उपसचिवको दरबन्दी रहेको मालपोत कार्यालय नायव सुब्बा भरमा संचालन

प्रकाशित समय 2:30:00 AM
गोलबजार १३ पुस ।  उपसचिवको दरवन्दिी रहेको लहानस्थित मालपोत कार्यालय वर्षौंदेखि नासुकै भरमा चलिरहेको छ । स्थापना भएको झण्डै २० वर्ष पुगिसकेपनि मालपोत कार्यालय निमित्तकै भरमा सञ्चालन भइरहेको हो ।
दरबन्दी  अनुसार अहिलेसम्म सात वर्ष मात्रे कार्यालय सञ्चालन गरेको पाइएको छ । २०५४ असार १२ गते सिरहा मालपोतबाट विभाजन भई लहानमा मालपोत कार्यालय स्थापना भएपनि त्यसपछिको चार वर्ष २०५८ साउन १ गतेसम्म उपसचिवहरु सूर्यप्रसाद अधिकारी, विष्णु राई र रोहित कुमार भट्टराईले कार्यालयको नेतृत्व सम्हालेका थिए ।
त्यसको एक वर्षपछि आएका प्रमुख मालपोत अधिकृत गोविन्द प्रसाद सापकोटाले २०५९ जेठ ५ गतेदेखि २०६० फागन २० गतेसम्म, अर्का प्रमुख मालपोत अधिकृत कुलप्रसाद थापाले २०६२ भदौ १ देखि २०६३ बैशाख २० गतेसम्म र प्रमुख मालपोत अधिकृत ज्ञानेन्द्र पराजुलीले २०७१ वैशाख ३ गतेदेखि छ महिनासम्म लहान मालपोतको नेतृत्व सम्हालेका थिए ।
सात वर्षमा सात वटा प्रमुख मालपोत अधिकृतहरुको उपस्थिती रहेको लहान मालपोतमा बाँकी १३ वर्षको केही अवधि शाखा अधिकृत सरह मालपोत अधिकृत र नायव सुब्बाहरुले नै धान्दै आइरहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार, प्रमुख मालपोत अधिकृतको अनुपस्थितीमा शाखा अधिकृतहरुले चार वर्ष र नायव सुब्बाले नौ वर्ष निमित्त कार्यालय प्रमुख भई कार्यालयको नेतृत्व गरेको देखिएको छ । अझ यहाँ निमित्तमाथि निमित्तले काम गर्ने प्रवृतिले मालपोत विभागको व्यवस्थालाई नै खिल्लि उडाएको छ ।
 निमित्तको भरमा चलेको उक्त कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरु पनि रहेका छैनन् । एक उपसचिव र दुई शाखा अधिकृतसहित २२ जना स्थायी दरबन्दी रहेको उक्त कार्यालयमा अहिले आठ जना कर्मचारीको भरमा जसोतसो काम चलाइरहेका छन् । दरबन्दीअनुसार सरुवा भएर आउनुपर्ने प्रायः उपसचिव तथा शाखा अधिकृतहरु यहाँ नआई मन्त्रालय तथा विभागबाटै काज सरुवा गरी अन्यत्रै जाने गरेकाले लहान मालपोत निमित्तको भरमा सञ्चालन हुँदै आइरहेको हो । अधिकृतको त के कुरा, नायव सुब्बाको दरबन्दी लिएर आएका गिरीजा प्रसाद पराजुली दुई वर्ष अगाडि काज सरुवा गराई बेलबारी गए पनि तलब भने यहिबाट खाइरहेको लेखापाल मातृका बास्तोलाले गुनासो गरे ।
प्रमुख मालपोत अधिकृत र कर्मचारीको अभावमा यो कार्यालयमा कामै चलाउन सकिदैन भनेर हामीले पटक पटक विभागमा पत्राचार ग¥यौ तर विभागले कर्मचारी पठाएकै छैन । लहान मालपोतका वर्तमान निमित्त कार्यालय प्रमुख नायव सुब्बा डिलाराम चौधरीले निमित्त भई काम गर्नु परेकाले दैनिकी राजीनामा र कार्यसञ्चालन बाहेक अदालतको फैसला अनुसार हुने दाखिला खारेज, हकदारको नामसारी, संशोधन लगायत महत्वपूर्ण काम गर्न नसकिएको जनाए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »