भारतीय राष्ट्रपतिले गरे जानकी मन्दिरमा विशेष पूजा

प्रकाशित समय 6:56:00 PM



  1. दुई वटा धर्मशाला र चक्रपथ बनाउने
  2. स्वागतका लागि चार हजार विद्यार्थी सडकमा


जनकपुर, १९ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभयो ।
मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उहाँ तेस्रो हुनुहुन्छ । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । मुगल, हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर जानकी मन्दिर प्रख्यात छ ।
मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना–ठूला गुम्बज र बुर्जाले घेरिएको छ । मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् ।
मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ, भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीनवटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना– ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर तथा प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।
मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा विसं १९६७ माघ २८ मा निर्माण गराएकी थिइन् ।
मन्दिरको निर्माणमा त्यस बेलाको ब्रिटिस महारानीका चाँदीका सिक्का तीन–चारलाख खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरूमा नौलाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा १५ लाख रुपैयाँ खर्च र १२ वर्ष लागेको बताइन्छ ।
मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।
भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गर्नुभयो । यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गर्नुभएको थियो ।
भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको चार्टर विमानस्थलबाट जनकपुरधाम आइपुग्नु हुँदा जनकपुर विमानस्थलमा उपप्रधान एवम् गुहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्नुभएको थियो ।
जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। नेपाल भ्रमणमा गत बुधबार आएका मुखर्जीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। सोही अवसरमा जनकपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गरेका हुन्।
नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्यालगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको छ।
जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् । ‘नेपाल र भारतबीचको अटुट सम्बन्ध त छँदैछ साथै जनकपुरले पनि भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकारले यो क्षेत्रको विकासमा गम्भिर छ र हुनुपर्छ’ १३ मिनेट लामो भाषणमा उनले भने, ‘जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक भारत सरकारले निर्माण गर्ने घोषणा गर्न पाउँदा हर्षित छु ।’
यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने उनले आश्वासन दिए ।
स्वागतका लागि चार हजार विद्यार्थी सडकमा
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणलाई स्वागत गर्न जनकपुरका २५ वटा निजी विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी सडकमा उत्रने भएका छन् । जनकपुरको श्यामचोकदेखि शिवचोकसम्म सडकको दुवै छेउ विद्यार्थीले उभिएर फूलमाला तथा नेपाल भारतको राष्ट्रिय झण्डा हल्लाएर स्वागत गर्ने कार्यक्रम छ ।
त्यस्तै जनकपुरको ऐतिहासिक तिरहुतियागाछी मैदानमा भव्य समारोहबिच राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन कार्यक्रमको आयोजना जनकपुर उपमहानगरपालिकाले गरेको छ । उहाँको स्वागतको लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको बाटोमा स्वागतद्वाराहरु निर्माण गरिनुका साथै विजुलीका पोलहरुमा नेपाल भारतको राष्ट्रिय झण्डा झुण्ड्याइएको छ ।
राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई लिएर शुक्रबार बिहानैदेखि जनकपुरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । जनकपुरमा शुक्रबार बिहानैदेखि चार हजार भन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायतको सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »