जिल्लाको नेपाली काँग्रेस, नेकपा एमालेसहितका पार्टीका नगर सभापतिसहितका पदाधिकारीहरुले जलेश्वर नगरपालिकाबाट कार्यवाही भई सेवाबाट बरखास्त गरिएका इन्जिनियर पवनकुमार झाले कर्मचारीहरुलाई हुलहुज्जत गरी गैरजिम्मेवारपूर्ण कार्य गरेको भन्दै कारवाहीको मागलाई लिएर आइतबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
काँग्रेस, एमालेसहित जलेश्वर नगरका ११ राजनीतिक दलहरुले ईन्जिनियर पवनकुमार झा सहित नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज सरोजकुमार साह लगायतका २०÷२५ जनाले शुक्रबार कर्मचारीहरुलाई लछारपछार र दुव्र्यवहार गरेको भन्दै कारवाही नगरिएको कारणले अनिश्चितकालका लागि तालाबन्दी गरिएको जनाएको छ ।
यता सोही विषयलाई लिएर जिल्लाको विभिन्न राजनैतिकदलहरुबीच तीव्र धु्रवीकरण शुरु भएको छ । नेकपा माओवादी केन्द्रसहित जिल्लाका १० राजनैतिक दलहरुले जलेश्वर नगरपालिकाको कार्यालयमा गरिएको तालावन्दीप्रति कडा आपत्ति प्रकट गरेको छ । ति दलहरुले जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टी स्थानीय निकायबाट निर्वाध सेवा पाउने जनताको अधिकारलाई कुण्ठित हुने गरी तालावन्दी गरेको भन्दै ति तालावन्दी तत्काल हटाउन जिल्ला प्रशासनलाई समेत आग्रह गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जलेश्वर नगरपालिकामा पदाधिकार रही मन्त्रालयमा कामकाज गर्दै आएका ईन्जिनियर पवनकुमार झालाई काज फिर्ता गरी पदाधिकार रहेको जलेश्वर नगरपालिकामै जान पत्र दिएपनि केही राजनीतिक दलहरुले उनलाई कार्यालयमा हाजिर हुन नदिएपछि विवाद सृजना भएको हो । मन्त्रालयले असार १२ गतेदेखि असोज २१ गतेसम्म सार्वजनिक विदा बाहेक अन्य दिन रुजु हाजिरी रहनुभएको व्योहोराको पत्र पनि जलेश्वर नगरपालिका कार्यालयलाई पठाएपनि कार्यालयका केही कर्मचारीहरु ईन्जिनियर झालाई कामकाज गर्न नदिने अडान राखेका कारण विवाद बढदै गएको हो ।
मन्त्रालयले जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीको काज फिर्ता गरेपछि केही राजनीतिक दलहरुले यसमा असन्तुष्टी व्यक्त गर्दै आएका छन् । मन्त्रालयले जलेश्वर नगरपालिकामा वरिष्ठ ईन्जिनियर छँदा पनि विभिन्न सोर्सफोर्सको आधारमा कनिष्ठलाई अधिकृत बनाएको भन्दै इन्जिनियर झा असन्तुष्ट रहँदै आएका थिए ।
जिल्लाका वुद्धिजीवीहरुले भने काज फिर्ता भई आएका कर्मचारीलाई कामकाज गर्न दिनुको साटो राजनैतिकदलहरुले व्यक्तिगत फाईदाको लागि जलेश्वर नगरपालिकालाई बन्धकी बनाउँदै भन्दै यस्तो कार्यको कडा आपत्ति जनाउँदै तत्काल कार्यालय खोल्न अपिल गरेका छन् ।
