स्थानीय शान्ति समिति सिरहाले मंगलबार आयोजना द्वन्द्व पीडित लगायत सरोकारवालासँगको छलफलमा मन्त्री यादवले संविधानमा देखिएको समस्या समाधान नभएसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताएकी हुन् । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएकी मन्त्री यादवले संविधानमा मधेसी, आदिवासी, जनजाति लगायतको माग संबोधन हुने गरी सहमतिमा संशोधन हुनुपर्नेमा जोड दिइन् ।
‘संविधानमा धेरै कमीकमजोरी रहेकोले समस्या समाधान नगरी नहुने अवस्था छ’, उनले भनिन, ‘संविधानमा नागरिकतामा समानताको अधिकार, जनसंख्याको आधारमा प्रदेश र स्थानीय निकायको सीमांकन, राष्ट्रिय जनसहभागिताका लागि जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था संविधानमा हुनुपर्छ ।’
उनले सशस्त्र द्वन्द्व, मधेस आन्दोलनका क्रममा घाइतेसहित सबै द्वन्द्व पीडितलाई कानूनले तोके बमोजिमको राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । उनले द्वन्द्व पीडितका छोराछोरीले पाउने छात्रवृत्ति प्रत्येक जिल्ला शिक्षा कार्यालयहरुलाई अबिलम्ब वितरण गर्न निर्देशन दिइन् ।
