बढ्दो सडक दुर्घटनामा ः अनुगमन जरूरी

प्रकाशित समय 11:28:00 PM
रानीशर्मा तिवारी 

विश्वमा सडक यातायातको सुरूवातसँगै सुरू भएको सडक दुर्घटना सडकमा गुड्ने यातायातका साधनको गतिमा वृद्धिसँगै बढ्दै गएको छ । सडक संजालको विकाससँगै दुर्घटना विश्वभरि नै हुन्छ । यसलाई पूर्ण रूपमा रोक्न सम्भव छैन । विश्मा वर्षेनी लाखौं व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । सडक दुर्घटना विश्वभरि नै हुने भएपनि बढी सडक संजाल र सवारी साधनको अत्यधिक घनत्व रहेको युरोप र उत्तरी अमेरिकाभन्दा कम सडक संजाल र सवारी साधनको कम घनत्व रहेको एसिया, अफ्रिका, दक्षिण अमेरिकामा सवारी दुर्घटनाको अनुपात निकै बढी रहेको छ । सन् २०१३ को विश्व तथ्याङ्कलाई हेर्ने हो भने अमेरिकामा प्रति १ जनसंख्यामा दुर्घटना अनुपात १५.९ रहेको छ भने युरोप र एसियामा क्रमशः ९.३ र १७ रहेको छ । 
त्यसैगरी, प्रति १ लाख सवारी साधनमा यो अनुपात अमेरिका युरोप र एसियाको लागि क्रमशः ३३, १९ र १०१ रहेको छ । यसरी हेर्दा प्रति लाख जनसंख्या दुर्घटना अनुपातभन्दा पनि सवारी साधन दुर्घटना अनुपात अमेरिका र युरोपमा भन्दा एसियामा निकै बढी रहेको तथ्याङ्कहरूले देखाएका छन् । जनसंख्या अनुपातमा धेरै फरक नदेखिएको कारण एसियामा जनसंख्याको अनुपातमा सवारी साधन कम भएकोले हुन सक्छ । देशको कुरा गर्दा संयुक्त राज्य अमेरिका र बेलायतमा जनसंख्याको दुर्घटना अनुपातप्रति १ लाखमा क्रमशः १०.६ र २.९ रहेको छ । यही अनुपात दक्षिण एसियाका देशहरू भारत, पाकिस्तान, बाङ्गलादेश, भुटान, श्रीलंका र नेपालमा भने क्रमशः १६.६, १४.२, १३.६, १५.१, १७.४ र १७ रहेको छ । त्यसैगरी, सवारी साधन संख्याको अनुपातमा प्रति १ लाख सवारी साधनमा भारत, पाकिस्तान, बाङ्गलादेश, भुटान, श्रीलंका र नेपालमा भने क्रमशः १३०.१, २८३.९, १०२०.६, १६७.२, ७०.९, र ३९९.८ रहेको छ । 
यसरी माथिका तथ्याङ्कहरूलाई केलाउने हो भने प्रति लाख सवारी साधनमा अमेरिका र युरोपको भन्दा एसियामा कैयौं गुणा बढी छ । जनसंख्याको हिसाबले दुर्घटना अनुपातमा कम फरक देखिएको कारण एसियामा जनसंख्याको अनुपातमा सवारी साधनको कम उपलब्धता हो । दक्षिण एसियाली देशहरूलाई हेर्ने हो भने पनि सबैभन्दा कम सवारी दुर्घटना अनुपात श्रीलंकामा प्रति लाख ७०.९ र सबैभन्दा बढी बाङ्गलादेशमा १०२०.६ रहेको छ । सबैभन्दा धेरै जनसंख्या र सवारी साधन रहेको भारतमा भने यो अनुपात १३०.१ रहेको छ । यता नेपालमा भने प्रति लाख सवारी साधन दुर्घटना अनुपात ३९९.८ रहेको छ, जुन दक्षिण एसियामै दोस्रो ठूलो हो । त्यसैगरी, दुर्घटनामा मारिनेको अनुपात पनि नेपालमा दक्षिण एसियामा श्रीलंका (प्रतिलाख १७.४) पछिको दोस्रो (प्रतिलाख १७) रहेको छ । नेपाल विश्व र दक्षिण एसियामा पनि उच्च सवारी दुर्घटना अनुपात रहेको देशमा पर्छ । 
केही दिनअघि मात्र काभ्रेमा भएको बस दुर्घटनामा ३ दर्जन यात्रुको ज्यान गयो भने दर्जनौं घाईते भएका छन् । सो दुर्घटनाको भोली पल्ट नै बैतडीमा भएको अर्को बस दुर्घटनामा ३ जनाको ज्यान गयो । यी त उदाहण मात्र हुन् । हरेक हप्ता कुनै न कुनै ठूलो दुर्घटनाको समाचार सुन्नु परिरहेको छ । यति धेरै दुर्घटना हुँदा एउटा सवाल टड्कारो रूपमा उभिएको छ, आखिर यति धेरैे दुर्घटनाको लागिजिम्मेवार को ? सरकारले यातायात व्यवसायी र चालक दललाई दोष दिने, व्यवसायी र चालकले बाटोको दुरावस्थालाई दोष दिने, अनि यात्रु चाहीँ दुर्घटनामा परिरहने क्रम जारी नै छ । वास्तवमा माथिका तथ्याङ्कलाई हेर्दा विकसित भनिएका देश, अथवा भनौं कानुन व्यवस्था राम्रो भएको, बाटोको अवस्था राम्रो रहेको, अनुगमन तथा कारबाहीको प्रभावकारी व्यवस्था र जिम्मेवार नागरिक रहेका देशहरूमा दुर्घटनाको अनुपात नेपालमाभन्दा निकै कम भएको देखिन्छ । अझ भनौं यी सबै जहाँ जति धेरै व्यवस्थित छ, त्यहाँ त्यति कम दुर्घटना हुने गरेको छ । 
नेपालका दुर्घटनाहरूलाई केलाएर हेर्दा केही वर्ष अगाडि काठमाण्डुको चाबहिलमा बसले पैदलयात्री किचेको घटनामा चालकको अनुमतिपत्र नै नक्कली रहेको भेटिएको थियो । अहिले काभ्रेमा भएको दुर्घटनामा चालकको अनुमतिपत्र माथि त प्रश्न उठेकै छ, साथै ४० सिट क्षमताको बसमा छतमा समेत गरी ८० भन्दा बढी यात्रु सवार रहेको र उकालोमा रहेको बस अचानक ब्याक भएको अर्थात इन्जिन र ब्रेक दुईटै फेल भएको तथ्य बाहिर आएको छ । बैतडीमा भएको दुर्घटनामा भने साँघुरो र चिप्लो सडकमा अगाडि रहेको अर्को सवारी साधनलाई द्रुत्तगतिमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको देखिएको छ । 
यी ३ वटा उदाहरणका घटनाले नेपालमा अत्यधिक मात्रामा हुने दुर्घटनामा, नेपाल सरकारको नियमक निकायहरू, सडक पूवार्धारको अवस्था, व्यवसायी तथा चालकको लापरवाही र यात्रु वा आमनागरिकको चेतनाको कमी समेत दोषी रहेको स्पस्ट छ । मोटरसाईकल र अन्य नीजि सवारी साधनको लाइसेन्स र अन्य कागजपत्र जाँच गर्न र जरिवाना काट्न जति बेला जहाँ पनि सुरू गर्न सक्ने सुरक्षा निकायहरू सार्वजनिक सवारी साधन र तिनका चालकको कागजपत्र जाँच गर्दैन । जाँच गरेको भए नक्कली सवारी चालक अनुमतिपत्र भएकाले लामो समयसम्म कसरी सार्वजनिक सवारी साधन चलाइराखे, स्पस्ट छः या त भ्रष्टाचार भइरहेको छ या त यातायात मजदुरहरू र व्यवसायीहरूको संगठनको अनैतिक दबाबमुनी दबेको छ नियमक निकाय । अर्को समस्या भनेको कुनै व्यवसायी वा चालकलाई कारबाही गर्नबाट रोक्न सम्पूर्ण यातयात व्यवसायी र मजदुरले आन्दोलन र चक्काजामको धम्की दिने गर्छन् । यसप्रकार व्यवसायी र चालकहरूको संगठनात्मक दबाब पनि कारक छ यस्ता दुर्घटनाका लागि । अर्को तर्फ व्यसायीहरूले थोत्रा सवारी साधन चलाउनु र समयमा आवश्यक मर्मत सम्भार नगराउने गरेको कारण पनि दुर्घटनाहरू हुने गरेको छ । सडकको अवस्था त थाहा भएकै विषय हो । देशको राजधानीमै रहेका ठुला ठुला खाल्डाहरू त देख्न नसक्ने सरोकारवाला निकायले मोफसलका अन्य सडक देख्ने त कुरै भएन । देशका कतिपय महत्वपूर्ण सडकका ग्रेड र मोडहरू नै ठुला सवारी साधनका लागि उपयुक्त नभए पनि ती सडकमा निर्वाध ठूला सवारी साधन संचालन भएका छन् । नेपालका कतिपय महत्वपूर्ण सडकमा ग्रेड र मोडको डिजाइन नै ठिक नभएको प्राविधिकहरूले बताउने गरेका छन् । दुर्घटनाको अर्को कारण सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु हो । यसमा सवारी व्यवसायी, चालक दल र सो भन्दा पनि यात्रुहरू सचेत हुन जरूरी छ । यसमा अझ बढी जिम्मेवारी फेरि पनि नियमक निकायहरू अर्थात सरकारी संयन्त्रकै हो । 
यसर्थ, नेपालमा अत्यधिक रूपमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गरी सडक यात्रालाई सुरक्षित बनाउन सरकारी सरोकारवाला निकाय जिम्मेवार हुनु पर्दछ । सडकहरूको नियमित मर्मत, डिजाईन नमिलेका ग्रेड र मोडहरू मिलाउने काम मात्र होइन नियमक निकायहरूले झारो टार्ने भन्दा पनि सही अर्थमा नियमनको काम गर्नु पर्दछ । अर्को तर्फ व्यवसायी र चालकहरू आफ्नो व्यवसाय र कर्तव्य प्रति जिम्मेवार हुँदै सवारी साधनको नियमित मर्मत सम्भार गराउने काम गर्नु पर्दछ । साथै दोषीलाई कारबाही गर्नबाट रोक्न अनावश्यक र अनैतिक आन्दोलन नगरी सडक यातायातलाई सुरक्षित बनाउन सहयोग गर्नु पर्दछ । यात्रुहरूले पनि क्षमताभन्दा बढी यात्रु चढाउने सवारी साधनमा यात्रा गर्नबाट बच्नु पर्दछ । सबै पक्षको सामूहिक प्रयासले मात्र नेपालको सडक यात्रालाई सुरक्षित बनाउन सकिन्छ त्यसको लागि अनुगमनको पनि जरूरी छ ।  (मधेश दर्पण फिचर सेवा)

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »