प्रकाशित समय 6:57:00 PM

मधेसका बासिन्दा भन्छन् : ‘चुनाव अपरिहार्य’

राजविराज, ३० चैत्र । सप्तरीका बासिन्दाले स्थानीय तह चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकार तथा राजनीतिक दलहरूले उपयुक्त माहोल तयार पार्न नसकेको उनीहरूको गुनासो छ । ‘हो चुनावको खाँचो छ,’ मधेसी नागरिक समाजका अगुवा बद्रीनारायण झाले भने, ‘सुशासन, विकास तथा संविधान कार्यान्वयनका लागि चुनावको खाँचो छ, तर अझै माहोल भने बनाउन सकिएको छैन ।’ चुनाव नजिकिँदै जाँदा सरकार तथा राजनीतिक दलहरू यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘१९ वर्षपछि स्थानीय तहको चुनाव हुन लाग्यो, तर पर्याप्त तयारीबिना,’ नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली भन्छन, ‘सरकारले पर्याप्त तयारी र आपसी सहमति नगर्दा माहोल तयार नभएको हो ।’
‘राज्य पक्षले कुनै पनि हालतमा चुनाव गराएरै छाड्ने अभिव्यक्ति दिइरहेको छ भने आन्दोलनरत मधेसी मोर्चाले चुनावलाई औचित्यहीन भनेको छ । यस्तो अवस्थामा तराई–मधेसका जनतामाझ अन्योल देखिनु स्वाभाविक हो,’ तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्रले भने, ‘लामो बन्दको मारबाट अझै पनि तराई–मधेस उम्कन सकेको छैन, चुनावको घोषणासँगै सर्वसाधारणमा पुनस् बन्दको त्रास बढन थालेको छ ।’
‘चुनाव हुन्छ’ भन्नेप्रति अझै पनि सर्वसाधारण विश्वस्त भइसकेको अवस्था छैन मिश्रको भनाइ छ । ‘लामो बन्द हडतालपश्चात दुवै पक्षबीच संवादको वातावरण देखियो, संविधान संशोधनको कुरा पनि निकै जोडतोडका साथ उठ्यो, जसले मधेसका जनतामाझ स्थिरताको सन्देश प्रवाह भएको थियो,’ उनले भने, ‘फेरि द्वन्द्वको माहोल जन्मिएको छ, मधेसी मोर्चा जुनसुकै बेला पनि सडकमा ओर्लिन सक्ने सम्भावना निकै बढेर गएको छ, त्यसैले होला बहुसंख्यक तराईरमधेसवासीलाई चुनावले उल्लासभन्दा पनि तनाव सिर्जना गरेको छ ।’
सरकारद्वारा तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुने कि नहुने, भए कहाँ कहाँबाट को–को उम्मेदवार बन्ने, नभए स्थिति के हुने, मोर्चाले थालेको आन्दोलन कुन बिन्दुमा पुगेर टुंगिने भन्ने विषयले जिल्लामा चर्चा पाएको छ । तोकिएको मितिमा निर्वाचन हुनेरनहुने आशंका भने जिल्लामा अझै कायमै छ ।
ठूला दलको तयारी
मोर्चाको विरोधबीच पनि कांग्रेस र माओवादी केन्द्र चुनावको तयारीका कार्यक्रम, उम्मेदवार छनोटको आन्तरिक रणनीति बनाउन व्यस्त देखिन्छन् । चुनाव हुने समयसम्म मोर्चा्सित सहमति हुन सक्ने आसमा यी दुई दलले आफ्ना गतिविधि बढाएका हुन् । एमालेले भने चुनावको कार्यक्रम थालेको छैन ।
मोर्चाका नेताहरूले संविधान संशोधन नगरी चुनाव नगर्न सरकारलाई दबाब दिइरहेका छन् । उनीहरूले यसलाई बेवास्ता गरिए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पनि मधेसको समस्या समाधान नगरी चुनाव गर्न समस्या हुने बताउँदै आएका छन् ।
अझै तोकिएन मतदान केन्द्र
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुरका अनुसार जिल्लामा ३ लाख ३१ हजार मतदाताले यसपटक मतदान गर्न पाउनेछन् । उनका अनुसार केन्द्र नतोकिँदा मतदाता नामावलीसमेत अन्तिम टुंगो लगाउन सकिएको छैन । मतदान केन्द्रअनुसारै मतदाता राख्नुपर्ने भएकाले केन्द्र नतोकिँदा नामावलीको टुंगो लगाउन बाँकी रहेको हो । साथै जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सुरु गर्न सकिएको छैन ।
पार्टी प्रवेश गराउँदै मोर्चा
अहिलेकै अवस्थामा निर्वाचन हुन नसक्ने बताउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्बद्ध दलहरूले अन्य पार्टीमा आबद्ध भएकालाई आफ्नो पार्टीमा प्रवेश गराउन व्यस्त देखिएका छन् । मुख्य दल चुनावको तयारीमा जुट्दा मोर्चा आबद्ध दलका नेताहरू भने कार्यकर्ता भित्र्याउनतिर लागेका छन् । तर उनीहरूले चुनावका लागि नभई आन्दोलनका लागि संगठित गरिरहेको बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »