नक्कली घुसकाण्डमा फसाइयोः आरोपित यादव

प्रकाशित समय 6:57:00 AM
काठमाडौं २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलका नापी प्रमुख हजारी यादवलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको डिएसपी सन्तोष खड्काको नेतृत्वमा गएको टोलीले नापी कार्यालय चावहिलका प्रमुख यादवलाई दुई लाख घुस लिएको आरोपमा बुधबार दिउँसो चार बजे पक्राउ गरेको हो ।
पक्राउ गरेका यादवलाई अख्तियारको कार्यालयमा हिरासतमा राखिएको छ । तर, पक्राउ परेका यादवले भने ‘अख्तियारले पूर्वाग्रही ढंगले फसाएको आरोप लगाएका छन् । नापी कार्यालय प्रकरण बारे बुझ्न अख्तियारका प्रवक्ता गणेशराज कार्कीलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।नापी कार्यालय चावहिलका प्रमुख यादवले आफू निर्दोश रहेको बताएका छन् । ‘नक्कली सेवाग्राही उभ्याएर मलाई नियोजित ढंगले फसाइएको छ’ अख्तियारको टोलीसँगै नापी कार्यालयमा भेटिएका प्रमुख यादवले भने, ‘‘आरोप जेसुकै लगाइए पनि म निर्दोश छु ।’ अख्तियार, प्रहरी र चावहिलका स्थानीय पत्रकारले आफूलाई धेरै पहिलेदेखि धम्की दिँदै आएको यादवले खुलासा गरेका छन् । उनले भने, ‘‘यसअघि मलाई पटक पटक फसाउने प्रयास भयो । उनीहरुको केही नलागेपछि थुप्रै पटक धम्की पनि आएको थियो ।’
अख्तियारले अभियोग पत्रसहित तयार गरेको मुचुल्कामा प्रमुख यादवले हस्ताक्षर गरेका छैनन् । ‘‘फर्जी केस बनाएर मलाई फसाउन खोज्ने नियतले मुचुल्का तयार गरिएकोले मैले हस्ताक्षर गरिन’, यादवले भने । आफू निर्दोश रहेकोले न्यायका लागि पहल गरिदिन यादवले सरोकारवाला सबै पक्षसँग आग्रह गरेका छन् ।
यादव आफ्नो कार्य कक्षमा बसेको बेला अर्कै कोठाको दराजमा लुकाएर राखिएको दुई लाख सहितको झोला अख्तियारले फेला पारेपछि घुस लिएको अभियोगमा उनलाई पक्राउ गरियो । तर यादवले भने झोला र पैसाबारे आफूलाई कुनै जानकारी नरहेको बताए ।
झन्डै दुई महिनाअघि चावहिलकै नापी कार्यालयका कर्मचारी शम्भु चौधरीलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गर्दा नापी प्रमुख यादवलाई फसाउन खोजिएको थियो । तर आफ्नो खिलाफमा कुनै सबुत फेला नपरेपछि धम्की दिँदै अख्तियारले त्यतिबेला पछि हटेको यादवले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »