दशैंको आगमनसँगै खसीबोकाको बजार बढ्यो

प्रकाशित समय 8:57:00 AM
अन्नपूर्ण गौतम
गोलबजार १२ असोज । विजयादशमीको आगमनसँगै लहानको हाटमा विभिन्न स्थानबाट खसीबोका संकलन हुन थालेपछि यहाँको खसीबोकाको बजार बढ्दै गएको छ ।
‘दशैंमा राम्रो लाउँला, मार हानुँला र मिठो खाउँला’ भन्ने उखान अनुसार दशैंको बेला मार हानेर खसीको स्वादिलो परिकार बनाउन तम्सिएका धेरै उपभोक्ताहरुको भीड लहानको सोमबार र शुक्रबारको हाटमा लाग्न थालेपछि खसीबोकाको बजार बढ्दै गएको हो । शुक्रबार मात्रै लहानको हाटमा दुई हजारभन्दा बढी खसीबोका विक्री गर्न ल्याइएको हाटको ठेकेदार विरेन्द्र साहले जानकारी दिए ।
यो भीड अब प्रत्येक हाटमा बढ्दै जान्छ, ठेकेदार साहले भने, ‘काठमाण्डौं र अन्य सहरमा दशैंको बेलामा खसीबोका आपूर्ति गर्न लहान पुर्व क्षेत्रकै प्रमुख बजार भएकोले यहाँ खसीबोकाको व्यापार जमेको हो ।’ यसबाहेक सिरहाको दक्षिणवर्ती भारतीय बजारका उपभोक्ता समेत खसीबोका लिन लहान नै आउँछन् । लहानमा भने सिरहा, सप्तरी र उदयपुरका विभिन्न गाउँबाट खसीबोका आउने गर्दछ । सिरहाको उत्तरवर्ती चुरेछेउको विष्णुपुरकट्टीस्थित गढमे गाउँबाट दुई ठूलठूला खसी लिएर आएका उमेश कार्कीले यसपालिको आफूहरुको दशै खसी बेचेर आएको रकमले नै मनाउने बताउनुभयो । दुई वटा खसी लिएर आएका छौं, एउटाको १५ हजार र अर्कोको २५ हजार रुपियाँ तोकेका छौ, कार्कीले भने, गाउँमा अरु पनि थुप्रै खसीहरु छन् आउँदो हाटमा ती पनि ल्याउँछौ ।
वर्षभरी पालेको खसी प्रत्येक वर्षको दशैंको बेला लहानमा विक्री गर्ने उदयपुरको नेपालटारका कृषक लेखबहादुर कार्कीले ल्याएको ११ वटा खसी एकै पटक शुक्रबार नै विक्री भएको छ । पोहोर साल मधेश बन्दको बेला उति सारो खसीबोका विक्री गर्न सकिएन, लेखबहादुरले भने, यसपालि एउटै हटियाबाट ११ वटा खसी एकै पटक विक्री भयो अब अर्को हाटमा पनि खसी लिएर आउँछौं ।
दशैंमा खसी ल्याएर बेच्न पल्केका कृषकहरुको गुनासो पनि लहानको हाटमा प्रशस्तै सुनिन्छ । हामी वर्षभरी गरेको परिश्रम अनुसार खसीको मूल्य लगाउँछौ तर व्यापारीहरुले स्वतन्त्र रुपले विक्री गर्नै दिंदैनन्, भदैयाका कृषक हरिदेव महतोले भने, खसीबोका बजारमा ल्याउनेबित्तिकै उनीहरुले चारैतर्फ घेरेर मूल्य घटाउन खोज्छन् ।
लहानको बजारमा अहिले १८ केजीदेखि ५० केजीसम्मका खसी विक्री वितरणका लागि राखिएको देख्न सकिन्छ । ती खसीको मूल्य पनि नौ हजारदेखि २५ हजारसम्म पर्ने गरेको छ । सामान्य बोका भने चार हजारदेखि पाँच हजारसम्ममा विक्री भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »