सिरहा, ९ कार्तिक । जिल्ला वन कार्यालय लहानले चुरे जंगल क्षेत्रबाट अवैध रुपमा ढुंगा ओसार पसार गर्ने आधा दर्जनभन्दा बढी ट्याक्टर तथा चालकमाथि कारबाही गरेको छ। सिरहा जिल्लास्थित चुरे जंगल क्षेत्रबाट अवैध रुपमा ढुंगा ओसार पसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिए ।
चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताए । पक्राउ गरिएका ट्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ।