कोषको सहयोगी सँस्था कृषि तथा वन प्रविधि केन्द्रले २१ लाख ७१ हजार ५३१ रुपियाँमा निर्माण गरेको उक्त सडकमा सडकको कुल लम्बाई र परिमाण घटाएर करिब १२ लाखभन्दा बढी रकम हिनामिना गरेकोले सडक निर्माणको कार्यमाथि छानवीन गर्न स्थानीयबासीले विभिन्न निकायमा उजुरी दिएका छन् ।
कोषले स्वीकृत गरेको डिजाइन अनुसार एक हजार छ सय ४३ मीटर लम्बाईको उक्त ग्रामीण सडकमा केन्द्रले दुई सय मीटरको दुरीमा कुनै काम नगरेको स्थानीय रामकुमार चौधरीले गुनासो गरे । यसबाहेक ग्राभेल गरिएको सडकमा पनि तीन लाख बराबरको माटो र सात लाख बराबरको ग्राभेल कम हाल्नुको साथै सडकको विभिन्न भागमा चार लाख रुपियाँको लागतमा निर्माण गर्नुपर्ने तीन वटा कल्भर्टमा मात्र कमसल सामग्री प्रयोग गरी अढाई लाख बराबरको रकम हिनामिना गरिएको उनले जानकारी दिए ।
अर्का स्थानीयबासी देवकुमार मुखियाले केन्द्रका कार्यक्रम संयोजक प्रल्हाद चौधरीले राम्ररी पढलेख समेत गर्न नसक्ने गाउँका महिलाहरुको समिति बनाई निर्धारित दुरीभन्दा कम तथा कमसल सामग्री प्रयोग गरेपछि त्यसो नगर्न गाउँका पढेलेखेका युवाहरुले आग्रह गर्दा गाउँमा उल्टै विवाद सृजना गरी हतार हतारमा काम गर्न लगाई आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेको बताए ।
सडक निर्माणमा भएको अनियमीतताको गाउँका एक पक्षले भण्डाफोर र अर्को पक्षले ढाकछोप गर्ने क्रियाकलाप बढेर विवाद उत्पन्न हुन थालेपछि जिल्ला विकास समितिले सामाजिक विकास अधिकृत अरुण साह र कोषका सिरहास्थित कार्य प्रबन्धक रामअधर यादव सम्मिलित एक छानवीन टोली बेलीमा पठाएको थियो ।
छानवीन समितिमा संलग्न जिविसका सामाजिक विकास अधिकृत साहले सडक निर्माणको कार्यमा अनियमीतता भएको उजुरी आएपछि आफूहरुले निरिक्षण नगरुञ्जेल त्यहाँको काम स्थगित गर्न निर्देशन दिए पनि सहयोगी सँस्थाले ठीक त्यसको विपरित छानवीन टोली विवादास्पद स्थलमा पुग्नु अगावै हतार हतारमा काम सम्पन्न गरेको उल्लेख गर्दै गरे , यदि काम राम्रो र असल नियतले गरिएको भए छानवीन टोली पुग्नै लाग्दा किन हतार हतारमा काम सक्नुपरेको हो, यसबाट स्पष्ट हुन्छ त्यहाँ स्थानीयबासीले गुनासो गरेजस्तै अनियमीतता भएको छ ।
वास्तवमा सिरहा जिल्लाभित्र सञ्चालित गरिबी निवारण कोषको अधिकांश कार्यक्रम सहयोगी सँस्था र तिनका सञ्चालकहरुको कमाईं खाने भाँडो बनेको छ, जिविस सिरहाका सामाजिक विकास अधिकृत साह भन्छन् झन बेलीको सडक निर्माणको सवालमा त्यहाँ भएको अनियमीतताको छानवीन गर्नैपर्ने अवस्था छ ।
