सूचना आयोगको आदेशलाई चुनौति

प्रकाशित समय 5:44:00 PM
बर्दिबास, ११ कार्तिक । महोत्तरीको एक उच्च माविले राष्ट्रिय सूचना आयोगले माग बमोजिमको सूचना उपलब्ध गराउन दिएको निर्देशनलाई ठाडै उल्लंघन गरेका छन् । प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा र आयूक्त किरणकुमार पोखरेलले संयुक्त रुपमा महोत्तरीको पशुपतिनगर स्थित राष्ट्रिय उच्च मावि पशुपतिनाथ बनरझुल्लाका प्रधानाध्यापक तेजीलाल महतोलाई सूचना माग कर्तालाई ७ दिन भित्र सूचना उपलब्ध गराउन गत कात्तिक १ गते आदेश दिएका हुन् ।
आदेश दिएको ११ दिन बित्दै गर्दापनि प्रधानाध्यापक महतोले आदेश कार्यान्वयन गर्न मानिरहेका छैनन् । पशुपतिनगरका स्थानीय अमृत कुमार महतो सहितका एक दर्जन स्थानीयले सूचनाको हकको लागि नागरिक अभियान बर्दिबासको सहयोगमा ‘सूचना हाम्रो अधिकार, विकासको आधार’ भन्ने मुल नाराका साथ गत साउन ३२ गते विद्यालका सूचना अधिकारीसंग सूचना माग गरेका थिए ।
शैक्षिक सत्र २०६५ देखि हालसम्म कुन तहमा, कुन —कुन कोटामा शिक्षक नियुक्ति गरिएको र हटाइएको छ, सोको विवरण र गत शैक्षिक सत्र २०७०।०७१ मा आएको छात्रवृति रकम कुन —कुन विद्यार्थीलाई कति वितरण गरियो सोको प्रमाणित प्रतिलिपी पाउँ भनै सूचना माग गरेका थिए । सूचनाको हक सम्बन्धी कानुन अनुसार सूचना अधिकारीसंग माग गरेको सूचना निवेदन दर्ता भएको १५ दिन भित्र उपलब्ध गराउन पर्छ । तर विद्यालयका सूचना अधिकारीले १५ दिन भित्र सूचना दिएन । त्यसपछि सूचना माग कर्ताहरुले सूचना माग गर्दै दोस्रो पटक विद्यालयका प्रध्यानाध्यापक तेजीलाल महतोकँहा गत भाद्र २३ गते सूचना माग गर्दै निवेदन लिएर गएका थिए । प्रअ महतोले निवेदन दर्ता गर्न नमानेपछि हुलाकबाट निवेदन पठाइको थियो ।
सूचनाको हक सम्बन्धी कानुन अनुसार दोस्रो पटक दर्ता भएको निवेदनमा माग गरिएको सूचना ७ दिन भित्र उपलब्ध गराउनु पर्ने हुन्छ । तर विद्यालयले दोस्रो पटकको निवेदनको पनि लिखितै जवाफ नपठाएपछि सूचना माग गर्नेहरुले फेरी गत असोज २ गते राष्ट्रिय सूचना आयोगमा विद्यालयका सूचना अधिकारी र प्रधानाध्यापकलाई विपक्षी बनाउँदै पुनरावेदन गरिएको थियो ।
पुनरावेदन गरेको निवेदनमाथि कारवाही गर्दै राष्ट्रिय सूचना आयोग अनामनगर काठमाडौंले विद्यालयका सूचना अधिकारी र प्रध्यानाध्यापकको नाममा कार्तिक १ गते आदेश कार्यान्वय सम्बन्धमा एक थान चिठ्ठी सहित सूचना आयोगले माग गरिएको सूचना ७ दिन भित्र उपलब्ध गराई सोको छाँया कपी आयोगको कार्यालयका पठाउन भनि चिठ्ठी पठाएको थियो । दिएको ७ दिनको समय नाघेर ३ दिन बढी भइसक्दापनि विद्यालयले सूचना उपलब्ध गराएको नगराइएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »