रौतहट, ११ कार्तिक । व्यवसायिक पशुपालन तथा कृषिको सम्भावना रहेको रौतहट जिल्लामा पशुहरुको विमा गर्नेको संख्या बर्षेनी बढ्दो छ । पशु विमाका बारेमा किसानहरु सचेत हुन थालेपछि गतबर्षको तुलनामा यस बर्ष विमा गर्नेको संख्यामा बृद्धि भएको हो । कृषि तथा पशु विमा कार्यक्रम लागु भएपछि रौतहटको उत्तरी क्षेत्रका किसानहरु पशु विमा गर्न उत्साहित देखिएका छन् ।
रौतहटको उत्तरी क्षेत्रमा पशुपालन बढी हुने गरेकोले सोही क्षेत्रमा बढी विमा गरिएको हो । अहिले चन्द्रपुर नगरपालिका क्षेत्रमा मात्र करीव ४ हजार भन्दा बढीको संख्यामा गाई भैसीको विमा गरिएको विमाको काम गर्दै आएका मैनाली एग्रोभेटका संचालक दिनेश मैनालीले जानकारी दिए । गत बर्षभन्दा यस बर्ष २५ प्रतिशत बढी किसानले बिमा गरेका छन् । नेपाल सरकारले ७५ प्रतिशत र पशुधनीले २५ प्रतिशत रकम व्यहोर्ने गरी विमा गर्ने गरिएको मैनालीले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका भित्र रहेको विभिन्न दुग्ध उत्पादक सहकारीले आफ्ना किसानहरुको पशु विमा गराउने गरेको जयकिसान दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका प्रकाश चौलागाईले जानकारी दिए । किसानहरुले लाखौ लगानी गरी पशुपालन गरेको अवस्थामा अचानक पशुको मृत्यु भएपछि उत्पन्न हुने समस्याबाट छुटकारा पाउन पनि किसानहरुले पशुको विमा गर्न थालेको चन्द्रपुर ७ का किसान झल कुमारी कार्कीले बताए । जिल्ला पशु कार्यालय रौतहटका बरिष्ठ पशु चिकित्सक दीनानाथ यादवले जिल्लाका किसानहरुलाई पशु विमा गराउन उत्प्रेरणा गरेकोले गत बर्षभन्दा यस बर्ष विमा गर्नेको सख्या बृद्धि भएको बताए ।
