
परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ÷मुस्ताङमा एकरएक केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ ।
बोर्डले ९० दिनभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ । गत वर्ष सञ्चालित दश जोड दुईको परीक्षाफलमध्ये व्यवस्थापन विषयको एक सय सात दिन र विज्ञान विषयको ८७ दिनमा नतिजा सार्वजनिक भएको थियो ।
परीक्षालाई स्वच्छ, मर्या्दित, अनुशासित, व्यवस्थित बनाउन शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका उपाध्यक्ष शान्तबहादुर श्रेष्ठका अध्यक्षतामा आज नै बैठकसमेत सम्पन्न भएको थियो । बैठकले परीक्षा अवधिभर बन्द, हडताल नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पुर्याउन राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन, अभिभावक, शिक्षक एवम् सरोकार भएका सबैमा आग्रह गरेको छ । सचिव श्रेष्ठले परीक्षालाई सफल बनाउन सरकारी संयन्त्र पूर्ण रुपमा परिचालन गरिने जानकारी दिए ।
यस पटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्या्दित काम कारबाही गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको उनले जानकारी दिए ।
