आगलागीले उजाडियो बस्ती

प्रकाशित समय 6:58:00 PM
सिरहा, चैत्र । सोमबार मध्याह्न साढे १२ बजे ३३ वर्षीय देवनारायण मण्डल खत्वे घरबाट लहान बजारतर्फ निस्किए । किनमेलका लागि उनी पत्नी कलावतीसँगै हिँडेका थिए । मिथिलामा नववर्षको दिन मनाइने जुडशीतल पर्वको किनमेलका लागि दुवै जना हतारिएर बजार पुगे ।
वैशाखको पहिलो साता वैदेशिक रोजगारीका लागि कतार उड्ने तयारीमा थिए, देवनारायण । सोमबारे हाटमा पर्वमा खानपिनका लागि पकवान्न सामग्री किनमेल गरिसकेपछि कान्छी छोरी सरस्वतीका लागि कपडा किने । एसओएस म्यानपावरमार्फत विदेश उड्ने तयारीमा रहेका उनले पत्नी कलावतीसँग विदेशको कमाइले जग्गाजमिन किन्ने र इँटा जडित घर बनाउने अनि सुखसाथ बस्ने सपना बुन्नसमेत भ्याए । तर, देवनारायण दम्पतीको त्यो सपना धेरै बेर टिक्न पाएन । साँझ साढे पाँच बजे बस्ती पुग्दा आफ्नोसहित पाँचवटा घरमा मुस्लो देख्दा उनको सपना चकनाचुर भयो । ‘के सोचेको थिए, दैवले के गरिदियो,’ जलेर उदांगो बनेको पिंढीमा मंगलबार बिहान भक्कानिँदै देवनारायण दम्पतीले भने, ‘सर्वस्वै हरण भयो, दैव पनि हामी गरिबमाथि किन यति निर्दयी बन्यो ।’ गाउँ ब्लक जग्गामा बस्दै आएको यो सुकुम्बासी परिवार रामशरण यादवको १८ कट्ठा जग्गा अँधियामा खनजोत गरी गुजारा चलाउँदै आएको थियो ।
वैदेशिक रोजगारीमा जानका लागि देवनारायणले उनै जग्गाधनी यादवबाट सयकडा तीन रुपैयाँका दरले १० दिनअघि मात्रै ८० हजार रुपैयाँ ऋण लिएका थिए । ‘घर, भाँडावर्तन त जले नै ऋणमा लिएको रुपैयाँसमेत जलेर खरानी भयो,’ उनले भने, ‘एकातिर विदेश जाने सपना तुहियो, अर्को्तिर जीवनभर ऋणमै डुबिने पिरलो भयो ।’ विदेशको कमाइले इँटा जडित घरमा बस्ने सपना बुनेका देवनारायणको सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमराहास्थित दलित खत्वे बस्तीमा सोमबार साँझ आगलागी हुँदा खरले छाएका पाँचवटा घर, गोठसमेत बाँकी रहेनन् । देवनारायण मात्र होइन सोमबार साँझको आगलागीले दलित खत्वे बस्तीका २९ परिवारका ५६ घर जलेर नष्ट भए । आगलागीमा एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय भोगेन्द्र मण्डल खत्वेको चुलोमा खाना पकाएको खरानी फालेको ठाउँबाट दिउँसो साढे चार बजे परालको टालमा सल्किँदा आगलागी भएको थियो ।
पश्चिमा हावा चलेका कारण क्षणभरमै झुरुप्प रहेको बस्ती आगोले सखाप पारेको थियो । अधिकांश पुरुष, महिला खेतमा गहुँबाली काट्न गएका कारण आगलागी हुँदा बस्तीमा बालबालिका र वृद्धवृद्धा मात्र भएकाले लत्ताकपडा, सरसामान, खाद्यान्न, गरगहना जलेर नष्ट भएका छन् । आगलागीमा परी दुईवटा गाई, एक बाच्छा, ४ बाख्रा र एउटा खसी पनि जलेर मरेका छन् ।
६२ वर्षीया सबुरनी खत्वे बस्ती छेवैको बारीमा दुहुनो भैंसी चराइरहेकी थिइन् । त्यही भैंसीको दूधबाट प्राण धानिरहेकी उनी खेतको आलीमा भैंसी चराइरहँदा बस्तीमा आगो दन्केको देखिन् । हतपत्त बस्ती छेउ पुग्दा आफ्नै घरसमेत जलेको देख्दा मुर्छित भइन् । दुई वर्षअघिदेखि वृद्धभत्ता बुझ्दै आएकी उनले पाएको भत्ता रकमबाट १५ तोला चाँदी किनेर राखेकी थिइन् । ‘छोरा घुरन जनवनमा मजदुरी खट्छ, बुढेसकालको शरीर बिरामी पर्दा औषधिमुलोका लागि चाँदी किनेर जोहो गरिराखेकी थिएँ,’ उनले भनिन, ‘बुढेसकालको उपचारलाई साँचेको चाँदी पनि जलेर खरानी भयो ।’
पैसा राख्दा छोराबुहारीले चलाइदेलान् भनेर उपचारका लागि राखेको चाँदी पनि आगलागीमा खरानी भएपछि उनी पिरोलिएकी छन् । बुढ्यौली उमेरसम्म कसैको पनि घर जलेको नदेखेकी उनी आफ्नै घर डढेको देख्नुपर्दा भक्कानिइन् ।
साँघुरो सडक र वारुण यन्त्र समयमै नपुग्दा बस्तीमा आगलागीबाट बढी क्षति भएको छ । इलाका प्रहरी महेशबारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीका अनुसार आगलागी भएको अढाई घण्टापछि वारुण यन्त्र पुगेकाले पनि धेरै क्षति भएको हो । आगलागी नियन्त्रणका लागि लहान नगरपालिकाको वारुण यन्त्र मगाए पनि बाटैमा बिग्रिएपछि साँझ ७ बजे धनगढीमाई नगरपालिकाको वारुण यन्त्र आगलागी स्थल पुगेको थियो । ‘साँघुरो सडकसँगै बाटैमा बस्तुभाउ बाँध्ने किला उखेल्नुपरेको र कतिपय स्थान बाटोका रूखसमेत काट्नुपरेकाले आगो नियन्त्रणका लागि वारुण यन्त्र समयमा पुग्न सकेन,’ उनले भने, ‘वारुण यन्त्र पुगेको एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।’
आगो नियन्त्रणमा आए पनि मंगलबार बिहानसम्म धुँवा आइरहेकाले स्थानीयवासीले आगो निभाइरहेका थिए । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले साँघुरो सडकले वारुण यन्त्र समयमा पुग्न नसक्दा बढी धनजनको क्षति भएको जानकारी दिए । क्षतिको यकिन विवरण लिने काम भइरहेको उनले बताए ।
यस्तै दैवीप्रकोप उद्धार समिति, रेडक्रस र जिल्ला समन्वय समितिले मंगलबार आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पीडित परिवारलाई जनही पाँच हजार रुपैयाँ, रेडक्रसले त्रिपाल र कम्बल तथा जिल्ला समन्वय समितिले खाद्यान्न वितरण गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »