वैदेशीक रोजगारले निम्त्याउँदैछ घरघरमा अशिक्षा र सम्वन्ध विच्छेद

प्रकाशित समय 5:43:00 PM
राजेश विद्रोही
अहिले वैदेशिक रोजगारले हरेक नेपालीको घरघरमा रोजगार दिएकोछ । जसले गर्दा हरेक नेपालीले आफ्नो जीवीकोपार्जनमा सहजता ल्याएको छ । लगभग हरेक नेपालीको घरवास पक्कीको सुन्दर वासतिर उन्मुख हुँदैछ । लवाई–खवाई, पहिरन र चालचलनमा पनि उतिकै सकारात्मक र नकारात्मक परिवर्तन आएकोछ । गाविस सचिव र जिल्ला प्रशासन कार्यालयले पनि दुई पैसाको लोभमा दुख बुझिहाल्छन् ।
१५ वर्ष उमेरकालाई १८ वर्ष बनाएर पासपोर्ट बनाउँछ र विदेशतिर छोराजातिलाई हुइँकाईन्छ आमावुवाले । पढाईको लगानी अनुसार सरकारी जागिरमा भविष्य देख्दैनन् । नेपाली युवामा त्यहि प्रभाव छ । बरू नपढाएरै वैदेशिक रोजगारीमा त्यो भन्दा धेरै फाईदा र भविष्य देख्छन् अभिभावकले । र त स्कूल पढ्दै गरेका देशका कर्णधार युवा जमात कलेजको मुख नहेर्दै बीचमै पढाई छाडेर विदेशिन्छन् । पहाडी भुभागमा छोरा विदेसिने छँदैछ । छोरी पनि विदेसिने बाक्लै छ । जसले गर्दा दिनहुँ विदेशमा महिला हिंसा र बलात्कारका घटनाहरू सुन्नु परेको छ । त्यसैले नेपालमा पढेर खर्च मात्र हुने र रोजगारको सम्भावना नदेखिए पछि युवायुवतिहरू विदेशतिर पलायन हुने वढ्दो छ । हरेक नागरिकको जीवन व्यवहारसँग जोडिएको गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुको साटो व्यवसायीकरण गरिरहेका छन् । जसले गर्दा राज्य हुनेखाने र पहुंचवाला वर्ग जातिको मात्र सावित भएको देखिन्छ । यसमा राज्य र राजनितिक दल गम्भीर हुनै पर्ने देखिन्छ ।
नेपाली शिक्षा र रोजगारले पारेको प्रभावः
अप्राविधिक शिक्षाको कारण पढेलेखेका दक्ष र योग्य जनशक्ति पनि दुई पैसा जागिरको प्रतिस्पर्धामा असफल बढी हुने खतरा र राज्यको कर्मचारी व्यूरोक्रेसीमा देखिएको व्यापक घुसखोरीको कारण पनि लगानी अनुसार फाइदा कम देख्छन् । यसरी आफ्नो श्रम, पसिना, रगत र सीप आफ्नै देश र नागरीकको सेवाकालागि नेपाली युवाहरू बञ्चित हुनुपर्छ र, सारा जीवनका उर्जा शक्ति विदेशीलाई सुम्पिनुपर्ने बाध्यता नेपाली युवाहरूको छ । यसमा राज्य असल शिक्षा र शिक्षा अनुसारको रोजगारको ग्यारेन्टि गर्नु पर्ने देखिन्छ । जसले युवाशक्तिमा देखिने निरासामा आशा जागेर आउँछ ।
वैदेशिक रोजगार र युवाको अवस्थाले पारेको प्रभावः
राज्यले वैदेशिक रोजगारकालागि फ्रि–भिसा र टिकेट व्यवस्थाको कुरा गरेको छ तर,कुरा कुरामा मात्र सिमित छ । सरकारी कार्यालयमा पासपोट बनाउनेदेखि म्यानपावरसम्म ठगिने व्यवस्था उस्तै छ । विभिन्न वहानामा विदेशिने युवाहरू लाखौ रुपैयाँ तिर्न विवश छन् । कुनै परिवर्तन छैन् । यसरी स्वदेशदेखि विदेशसम्म नेपाली श्रमिक युवाहरू ठगिने र फँस्ने गरेका छन् । कैयन पटक सरकार र म्यानपावर वीच वार्ता र संघर्ष नचलेको हैन् । तर, त्यो वार्ता र संघर्ष विगत माओवादी द्वन्दकालको भन्दा पनि चर्को सावित भएकोछ । पटक पटक सरकार परिवर्तनले नयाँ नयाँ वार्गेनिङ्क र संघर्षले उपभोक्ता नै मारमा पर्छन् । त्यसैले राज्य र राजनितिक दल निष्पक्ष र जिम्मवार हुनु पर्छ ।
प्रेम, विवाह र सम्वन्धले पारेको प्रभावः
अहिले युवाहरूमा अशिक्षासँगै ठुलो विकृतिको प्रभाव छ । लोकतन्त्रमा व्यक्ति स्वतन्त्रताका कारण फैलिदै गएको अराजकताले पनि समाजिक सद्भाव विग्रेको छ । युवाहरू लागुऔषधतिर पल्किने गरेका छन् । यसले समाजिक हिंसा, चोरी, तस्करी र ठगीको प्रभाव युवाहरूमा बढेको छ । अर्को प्रेम सम्बन्धको नाममा प्रेम फेसन बढ्दो छ । यसको ओज र गरिमा घट्दो छ । हिंसा पनि उतिकै बढ्दो छ ।
वुवाआमाले यसलाई नियन्त्रण गर्न र दाईजोका कारण उमेर नपुग्दै विवाह बन्धनमा बाँधिन्छन् । वैवाहिक जोडीको भावनात्मक सम्बन्ध नजिक्दै पासपोट बनाउने तयारीमा लाग्छन् । अन्ततः ऋण खोजेर भए पनि विदेशतिर पठाउँछन् । यसरी समाजमा छोरा वुहारी भौतिक सुखसुविधाबाट वञ्चित हुन्छ । विस्तारै सम्बन्धमा दरार पैदा हुन्छ र साँस्कृतिक विकृतिमा फँस्ने गरेका छन् । युवा देशको गहना हुन् यसलाई बिग्रिन भत्किनबाट राज्यले सचेत अभियान चलाउन जरूरी छ । यसको नाममा भैरहेको विभिन्न संघसंस्थाद्वारा व्यवसायिकरण बन्द गर्नुपर्छ ।
शिक्षा,समाज र सम्वन्ध विच्छेदले पारेको प्रभावः
शिक्षाको क्षेत्रमा पनि महिलाहरू भन्दा पुरूषहरू दिनानुदिन अशिक्षित हुदै गएको छ । स्कूल कलेजहरूमा पुरूष भन्दा महिलाको उपस्थिति बढ्दो छ । अधिकारको बाँडफाँट भएता पनि हाम्रो समाजमा पुरूष प्रधातताको अहम कायमै छ । समाजको यथास्थिति प्रवृतिको कारण भोली एउटा शिक्षित महिलाले अशिक्षित पुरूषसँग आफ्नो जीवनको फैसला गर्नुपर्ने विवशता आउनेमा दुईमत छैन ।
शिक्षा र अशिक्षाको कारण दुवैको वुझाई र चेतना स्तरमा अन्तर हुन्छ र टकराव पैदा हुन्छ । देशमा यस्तै अवस्था रहिरह्यो भन्ने नेपाली समाजले केहि वर्षमै महिला पुरूष बीचको चर्को द्वन्दको सामना गर्नुपर्ने देखिन्छ । यसरी महिलामा देखिने शैक्षिक चेतना र पुरूषमा देखिने अशिक्षित चेतना स्तरको टकरावले हरेक नेपालीको घरघरमा सम्वन्ध विच्छेदको पत्र बुझ्नुपर्ने हुन्छ । जसको सुरूवात समाजमा व्यापक देखिन थालेको छ । अहिले समाजमा देखिने साँस्कृतिक विकृति र विसङ्कति यसैको पराकाष्टा हो र, यो अझैं बढेर आउने निश्चित छ ।
निष्कर्षः 
यो तमाम समस्याको कारण राज्य र राजनितिक दल नै हो । यसअतिरिक्त अहिले बदलिएको राजनितिक अवस्था यसको मुख्य दोषीको रुपमा रहेको छ । राजनितिक दलबाट राजनिति व्यवसायीकरण भएदेखि देश संकटको घेराबन्दीबाट मुक्त हुनसकेको छैन । अर्को कुरा, यतिबेला सामुहिक स्वार्थ भन्दा निजी स्वार्थ सबैकालागी प्यारो भएको छ । त्यसैले त राष्ट्रियता कमजोर भएको छ । त्यसैले जबसम्म राजनितिक दलमा गम्भिरता र जिम्मेवारिपना आउँदैन् र नीजि स्वार्थभन्दामाथि उठदैन तबसम्म यो विरासत देशमा रहिरहनेछ र, असल राजनीतिक पात्रहरुको खोजी देशले गरिरहने छ । (लेखक मैथिली साहित्यकार एवम् राजनीतिक विषयका समिक्षक हुनुहुन्छ ।)

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »