रोप्यो भान्टा, खायो खीर

प्रकाशित समय 4:45:00 PM
गोलबजार, २५ कार्तिक । ‘गोलबजार नगरपालिका–२ गुरुधाम बस्ने माधव थपलियाको घर पुग्दा उनी खीर खाँदै थिए । पत्रकारजी आउनु भएछ । ल ल एक लोटा पानी ल्याओ भनेर उनले केटाकेटीलाई अह्राए ।’
पंक्तिकारले ओहो खीर भोजन हुँदैछ भनेपछि थपलियाले भने, ‘रोप्यो भान्टा खायो खीर ।’ भान्टा टिपेर आँगनैभरि असरल्ल थुपारेको देखाउँदै थपलियाले भने ‘आज ५ हजार प्रति क्वीन्टलको दरमा बिक्रि गरेको १० क्वीन्टल त हुनै पर्ने हो । तौल गरेको छैन ।’ ‘अस्ति मंगलबार भन्टा बिक्री भएको ५५ हजार रुपैयाँले दुहुना भैंसी खरिद गरेँ र एउटा अझै दुहुना थप्ने सुरमा छु’ थपलियाले भने ।
हुन पनि यसपाली उनको भान्टा फलाई र बिक्री देखेर छरछिमेकहरु जीब्रो टोक्छन् । फलाई पनि लटरम्मै भन्न लायकको छ । यसपाली ज्यादा बर्षा भएको कारण तरकारी बाली जताततै नष्ट भयो । थपलियाको खेत अग्लो ठाउँमा भएकोले भान्टाको बोट सप्रेको छ । भदौ १५ देखि उनले भान्टा बिक्री गर्न थालेका हुन् । कार्तिकको १९ गतेसम्ममा करिब चार लाखको भान्टा बिक्री गरिसकेको थपलियाले बताए । धार्मिक भजन मण्डलीका महन्थ समेत रहेका थलियाले भने, ‘प्रभु कृपाले बोट मरेन र भाउ तल झरेन भने अझै ५र६ लाखको भण्टा फल्छ ।’
थपलियाले व्यावसायिक तरकारी खेती गरेको १३ वर्षभन्दा बढी भयो । त्यसअघि उनी रोजगारीको लागि भारतको फरिदावादमा काम गर्थे । त्यहाँ उनले तरकारी खेती गर्ने तौरतरिका सिकेर घर फर्केपछि आफैं तरकारी खेती गर्न थाले । उनको देखासिखीले गाउँमा अरुले पनि तरकारी खेती गर्न थालेका छन् । अहिले गुरुधामस्थित ३ सय १७ घरधुरीले २ सय विघाभन्दा बढी जग्गामा विभिन्न खाले तरकारी लगाएका छन् । गुरुधामका वृद्ध कृषक शुभनारायण यादव भन्छन, ‘पुरै गाउँबाट मासिक ५० लाखभन्दा बढीको तरकारी निर्यात हुन्छ । भान्टा तरकारीमा राजा हो । भान्टा सप्रियो र २० रुपैयाँ किलो भाउ पाइयो भने गाँजा खेती भन्दा धेरै आम्दानी हुन्छ ।’
गत वर्ष खडेरीले भूमिगत जलसतह भासिएर ईनार बोरिङ्ग सुकेपछि कृषक माधव थपलिया पुनः भारततर्फ लागेका थिए । तर भूमिगत जल सिँचाई डिभिजन कार्यालय लहानले उनको गाउँमा एउटा पावरड्रिल बोरिङ्ग जडान गरिदियो । केही नपुग रकम जिविस सिरहाले थपिदियो । गोलबजार नगरपालिकाले मोटर उपलब्ध गरायो ।
जिल्ला कृषि विकास कार्यालय सिरहाको युवा स्वरोजगार कार्यक्रमबाट ३० हजार रुपैयाँ सहयोग प्राप्त गरे । त्यतिले पनि पानी नपुग्ने भएपछि उनले ग्लोबल आईएमई र कृषि विकास बैंकबाट १७ लाख ऋण लिएर थप एउटा ईनार खनाए । ७० फिट गहिरो ईनार खन्दा पनि पानी नभेटिए पछि उनले गहिरो ईनारभित्र फेरि एक सय फिट बोरिङ्ग जडान गराए । जोखिम मोलेर ईनारभित्र बोरिङ्ग जडान गर्दा झन्डै ६ लाख खर्च भएको थपलिया बताउँछन् ।
सिँचाई सुविधा भए पछि थपलिया फेरि खेतीमा कस्सिए । उनले अहिले टमाटर, भान्टा, हरियो खुर्सानी, काउली र लौका गरेर अढाई विघामा तरकारी लगाएका छन् । थपलिया भन्छन, ‘मैले ५ विगाहमा तरकारी खेती गर्दै आएको हुँ तर अहिले पानी कम छ । ईनार र बोरिङ्गले करिब १० विगाह मात्र सिँचाई हुन्छ । गाउँलेहरुको पनि सिँचाई गरिदिनु पर्छ । त्यसकारण सरकारले दुई वटा पावर ड्रिल अझै दिए खेती बढाउने थिएँ ।’ सिँचाईको अभावमा तरकारी खेतीबाट पूरा लाभ लिन नसकेको थपलियाको गुनासो छ । सरकारले सिँचाई सुविधा प्रदान गरोस् हामी भान्टा बेचेर खीर खाने मात्र होइन चार पाङ्ग्र्रे चढ्न सक्छौं ।
थपलियाका छिमेकी रामजनक यादवको भान्टा झन् सप्रेको छ । उनको एक कठ्ठामा भान्टा खेती  छ । उनले अढाइ महिनामा १ लाखको भाण्टा बिक्री गरिसकेको बताए । उनले भने, ‘सिँचाई सुविधा मनग्य हुने हो भने भान्टा र अन्य तरकारी खेती गरेर भात होइन, खीर खानै पुग्छ ।’
 गुरुधामवासीलाई तरकारी बिक्री गर्न समेत कुनै झन्झट छैन । व्यापारीहरु ट्रक लिएर आँगनमा नै पुग्ने गरेको स्थानीय राजकुमार सिंहले बताए । गुरुधामको तरकारी खरिद गरेर व्यापारीहरुले बिक्रिका लागि राजविराज, विराटनगर, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पोखरा, काठमाडौं र भारतीय बजार जयनगर, लदनीया, कुनौली र बिरपुर लग्ने गरेको स्थानीय कृषक गोविन्द कार्कीले बताए ।
राजविराजका तरकारी व्यापारी शम्भु देवले भने, ‘हामी यहाँबाट किनेर भारतको वीरपुर, फारविसगन्ज र कुनौलीसम्म पु¥याएर बेच्छौं ।’
ईकान्तीपुरबाट सभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »