बर्दिबास, ११ कार्तिक । महोत्तरीको लक्ष्मीनियाँ गाविसमा एक पूर्वसभासद्को करेसाबारीमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेल र सशस्त्र प्रहरी सुरक्षा वेस रामनगरका प्रहरी सहायक निरीक्षक एकराज चौलागाईको कमाण्डमा गएको प्रहरी टोलीले लक्ष्मीनिया–८ मा ७ कठ्ठा क्षेत्रफलमा पूर्वसभासद् बुधनी देवी महतोसहितले गरेको गाँजा खेतीलाईलाई नष्ट गरेको हो ।

सडकमा हिड्ने व्यक्तिहरुले देख्न नसक्ने स्थानमा गरिएको गाँजा खेती पूर्ण रुपमा नष्ट गरेको प्रहरीको कार्य प्रशंसनीय भएको स्थानीयहरुले भनेका छन् । प्रहरी आएको जानकारी पाएपछि खेतीवालाहरु घरछोडेर भागेकोले कोही पनि फेला नपरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उखेलिएको गाँजाको बोट स्थानीयस्तरमै आगो लगाएर नष्ट गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।
