उपेन्द्र यादवको चूनौति,‘प्रचण्ड भागेर कहाँ जान्छन ?’

प्रकाशित समय 10:54:00 AM
सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा मधेशी मोर्चाले तिव्र असन्तुष्टि पोखेको छ । यतिसम्म कि छठसम्म पनि संशोधन प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंक:
दशैंभरि कहाँ हुनुहुन्थ्यो ?
म त जनताकै काममा अनि देशकै काममा खटिएर गएको थिएँ ।
भनेपछि यो दशैंमा युरोपमा मज्जाले घुम्नुभयो ?
हो नि, युरोपमा पनि हाम्रो पार्टी छ नि । अमेरिकामा पनि हाम्रो पार्टी छ, शाखा छ ।
तर तपाई संविधान संशोधन गर्ने वेलामा विदेश शयर गर्नुभयो रे नि ?
त्यो पनि देश र जनताको कामकै लागि हो नि । यो कुरा तपाईले केपी ओली, झलनाथ खनाल अनि शेरबहादुरजीलाई सोध्नु भयो कि भएन ? त्यस्तै अरु नेताहरुलाई सोध्नुभयो कि भएन । पार्टीको काममा गएको हुँ । पार्टीले जे काम दिन्छ त्यही काम गर्ने हो ।
तर तपाईले त प्रधानमन्त्रीलाई राष्ट्रसंघमा जान हुँदैन भनेर उहाँको भ्रमण रोक्न लगाउनुभएको थियो नि ?
कसले भन्यो ? मैले त तपाईकै रिपोर्टर्स क्लबमा बोलेको हुँ, तर मैले के भनेको थिएँ भने अहिले राष्ट्रसंघमा जाने भन्दापनि मुलुकको समस्या समाधान गर्नको लागि संविधान संशोधन गर्नुपर्छ भनेको हो नि ।
तर तपाई त समस्या समाधान गर्नको लागि स्वदेशमा नबसेर विदेश भ्रमणमा जानुभयो नि ?
मैले त यहाँनिर सबैलाई राखेर जिम्मेवारी दिएर गएको हुँ । उपेन्द्र यादव भएन भने पार्टी चल्दैन भन्ने होईन । उहाँहरुले समस्याको हल गर्न चाहेको भए त भैहाल्यो नि । प्रस्ताव ल्याए छलफल गरेर त्यो संसदमा पेश हुन्छ भने म तुरुन्त आउँछु भनेको थिएँ ।
भनेपछि तपाई विना पनि संविधान संशोधन हुन सक्थ्यो त ?
म विना पनि संविधान बनेको हो नि । त्यतिमात्रै होईन, म विना पनि संविधान संशोधन भएकै हो नि । आजको २१ औं शताब्दीमा जनतालाई अधिकारबाट बञ्चित गर्नुभएन नि ।
तपाई विना संविधान संशोधन प्रक्रिया अघि बढाउन सजिलो हुँदैन पनि भन्ने गुनासो छ नि ?
उहाँहरुले बढाउन चाहनुभएन र त बढेन । अब म आएँ लौ बढाउन त संशोधन प्रक्रिया ।
उसो भए संशोधनको बारेमा तपाईले प्रधानमन्त्रीसँग कुरा गर्नुभयो त ?
मैले प्रधानमन्त्रीलाई भेटेर हाम्रो जिम्मेवार मान्छेहरु उहाँहरु हुनुहुन्छ, संशोधन प्रक्रिया अघि बढाउनुहोस भनेको थिएँ । म नहुँदा पनि मेरो पार्टीको तर्फबाट यो अघि बढ्छ । मेरो जरुरत भयो भने मलाई उहाँहरुले सम्पर्क गर्नुहुन्छ भनेको थिएँ । म फर्किन्छु भनेको थिएँ ।
अब संघीय गठबन्धन कसरी अघि बढ्छ ?
मुलुकको समस्या समाधान गर्नको लागि सकारात्मक सोचका साथ अघि बढ्छ ।
मोर्चा अब आन्दोलनभन्दापनि सम्वादबाटै समस्याको समाधान चाहन्छ भन्न खोज्नुभएको हो ?
हामी त जहिलेपनि छलफलबाट, वार्ताबाट नै समस्यालाई हल गरौं भनेकै छौं नि । तर राज्यले त हामीलाई वार्ताबाट समस्या हल गर्नुभन्दापनि हामीलाई जबरजस्ती घोर्के ठ्याक लगाएर आन्दोलनमा धकलेको हो नि ।
अब संशोधनको लागि तपाईहरु कहिलेसम्म कुर्नुहुन्छ ?
अब समय सिमा भन्दा पनि उहाँहरुले कहिलेसम्म गर्नुहुन्छ भनेर सोध्नु नै उपर्युक्त हुन्छ । तर मैले आवश्यक मान्छेहरुसँग सम्वाद थालिसकेको छु । सम्वादको प्रारम्भ मैले सुरु गरिसकेको छु । आवश्यक साथीहरुसँग परामर्श गरिसकेको छु ।
तपाईले परामर्श गर्दा कस्तो संकेत पाउनुभएको छ त ?
होईन, अहिले त सबै साथीहरु देश बर्वाद हुने भयो भनेर दुखित छन् । सरकारमा बस्ने र ठूला भनाउँदा दलका नेताहरु जिम्मेवार भैईदिएनन भन्ने कुरा छ । नेताहरु पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन भन्ने जनगुनासो छ ।
आजको दिनमा तपाई चाहीँ कत्तिको जिम्मेवार हुनुहुन्छ नि ?
म त समस्याको समाधानको लागि नै यसरी लागिपरेको हुँ । उहाँलाई त्यो कुरा राम्रोसँग थाहा छ ।
भनेपछि यो पटक तपाई सम्झौता गर्ने पक्षमा हुनुहुन्छ ?
मैले त सँधै सम्झौता गरेकै छु नि । २२ बुँदे गरेँ । ८ बुँदे गरें । मैले त कति सम्झौता गरें । गरें । अब त मलाई जनताले गाली गर्न थालिसके । जनता भन्छन कि तैलें सम्झौता मात्रै गर्छस्, तपाईलाई धोका दिन्छन भन्छन् । समस्याको समाधानको पक्षमा छु । म मुलुकलाई अप्ठयारोमा पार्ने मनस्थितिमा छैन् ।
मोर्चा र काँग्रेस, माओवादी केन्द्रवीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन भएन भने के गर्नुहुन्छ ?
हामी त मर्ता तो क्या नहीँ कर्ता भनेजस्तो हो नि । हामी त आफ्ना अधिका प्राप्तिको लागि, लोकतान्त्रिक अधिकार प्राप्तिको लागि, जनताको अधिकार प्राप्तिको लागि हामी संघर्षमा जाने बाहेक अरु के विकल्प हुन्छ र ?
जनताले त अहिले संघर्ष रुचाएकै छैनन ?
जनताले के दाषत्व चाहीँ रुचाएका छन र ? जनताले के भ्रष्टतन्त्र रुचाएका छन ? लुटतन्त्र रुचाएका छन ? राज्यद्धारा गरिने आतंक रुचाएका छन ?
अब छठसम्म पनि संविधान संशोधन भएन भने के हुन्छ त ?
होईन । काँग्रेस र माओवादी केन्द्रले त्यस्तो बेईमानी नगर्लान् ।
उसो भए तपाईलाई प्रधानमन्त्री प्रचण्डप्रति विश्वास छ ?
देश, जनता र अन्र्तराष्ट्रिय समूदायकावीचमा गरेको बोल, बचन, प्रतिबद्धताबाट पछि हटेर जान्छन कहाँ ? उहाँहरुले समस्याको समाधान गर्नुहुन्छ भन्नेमा मलाई विश्वास छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »