बालविवाहलाई अदालतकै मान्यता !

प्रकाशित समय 5:28:00 PM
सिरहा, ११ कार्तिक । प्रेम विवाह गरेका एक जोडी तथा तिनका आफन्तले बुधबार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरे । प्रहरीले आफूहरुलाई बिना कारण थुनामा राखेर यातना दिएको, केही व्यक्तिले गरगहना लुटेकाले न्याय दिलाइदिन सबैसँग पत्रकारहरुसामु आग्रह गरे ।
‘अहिले कसैको ‘थ्रेट’ छैन, तर प्रहरीले आफूहरुसँग लिएको रकम फिर्ता दिलाइदिनुप¥यो, दमन गर्नेलाई कार्वाही हुनुप¥यो’ विवाह गर्ने सप्तरी इनर्वा फुलबडिया गाविस ९ निवासी इर्सादका पिता जियाउलले भने, “लुटिएका गहना र बुझाइएको रकम फिर्ता हुनुप¥यो ।’ यी कुरा हुँदै जाँदा सञ्चारकर्मीहरुको नजर विवाह गर्ने जोडीमाथि प¥यो । पत्रकारहरुले ‘दुबैको उमेर कति होला ?’ भनेर प्रश्न गरे । केटाको आफन्तले केटाको २१ र केटीको २० भने ।
सञ्चारकर्मीले पुनः प्रश्न गरे, ‘कति कक्षामा पढ्दा रैछन् ?’ यसपछि केटाकेटी आफैंले भने, ‘हामी दुबै कक्षा १० मा पढिरहेका छौं ।’ उनीहरुले थपे, ‘हामी ७ कक्षादेखि नै एकअर्कासँग प्रेम गर्दै आएका छौं । दुवै परिवारले नमान्दा भागेर अदालतबाट नाता कायम गराई विवाह गराएका छौं ।’ ‘अनि तपाईंहरुको नागरिकता छ ?’ सञ्चारकर्मीहरुको यो जिज्ञासामा उनीहरुले भने, ‘छैन् ।’ ‘अनि जन्म मिति थाहा होला नि ?’ केटाको बुवाले भने, ‘त्यो पनि थाहा छैन् । तर केटाको उमेर २१ र केटीको उमेर २० वर्ष पुगेको छ ।’


तीन वर्षको प्रेम
सिरहाको लहानस्थित इन्टरनेशनल एकेडेमी स्कुलको कक्षा १० मा अध्ययन गरिरहेकै समयमा भागेर विवाह गरेका केटा इर्साद हुन् भने केटी सिरहाको फुर्कयाही गाविसकी सिम्रन मण्डल । इर्साद स्कूलको होस्टलमा बसी अध्ययन गरिरहेका थिए भने सिम्रनको लहानमा आफ्नै घर छ । तीन वर्षदेखि प्रेम गर्दै आएको बताउने दुवैले परिवारले विवाह गर्न नमानेपछि भागेर विवाह गरेको बताए । ‘शुरुमा मैले पनि छोरालाई यो विवाह गर्न रोक लगाएँ’ इर्सादका बुवा जियाउलले भने, ‘दुबैले नमानेपछि बाध्य भएर स्वीकारेका छौं ।’
उनीहरुले आफ्नो कुरा भन्दै जाँदा १० कक्षामा पढ्ने विद्यार्थीको उमेर त २० र त्योभन्दा माथि नहुनुपर्ने भन्दै सञ्चारकर्मीले आशंका व्यक्त गरे । अनुहार हेर्दा पनि दुवैको उमेर १६ देखि १७ को बीचकै देखिन्थ्यो । दुवैको उमेर नै पुगेको देखिदैन् कसरी विवाह भयो त ? भन्ने जिज्ञासामा केटा पक्षका आफन्तहरुले भने, ‘अदालतले नै नाता कायम गरिदिएको छ त ।’
अदालत भन्छ, उमेर हेर्देनौं
कक्षा १० मा अध्ययन गर्नेहरुको उमेर कति होला ? हामीले सहजै अनुमान लगाउन सक्छौं, १४, १५ या १६ । तर सानै उमेरलाई बढी उमेर देखाउँदै नाता प्रमाणित गराएको सञ्चारकर्मीको आशंकापछि पत्रकार सम्मेलनमा उपस्थित भएका सम्पूर्ण सञ्चारकर्मी जिल्ला अदालत पुगे । सञ्चारकर्मीले जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्र श्रेष्ठसँग प्रश्न गरे, ‘नाता कायम गराउन कुन–कुन प्रमाण चाहिन्छ ?’ श्रेष्ठको उत्तर थियो, ‘नागरिकता, विवाह गरिएको अन्य प्रमाण ।’
तर सञ्चारकर्मीले घट्नाबारे नै बेलिविस्तार लगाएपछि उनले शुरुमा केटी पक्षले मुद्दा हाल्ने भएकाले त्यत्ति कुरा नहेरिने गरेको बताए । ‘नागरिकता नभएपनि पीडित भन्दै आएपछि न्याय दिनुप¥यो नि ?’ श्रेष्तेदार श्रेष्ठको प्रतिप्रश्न थियो । फिराद दर्ता गर्न आउने जोसुकैको फिराद अदालतले दर्ता गर्ने गरेको बताउँदै श्रेष्ठले भने, ‘श्रीमान (न्यायाधीश) समक्ष फायल जाँदा शंका लागेमा उमेरको आधार या अन्य प्रमाण खोजिने गरिन्छ ।’
‘तर यो नाता कायम त प्रष्ट रुपमा कानुनले बन्देज लगाएको उमेरको बालबालिकाको भएको छ ?’ सञ्चारकर्मीले यसो भनेपछि उनले भने, ‘अब सबैको उमेर सोधिंदैन । शंका लागेपछि मात्रै सोध्ने हो ।’ नाता कायमको निष्कर्ष सुनाउँदै उनले उमेर खुलाउने कुनै आधार नभएपनि नाता कायम अदालतले गरिदिदैं आएको बताए । ‘अब प्रायः केटीहरु करणी गरेको भन्दै नाता कायम गराइदिन भन्दै फिराद दिन आउँदोरहेछ’ उनले भने, ‘अब यस्तो अवस्थामा फिराद दर्ता नगरी हुन्न ।’
‘भन्नाले कानुनको मुख्य धरोहर अदालतले नै कानुन विपरित बाल विवाह गराइरहेको छ होइन् ? सञ्चारकर्मीहरुको अर्काे जिज्ञासामा उनले भने, ‘अब के गर्ने त ।’ नाता कायम गराउन सबैभन्दा पहिले अदालतमा केटी पक्षले निवेदन दिनुपर्ने प्रावधान छ । सिम्रनले इर्सादसँग सम्बन्ध कायम गराउन दिएको निवेदन पनि उनले नै २६ भदौ २०७३ मा दिएकी थिइन् । ती निवेदनमा आफूले राजीखुशी इर्सादसँग विवाह गरेको र अहिले आएर आफूलाई घरनिकाला गरेकाले नाता कायम गराइदिन अपील गरेकी छिन् ।
उनले दिएको निवेदनमा विवाह गरिएको मिति पनि दुई वटा उल्लेख गरिएको छ । निवेदनको माथिल्लो हरफमा १९ मंसिर २०७२ र तल्लो हरफमा २९ मंसिर २०७२ भनेर विवाह मिति तोकिएको छ । यति मात्रै होइन् उनले आफू इर्सादको अढाई महिनाको गर्भधारण समेत गरेको उल्लेख गरेकी छन् निवेदनमा । अदालतकै भनाईलाई मान्ने हो भने उमेर नहेरियोस् तर गर्भवती भएको प्रमाण लिनुपर्नेमा त्यस्तो कुनै प्रमाण अदालतले मागेको देखिन्न । अदालतले सिधै नाता कायम गरेको देखिएको छ ।
‘हामीले कम्तीमा गर्भवती भएको प्रमाण लिन अदालतलाई आग्रह नै गरेका थियौं’ प्रहरी श्रोत भन्छ, ‘तर कुनै आधार नहेरिकन नाता कायम गरेको देखिएको छ ।’
१६ वर्ष ११ महिनामै विवाह
नेपालको कानुनले विवाह गर्न केटाको उमेर २० वर्ष र केटीको उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने भनेको छ । यो उमेर नपुग्दै विवाह गरेको भनी कसैले कसैको बिरुद्व उजुरी दिएमा विवाह गराउने अभिभावकमाथि कार्वाही हुँदै त्यस्ता विवाह रद्द हुन सक्ने कानुनमै प्रावधान छ । यस्तो मुद्दाको कार्यान्वयन गराउने अदालतले भने सिम्रनको नाता कायम गराउने बेला ख्याल गरेको देखिदैन् । सिम्रनले २७ भदौ २०७३ मा नाता कायम गराउँदा उनको उमेर १६ बर्ष ११ महिना २ दिन पुगेको थियो ।
सिरहाको फुर्कयाही गाविसबाट बनेको उनको जन्मदर्तालाई हेर्ने हो भने २५ असोज २०५६ मा सिम्रन जन्मेकी रहिछन् । यो समाचार लेख्ने दिन ११ कात्तिक २०७३ सम्म पनि हेर्ने हो भने उनको उमेर १७ वर्ष १६ दिन पुगेको रहेछ । केटा इर्सादको जन्म दर्ता प्रमाण पत्र फेला नपरेपनि उनको समेत यस्तै उमेर देखिन्छ ।
यो विवाहकाण्डमा प्रहरी पनि मुछिएका छन् । विवाह गर्ने केटाका बुवा जियाउलले आफ्नो बुहारीलाई अलग पार्न प्रहरीले रकम लिएको बताए । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायव निरीक्षक (सई) जयप्रकाश साहले केटी पक्षलाई दिनुपर्ने भन्दै रु दुई लाख पाँच हजार लिएको बताए । यद्यपि त्यो रकम केटीको परिवारलाई समेत नगएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की सिम्रन घरबाट बेपत्ता भएपछि खोजी गर्दै जाँदा इर्सादको घरमा फेला परेको बताउँदै यो मितिसम्म दुबैबीच कुनै विवाह नभएको बताए । सिम्रनलाई फेला परी घरको जिम्मा प्रहरीले लगाएको बताउने कार्कीले यसपछि केटा र केटी पक्षबीच इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा छलफल भएको र त्यही क्रममा केटा पक्षले केटी पक्षलाई यो रकम दिनुपर्ने निर्णय बमोजिम रकम केटी पक्षलाई दिएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »