अग्नीपीडित लक्षण देवी मण्डल छिमेकीले दिएको पकवान पस्केर साधारण त्रिपालमुनी भोकले टिलपिल तीन छोरीहरूलाई खुवाउने तरखर गर्दै थिईन । एक्कासी हावाहुरी चल्न थाल्यो । फुसको छाप्रो गत्त सोमवारको आगलागीमा खरानी भएपछि ओत लाग्ने सहारा बनेको राहतको साधारण त्रिपाल उडाउने गरी हुरीले उत्पात मच्चाउन थाल्यो। ‘अचानक हुरीले त्रिपाल उडायो’ मण्डलले नागरिकन्यूजसँग भनिन, ‘छिमेकीले दिएको खानामा घर जलेको खरानी मिसियो ।’ हुरिसँगै आएको ठूलो पानीले हामीलाई मात्र हैन राहतमा पाएको दालचामल, लुगाफाटा सबै भिजाईदियो उनी हुरीसँगै आएको ठूलो पानीले थपेको पीडा सुनाईन,‘हामी त पानीको सहारामा पनि भोकको तलतल मेट्छौ, बच्चाहरु सक्दैनन्।’
गाउँलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेपछि उनी सैयकडा तिन रुपैँया ऋण काढेर चर्पी बनाएकी थिईन । ‘फुसको छार्पो फेर्ने योजना बनाएको थिएँ उनी भन्छिन्,‘चर्पी नबनाए पुलिस पक्राउ गर्न थाल्यो, घर बनाउन छोडेर पक्की चर्पी बनाए ।’ आगलगीबाट उनको परिवारको पाँच सदस्य ओत लाग्ने फुसको छाप्रो खरानी भएपनि पक्की चर्पी भने जोगीएको छ । शनिबार हुरीसँगै आएको ठूलो पानीबाट राहतका केही सामान त्यही चर्पीमा ओसारेर बचाउँन पाएकोमा उनले राहत महसुस गरिन।
शनिबारको पानी र हुरीले अग्नीपीडित बस्तीमा रहेका ३१ परिवारको उस्तै बिचल्ली भएको छ। गत सोमबार असावधानीका कारण बस्तीमा आगलागी भएपछि बस्तीको ५० घर जलेर खरानी भयो । चुल्होको खरानी घरनजिकै फाल्दा त्यसले पराल भेटेपछि आगलागि सुरु भएको थियो । बस्तीका महिलापुरुष ज्याला मजदुरीका लागि चौरी(खेत) गएका हुनाले समयमै घरका सामान निकाल्न पनि सकेनन् उनीहरूले।
जिल्ला स्थित नेपाल रेडक्रश सोसाइटी, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, स्थानीय राजनितिक दलको सहयोगमा आगलागि लगत्तै त्रिपाल, खाद्यान्न लत्ताकपडा, केही भाँडाकुँडा बितरण गरियो।
हावाहुरीसँगै मुसलधारे पानी र चर्को घामको दोहोरीले आगलागीबाट बेघर बनेका यो बस्तीमा दुस्ख थपिएको छ। यो बस्तीमा एक महिनाका दुईजना सुत्केरी छन् । ‘एक महिनाकी सुत्केरी रितादेवी मण्डल दुस्ख सुनाईन,‘ ‘घामपानी छल्न नसक्ने साधारण पालमुनी निमोनियाका बिरामी बच्चालाई कसरी बचाउनु।’ उनी आँखा भारी पार्दै भनिन, ‘न औषधी किन्ने पैँसा छ, न घामपानी छल्ने घर ।’
‘पक्की घर सुरु गरुँला भनेर साउदीबाट कमाएको तिनलाख पैसा घरमै ल्याएर राखेको थिएँ,’ २६ वर्षे अग्नीपिडित चौधरी मण्डल गहरभरी आँशु भर्दै उनले भने,‘ त्यो पैँसा पनि घरसँगै खरानी भयो ।’ हावाहुरी र पानीको मौषमले झनै बिजोग बनायो, उनले सुनाए । ३१ परिवार अग्नीपिडित घामपानी र हुरीबाट जोगीने छानाको बन्दोबस्त गरिदिन मनकारी दाता गुहार्दै छन।
