छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य आकासियो
गोलबजार, १९ कार्तिक । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुणा बढेको छ ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् । उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।
त्यस्तै ‘नहाय–खाय’सँगै पवित्र छठ महापर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ । आउँदो सोमबार उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय छठ महापर्व सम्पन्न हुनेछ ।
व्रतालुहरु शुक्रवार पवित्र जलाशयहरुमा स्नानगरी चोखो खानेकुरामात्र खाएका छन् । पर्वको दोश्रो दिन शनिवार व्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पुरी, खीर, नून नहालेको तरकारी खाने छन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनापछि निराहार व्रत बस्ने व्रतीहरु आईतबार संझुका–अर्घ अर्थात् सन्ध्याकालीन सूर्य पूजा तथा सोमबार बिहान सूर्योदयसँगै अर्घ प्रदान गरी यस महापर्वलाई समापन गर्नेछन् । तत्पश्चात व्रतालुहरु अन्न जल ग्रहण गर्नेछन् ।

छठ पूजा आयोजन हुने गंगासागर, धनुषसागर, अंगराजसर, महाराजसागर, दूधमती, जलाद, कमलालगायतका तलाउ तथा नदीहरुलाई साज श्रृंगार तथा सफा गरिएको छ । भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणलाई लक्षित गरी विगत केही दिनदेखि थालिएको विशेष सफाई अभियानका कारण पनि अहिले जनकपुर सफा देखिएको छ ।
गंगासागर छठ पूजा समिति, जानकी सेवा समाज, गणेश युवा क्लवसँगै सेभ द हिस्टोरिकल जनकपुर, रेल्वे स्टेशन युवा समाजलगायतका संघ संस्थाहरु पोखरी तथा नदीहरुलाई सफा गर्ने काममा जुटेका छन् ।
भिक्षाटन गरेर पर्व मान्नु यहाँको पुरानो परम्परा हो । तर यस परम्परालाई दुरुपयोग गर्दै अचेल केही पेसेवर मगन्तेहरु छठको नाममा भिक्षाटन गर्न थालेका छन् । जनकपुरकी एक गृहणी संगीता देवीले भनीन, ‘अहिले दिनमा १०ः१५ जना मगन्ते भिख माग्न आउँछन् । असली व्रती भने अति थोरै हुन्छन् ।’
