किसानलाई पावर ट्याक्टर

प्रकाशित समय 6:55:00 PM


कमलेश कुमार यादब
गोलबजार, ३० चैत । कृषि आन्तरिकरण कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय सिरहाले शनिवार सातजना किसानहरुलाई पावर ट्याक्टर वितरण गरेको छ ।
आधा रकम अनुदानमा कृषिले किसानहरुलाई उक्त ट्याक्टर वितरण गरेको हो । २ लाख २० हजार पर्ने ट्याक्टरमा १ लाख १० हजार अनुदान दिइएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा.रामचन्द्र यादवले बताए ।
उनले पहिलो चरणमा १७ माग हुँदा ९ र दोश्रो चरणमा १५ माग हुँदा ७ गरी चालु आर्थिक वर्षमा १६ वटा ट्याक्टर वितरण गरिएको भने,‘बजेट अभावका कारण किसानको माग अनुसारको ट्याक्टर दिन सकिएन् ।’ आउदो आर्थिक वर्षमा ट्याक्टर वितरण कार्यक्रममा विषेश जोड दिइने उनले थपे ।
कृविकाका अनुसार गत आर्थिक वर्षमा ३० थान हात्ते ट्याक्टर वितरण गरिएको थियो । कृषि खेती गर्न साना किसानलाई ट्याक्टरको प्रयोगले सहजता तुल्याएको राष्ट्रिय कृषक समूह महासंघका सिरहा अध्यक्ष मुक्ति यादवले दाबी गरे । ‘हामी थप श्रोतको खोजीमा छौं,’उनले भने,‘श्रोत पाएपछि यहीँ आ.व.मा थप ट्याक्टर विरतरण हुन सक्छ ।’
२ देखि ३ बिघा खेती गर्ने किसानको लागि ट्याक्टर राम्रो उपयोगी हुने उनको दाबी छ । तरकारी खेती गर्ने किसानलाई बढि सहजता तुल्याउने उनको भनाई छ । ट्याक्टरले उत्पादित बस्तुको बजार पहुँचमा सहयोग पु¥याउने उनले थपे ।
‘बैदेशिक रोजगारले गाउँमा मजदुर पाउनै मुस्किल छ,’बरियारपट्टीका देवनारायण ठाकुर भन्छन्,‘मजदुर नपाउँदा गोरु पाल्न नसकेर खेतीमा असर पर्दै आएको छ ।’ उनले गाउँका अन्य किसानले हात्ते ट्याक्टरको प्रयोगले पहिला पछिल्ला समयमा खेती राम्रो फस्टउन सफल भएको देखेर आफु पनि ट्याक्टर खरिद गरेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »