आशिष विश्वकर्मा
गोलबजार, २४ कार्तिक । सिरहाको औरहीमा सोमबारदेखि फैलिएको झाडापखालको प्रकोपले एक बालकको ज्यान जानुको साथै ३४ जना विमारी परेका छन् झाडा पखालकाले औरही ३ का ७ वर्षिय वर्जुन यादव रहेको ज्यान गएको हो । झाडा पखाला औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ ।
झाडा पखाला फैलिएपछि स्थानीय वासिन्दा त्रसित छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अन्य सवै विमारी सवैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीलाई ठाउँको अभावमा चिसो भूइमै राखेर उपचार भईरहेको छ ।
विरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखिएको छ । झाडा पखालकाबाट बाल बालिका सवैभन्दा धेरै प्रभावित भएको छ । विरामीमध्ये १४ जना १६ वर्ष भन्दा कम उमेरको रहेको विरमी दर्ता किताबले देखाएको छ । एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई रहेको छ ।

झाडा पखाला नियन्त्रणकोलागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिए । उनले पानीका कारण झाडा पखाला लागेको हुनसक्ने भन्दै पानी परीक्षणको लागि काठमाडौं पठाईएको बताए । उनले झाडा पखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जानकारी दिए ।
