चालिस हजार घुससहित मालपोत प्रमुख लम्साल पक्राउ

प्रकाशित समय 10:44:00 AM
गोलबजार, १९ असोज  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बुधबार पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाको प्रमुख रवीन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले लम्साललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रमुख मालपोत अधिकृत लम्सालले सिरहा नगरपालिका १३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस रकम लिएका थिए ।
मालपोत कर्मचारीको लापरबाहीले साहको एक कठ्ठा जग्गा हराएको थियो । हराएको जग्गा खोजी दिन मालपोत, नापी, जिल्ला प्रशासन लगायत कार्यालय पाँच वर्षदेखि धाइरहँदा पनि सुनुवाई भएको छैन । मालपोतका कर्मचारीले रकम असुलीका लागि काममा आलटाल गर्दै आएका थिए । शुरुमा मालपोतका कर्मचारीहरुमध्ये कसैले एक लाखमा त कसैले ३० हजार रुपैयाँ दिए जग्गा खोजी दिने भन्दै घुस माग गर्दै आएको साहले सुनाए ।
मालपोत कार्यालयका नायव सुब्बा महारुद्र यादवले जग्गा खोज्न २५ हजार रुपैयाँ माग गरेको अडियो रेकर्डसमेत साहले सुनाए । उनले घुस मागेको अडियो रेकर्ड प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरलाई समेत सुनाएर न्यायको लागि याचना गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी मानन्धरले तत्काल फोन गरेर मालपोत प्रमुख लम्साललाई सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए । तर, मालपोत प्रमुख लम्सालले घुस माग्ने नायव सुब्बा यादवलाई निजामति कर्मचारी दिवसको अबसरमा स्थानीय रमझम होटलमा भव्य कार्यक्रम गरेर कार्यालयको उत्कृष्ट कर्मचारीको उपाधिसहित नगद ५ हजार, प्रमाण पत्र दिएर पुरस्कृत गरेका थिए ।
साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा नायव सुब्बा यादवले घुस मागेको अडियो रेकर्डसहित उजुरी दिएको बताए । साहले अन्ततः मालपोत प्रमुख लम्साललाई कति रकम लिएर जग्गा खाजिदिने भनी कुरो गरेपछि तत्काल माग गरेको १७ हजार बुझाए । तर पछि थप रकम माग गरेपछि अख्तियारसँगको सेटिङ्कमा ४० हजार बुझाउँदा प्रमुख लम्साल पक्राउ परेको हो ।
त्यस्तै चावहिलस्थित नापी कार्यालयका प्रमुख २ लाख घुस रकसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख नापी अधिकृत हजारी यादवलाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरको हो ।
उपसचिवसमेत रहेका यादवले जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्रहिसंग विभिन्न बहानामा घुस रकम माग गर्ने गरेका थिए । यसबारे सूचना एवं उजुरीको आधारमा आयोगबाट खटि गएको टोलीले सोही कार्यालयमा कार्यरत सर्वेयर जितेन्द्र पण्डित मार्फत २ लाख घुस रकम लिएको अवस्थामा उनकै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको थियो । आयोगले यस विषयमा अनुसन्धन भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »