगाडि बढ्ने कोशिस गरिएको छ त्यसभित्र पनि मौलिकता हराउँदै गएको छ । व्यावसायिकता र अत्याधुनिक सूचना प्रविधिको सहज प्रयोग गरेर गीत–सङ्गीतले मनोरञ्जन लिने दिने क्रमसँगै मौलिक परम्परालाई बङ्ग्याउने प्रवृत्ति मौलाएको छ र तीजका नाउँमा आउने अचेलका गीतहरू संस्कृतिको नाममा विकृति भित्र्याउँदै र आफ्नो बजार विस्तार गर्ने क्रममा लागेका छन् । 
कन्यादान चलचित्रको ‘तीजको रहर आयो बरिलै’ गीत तीजको मौसममा ‘ब्रान्ड’ बनेको छ । यसको बजार र प्रचार सर्वाधिक छ तर अहिले एकाध बाहेक यस्ता गीतहरू बन्न छोडेका छन् । माया प्रेमसँगै दुःखसुखका कुरा गर्नु, समाज परिवर्तनको कुरा गर्नु, हाम्रो सांस्कृतिक पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ हामी लाग्यौं भने जातीय सद्भाव र आत्मीयता बलियो हुनेछ । तर, विभिन्न वहानामा समाजलाई नकारात्मक दिशातिर लैजाने गीत, संगीत र नृत्यको प्रयोग हामीले गर्नुहुँदैन । 
कला संस्कृति र साहित्यको क्षेत्रमा निकै धनी नेपाली कलाक्षेत्रमा चाडपर्वको आगमनसँगै फरक फरक गीत संगीत पनि बजारमा आउने गर्दछ । कला संस्कृतिका संरक्षण एवं सम्बद्र्धनमा लागिपरेका कलाकारहरूले तीजको महत्वसँगै तीजका गीतहरूलाई पनि बजार प्रबद्र्धन गर्नु कुनै नौलो कुरा होइन तर त्यसलाई विकासका नाममा विकृति र अश्लिलतातर्फ उन्मुख गराउनु भने गलत हो । समाज परिवर्तन गर्ने नाममा सामाजिक आचरणविरूद्ध हामी लाग्नु हुँदैन । 
तीज हिन्दू नारीको परम्परागत पवित्र पर्व हो । वषौं दिनसम्म भेट नभएका आमा, बाबा, दाजुभाई, दिदीबहिनीसँग भेट गरेर आफ्नो जन्म घरमा रमाउँदै हरितालिका तीजको अघिल्लो दिन दर आएर भोलिपल्ट व्रत बस्ने परम्परा रहेको छ । तर, अहिले तीज आउनु महिनौँ अघिदेखि महँगा पार्टी प्यालेस र होटलमा जम्मा भएर सामूहिक रूपमा दर खाने प्रचलनले धनी र गरिबबीचको खाडल बढाउँदै लगेको छ । हुनेखाने र पुग्नेले त यसरी तीज मनाउलान् तर एक छाक मिठो खान पनि सम्भव नहुनेहरूले व्रतको अघिल्लो दिन एक छाक पौष्टिक आहारको जोहो पनि कसरी गर्लान् । तीज धनीहका लागि मात्र होइन गरीबका लागि पनि महत्वपूर्ण पर्व हो यो बुझ्न जरूरी छ ।  
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेवलाई श्रीमान्का रूपमा पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । यही मान्यता अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाहरूले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन रहँदै आएको छ । तीजमा व्रतको आफ्नै महत्व छ । अन्य अवस्था र पर्वमा बस्ने व्रतमा फलाहार, पानी पिउने आदि गर्न पाइने प्रचलन छ । तीजमा फलफूल, पानी पनि सेवन गर्न नहुने हिन्दु मान्यता पाइन्छ । तीजको व्रत समापनमा आफ्नो श्रीमान्को सम्झना, भक्तिबाट भोजन गर्ने परम्परा छ । 
व्रत बस्दा हामीले स्वास्थ्यका बारेमा पनि ख्याल गर्नुपर्छ । दीर्घरोगी र कमजोर मानिसले निराहार बस्नुहँुदैन । भोकै हुँदा शरीरमा भिटामिन र प्रोटिनको मात्रा कम हुन्छ । निर्जल र भोकै व्रत बसेर नाच्दा–घुम्दा शरीरमा ग्लुकोजको मात्रा कम भएर बेहोस हुने वान्ता हुने जस्ता समस्या देखा पर्न सक्छ त्यसैले व्रत बसेका बेला पानी अनिवार्य रूपमा दुई लिटरभन्दा बढी पिउनुपर्छ । तीजलाई सबै नारीले विशेष अनुशासनसहित उल्लासमय वातावरणमा मनाउनुपर्छ भने सामाजिक मर्यादा कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »