मानव बेचविखन विरुद्ध एकजुट हुनुपर्छ ःसरोकारवाला

प्रकाशित समय 2:30:00 AM
गोलबजार २६ भदौ । पछिल्ला वर्षहरुमा मानव तस्करी घटना बिकराल रुप लिन थालेको सरोकारवालाहरुले बताए । १० औं राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवसको अवसरमा मानव बेचविखन विरुद्धको जिल्ला समिति सिरहाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा त्यस्तो कुरा बताएका हुन् ।   
अभिभावकले अभिभावत्वको भुमिका निर्वाह नगर्दा मानव बेचविखनका घटनामा बृद्धि आएर सामाजिक रुपमा त्रास बढेको हुँदा त्यस विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्ने उनीहरुको भनाई रहेको थियो । मानव तस्करीको चपेटामा विषेश गरी बालबालिका तथा महिलाहरु पर्ने गरेको उनीहरुले भने । 
बैदेशिक रोजगारमा जानेहरुको हितमा सरकारी निकायबाट ठोस पहल नभएको नेपाल बार एशोसियनका प्रतिनिधि प्रधुम्न उपाध्यायले बताए । उनले बैदेशिक रोजगारमा जाने युवाहरु विभिन्न कारणले ठगीमा पर्दै आएको भने । 
उनका अनुसार त्यस्ता ठगी बिरुद्ध संस्थाहरुले कार्यक्रमको नीति अनुरुप केही समय रोकथामका कार्य गरिएपनि दिर्घकालिन रुपमा सरकारी निकायले चासो नदेखाउदा अवस्था बिग्रदै गएको हो । सरकारी तवरबाट दिगो प्रयास नभएसम्म ठगी नरोकिने उनले ठोकुवा गरे । 
‘हामीले आफ्नो तर्फबाट मानव बेचविखन रोक्न प्रयास जारी राखेको,’ जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले भने, ‘हाम्रो प्रयासलाई अझ उचाईमा पु¥याउन अन्य पक्षको सहयोग आवश्यक छ ।’ मानव बेचविखन रोक्नमा अभिभावकको भुमिका अपरिहार्य रहेको उनले भने । 
मानव बेचविखन विरुद्ध अभिभावकको भुमिका सकारात्मक रह्यो भने धेरै हदसम्म त्यस्ता घटनामा कमी आउने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्यामलाल ज्ञावलीले बताए । ‘आफ्नो दायित्व पुरा नगरेर बालबालिकाको कमाईमा कतिपय अभिभावक भर पर्ने गरेका छन्,’ उनले भने, ‘विभिन्न खाले प्रलोभनमा परेर आफ्ना बालबालिकालाई अरुसँग बाहिर पठाउने गरेका हुन्छन् र बाहिर गएको केही महिनामा बेचिएको सूचना आउछ ।’ उनका अनुसार त्यस्ता घटनाक्रमबाट पाठ सिकेर व्यवहारमा सुधार गर्नु जरुरी छ ।
‘एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य, हामी सबैको सरोकार’ मुल नाराका साथ भएको उक्त अन्तक्रिया कार्यक्रममा ओरेक नेपालकी कार्यक्रम संयोजक देवकुमारी महराले सुरक्षित स्थानागमन समस्या, अवसर र चुनौती विषयमा आफ्नो सोच पत्र प्रस्तुत गरेकी थिइन् । 
प्रमुख जिल्ला अधिकारी विजय नारायण मान्नधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली सेनाका मेजर तुल बहादुर बोहरा, सिरहा नगरपालिकाका इन्जिनियर जय कुमार साह,जिल्ला सरकारी वकिलका राजेश दनुवार, महिला तथा बालबालिका कार्यालयकी नविना तुम्वा लगायतले मानव बेचविखन समस्या र समाधानको सवालमा आ–आफ्ना विचार राखेका थिए । 
मानव तस्करीले उत्पन्न गरेको सामाजिक त्रासलाई रोक्न सबैपक्षले आ–आफ्नो तर्फबाट सहयोगकारी भुमिका निर्वाह गर्न जुट्नुपर्ने सरोकारवालाहरुको विषेश जोड थिए । समाजसेवी धिरेन्द्र कुमार साहले केही हप्ता अगाडि विराटनगर–माडर चल्ने बसमा यात्रा गर्ने बालिका बसकै चालक र उनको सहयोगीले बेच्न गरेको प्रयासका घटनालाई स्मरण गराएको थियो । 
उनले अहिले सो बालिका भारत बिहारको मुजफ्फरपुरस्थित बाल सुधार गृहमा रहेको भन्दै बालिका उद्धारमा सबैलाई लाग्न आग्रह गरे । सामाजिक र मानवीय त्रासको रुपमा देखा परेको मानव बेचविखन विरुद्धको क्रियाकलापमा सहयोग गर्ने तप्कालाई उनले धन्यवाद समेत व्यक्त गरे ।   
यसैगरी, अन्तरक्रिया अघि सिरहाको थानाचौक स्थित सहिद राजेश ठाकुर स्मृति पार्कबाट प्रभात फेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी, गैरसरकारी निकाय र युवा, विधार्थी लगायत विभिन्न पक्षका सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो । 
सहिद राजेश ठाकुर स्मृति पार्कबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सिरहा पुस्तकालयमा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । मानव बेचविखन गर्न पाइदैन्, महिला अधिकार मानव अधिकार, फ्रि भिसा फ्रि टिकट लागु गर लगायतका नाराहरु प्रभातफेरीका सहभागीहरुले लगाएका थिए ।       

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »